शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • माेतीपुरवासीको पीडा- बाहिरबाट आएकाहरुसँग प्रहरीको भडप हुँदा बस्ती उजाडियो

माेतीपुरवासीको पीडा- बाहिरबाट आएकाहरुसँग प्रहरीको भडप हुँदा बस्ती उजाडियो

दसैंको उल्लासमा रमाउनुपर्ने रानीगञ्जका स्थानीयको यतिखेर मन खिन्न छ। आइतबार दिनभर प्रहरी र सुकुम्बासी समूहविचको दोहोरो भिडन्तको दृश्यले स्थानीयको मन बेचैन छ।
 |  मंगलबार, असोज २६, २०७८

विनोद परियार

विनोद परियार

मंगलबार, असोज २६, २०७८

बुटवल– जताततै दसैंको उल्लास छाइरहेको छ। नयाँ मान्छे गाउँ भित्रियो भने कोही आफन्त आयो कि भनेर सोधखोज हुन्छ। तर, बुटवल मोतीपुर रानीगञ्जमा भने कोही नयाँ मान्छे देख्यो कि स्थानीयको मन आत्तिन्छ। दसैंको उल्लासमा रमाउनुपर्ने रानीगञ्जका स्थानीयको यतिखेर मन त्रसित छ। आइतबार दिनभर प्रहरी र सुकुम्बासी समूहबीचको दोहोरो भिडन्तको दृश्यले स्थानीयको मन बेचैन छ।

National life

‘दसैं मनाउने बेला नसोचेको घटना भयो,’ बुटवल १७ का स्थानीय डोलबहादुर कुमालले भने, ‘संयोगले बाँचियो।’ स्थानीय दुर्गा टोल समितिका अध्यक्षसमेत रहेका कुमालले यस वर्षको दसैं त्रासमै बित्ने बताए। ‘औद्योगिक क्षेत्रको जग्गामा कहाँका मान्छे बस्न आए, हामीलाई केही थाहा छैन,’ उनले भने, ‘यहाँका स्थानीय कोही गएका छैनन् तर बदनाम हाम्रो बस्तीको भयो, पीडा हामीले खेप्नुपर्‍यो।’

आइतबार प्रहरीसँग सुकुम्बासी समूहको भिडन्तले स्थानीयको घरमा क्षति पुगेको छ। सडकमा सुकुम्बासी समूहले बालेका टायर, जम्मा पारेका ढुंगा सडकमा असरल्ल छन्। जनपद र सशस्त्र प्रहरीका सुरक्षा कवचसमेत फुटेको अवस्थामा थिए। प्रशासनले मोतीपुर क्षेत्रमा कर्फ्यु लगाएको छ। कर्फ्युकै कारण बस्तीका स्थानीय थप असुरक्षित महसुस गरेका छन्। ‘सुकुम्बासीका नाममा मानिस हुलका हुल आउन थालेको करिब ६ महिना भयो, हामीले स्थानीय सरकार, प्रहरी प्रशासन सबैलाई भनेकै थियौं,’ स्थानीय समाजका अगुवासमेत रहेका धर्म बुढाथोकीले भने, ‘हाम्रो बस्तीमा यस्तो कहालीलाग्दो घटना भयो।’

‘दसैंको मुखमा बस्ती नै उराठ हुने गरी गोली चल्यो,’ उनले भने, ‘त्यसमाथि स्थानीयसँग प्रहरीको झडप भएपछि हामी झन् अन्यायमा पर्‍यौं।’

उनका अनुसार विभिन्न जिल्लाबाट आएकाहरुले वैशाखदेखि नै औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न थालेका हुन्। यो क्रम बढ्दै अनियन्त्रित हुन थालेपछि मात्रै प्रशासनले चासो दिएको उनले बताए। ‘दसैंको मुखमा बस्ती नै उराठ हुने गरी गोली चल्यो,’ उनले भने, ‘त्यसमाथि स्थानीयसँग प्रहरीको झडप भएपछि हामी झन् अन्यायमा पर्‍यौं।’

उनले रानीगञ्ज क्षेत्रका नागरिक प्रहरीसँगको झडपमा संलग्न नभएको बताए। ‘झोला झोलमा पेट्रोल ल्याएका कहिल्यै नदेखेका केटाहरु आएका थिए, हामी त केही पनि बोल्न सकेनौं,’ उनले भने, ‘बाहिरबाट आएकाहरुसँग भडप भयो, दसैंको मुखमा हाम्रो बस्ती उजाडियो।’ रानीगञ्जमा आइतबार मात्रै करिब ५ हजार सुकुम्बासी समूहका मानिसहरु विभिन्न जिल्लाबाट सहभागी भएको स्थानीय बताउँछन्।

Laxmi sunrise bank
kumari

मृतक र घाइते परिवारको पीडा छँदैछ, तर, बस्तीमा प्रहरी र सुकुम्बासी समूहको दोहोरो चेपुवाले आफूहरु झन् मर्कामा परेको दुखेसो पोख्छन् नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहेका भीमप्रसाद न्यौपाने। उनले आफूहरुले विगतमा बस्तीबाट विस्थापित हुने भयले विरोध गरेको भए पनि अहिले औद्योगिक क्षेत्रमा स्थानीयको विरोध नभएको बताए। ‘स्थानीय संलग्न नै छैनन्, मोतीपुर रानीगञ्ज क्षेत्रमा जुन घटना भयो यो निकै दु:खद् छ,’ उनले भने।

मोतीपुरको रानीगञ्जका स्थानीयसमेत जग्गाको लोभमा नपर्न बारम्बार स्थानीय सरकारका तर्फबाट सजग गराएको बुटवल उपमहानगर वडा १७ का वडा अध्यक्ष सन्तबहादुर रानाले बताए। ‘स्थानीय राजनीतिक दल, टोल विकास समिति सबै मिलेर असोज १६ गते प्रहरी प्रशासनसँग मिलेर टहरा हटाउन खोजेका थियौं, तर हामीले सकेनौं,’ रानाले भने, ‘हजारौं मानिस कहाँबाट आए हामी नै अचम्मित भयौं।’

उनले मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न सुरु भएदेखि नै जनप्रतिनिधिको हिसाबले उपमहानगरपाकिासहित प्रदेश र संघीय सरकारलाई जानकारी गराएको बताए। ‘जग्गा कब्जा गर्न सुरु गरेकै बेला प्रहरी प्रशासनले हटाउन थालेको भए सहज हुने थियो, तर ठूलो भीड जम्मा भएपछि एकैचोटि हटाउन खोज्दा यो अवस्था आयो,’ उनले भने।

२०७५, जेठ २१ गते  औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिले करिव १० बिघा जग्गाको डीपीआर स्वीकृत गरेको थियो।  तर, लिमिटेडले ८ सय १३ बिघा जग्गाको मात्र लालपुर्जा प्राप्त गरेको थियो। स्थानीयको बस्ती रहेको क्षेत्र परेपछि १३३.४६ बिघा रेपछि आफूहरुले सहजीकरण गरेको वडाअध्यक्ष रानाले बताए। उनले विस्थापित हुन नदिने गरी  स्थानीय तहले समन्वय गरेपछि यहाँका जनता औद्योगिक क्षेत्र निर्माणमा सहमत भएको बताउँदै अहिलेको घटनामा आफ्नो वडाबासी संलग्न नभएको बताए।

स्थानीय राजनीतिक दलहरुको संलग्नताको आशंका गरेको बेला नेकपा एमालेका स्थानीय नेता सूर्य प्रसाद न्यौपानेले कुनै पनि पार्टीको संलनता नभएको बताए। गत फागुनमा औद्योगिक क्षेत्रको शिलान्यासका क्रममा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगा प्रहार भएपछि दलहरुलाई प्रशासनले समेत निगरानीमा राखेको थियो।


प्रशासनले भन्छ– बाध्यताले गोली चलाइयो

रुपन्देही प्रशासन मोतीपुर घटना भएको दुई दिनपछि बल्ल औपचारिक रुपमा बोलेको छ। आइतबार दिनभर सूचना प्रवाह नगरी सम्पर्क विहीन भएको प्रशासनले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि सुरक्षाकर्मीले गोली चलाउनुपरेको प्रष्ट्याएको छ।

प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देही शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का ३८ बर्षिय वीरेन्द्र कुर्मि, पूर्वी नवलपरासी अरुणखोला घर भई हाल तिलोत्तमामा बस्दै आएका १८ वर्षीय युजल कुमाल र कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर १० का ४८ वर्षीय रमेश परियार रहेका छन्। बाँकी १ जनाको सनाखत हुन सकेको छैन।

सर्वसाधारणतर्फ १८ जना, नेपाल प्रहरीका ३३ जना र सशस्त्र प्रहरीका १८ जना घाईते भएको प्रशासनले जनाएको छ। घाइतेमध्ये नेपाल प्रहरी र शसस्त्र प्रहरीका चार जनालाई थप उपचारको लागी हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। हुलमुलमा गएकाहरु हराइरहेको पीडितहरुले बताएका छन्।

प्रकाशित: Oct 12, 2021| 05:30 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।