काठमाडौं– विजया दशमी (दशैँ) को सातौँ दिन मंगलवार सैनिक मञ्च टुँडिखेलमा फूलपाती हर्ष बढाइँ गरिएको छ।
आज (मंगलवार) सैनिक मञ्च टुँडिखेलमा फूलपातीको अवसरमा फूलपाती हर्ष बढाइँ गरिएको हो। आज बिहान दशैँघरमा फूलपाती भित्र्याएपछि नेपाली सेनाले हर्ष बढाइँ गरेको हो। टुँडिखेलमा अयोजित फूलपाती हर्ष बढाइँ कार्यक्रममा सेनाको सलामी लिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन्।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति नेपाली सेनाको परमाधिपति भएकोले राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो। सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकट्ठा बढाइँ गरेको छ। बढाइँ कार्यक्रममा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायतको उपस्थिति थियो।
कोरोना संक्रमण महामारीको कारण यस वर्ष पनि बढाइँ कार्यक्रम छोटो बनाइएको थियो भने उपस्थितहरुलाई स्वास्थ्यका मापदण्ड पालना गराइएको थियो।