सुर्खेत- सुख्खा पहिरोका कर्णाली नदी थुनिएको छ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ जुङ्डीबाट आएको सुख्खा पहिरोका कारण नदी थुनिएको हो।
सोमबार विहानै आएको सुखा पहिरोका कारण बाजुराको जगन्नाथ गाउँपालिका र स्वामिकात्तिक खापर गाउँपालिको बीचमा झण्डै एक किलोमिटर क्षेत्रमा नदी ताल बनेको प्रहरीले जनाएको छ। ‘सुख्खा पहिरो आएपछि नदी थुनिएको छ’ बाजुराका डीएसपी मदनजीत महराले भने, ‘एक किलोमिटर क्षेत्रसम्म नदी अहिले ताल बनेको छ।’
पहिरो आएपछि नदीको आधा मात्रै पानी बग्न पाएको उनले जनाए। पहिरो अहिले पनि रोकिएको छैन। ‘अहिले पनि सानो-सानो पहिरो गइरहेको छ’ उनले भने, ‘सुख्खा पहिरो रोकिएपछि पानी थुनिएको नदी खुलिहाल्छ ।’
पहिरो रोकिन वित्तिकै पानी थुनिएको नदी खुल्ने उनको भनाई छ। ‘सुख्खा पहिरो भएका कारण पानीले बगाउँछ’ उनले भने, ‘ताल फुटाउनेपर्ने अवस्था नआउला।’ पहिरोले नदी थुनिएपछि पानीको सहत आधा घटेको छ। नदी पहिलेकै अवस्थामा नआउँदासम्म कालीकोट, दैलेख र सुर्खेतको तटिय क्षेत्रका स्थानीयले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।