धनगढी- इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा रहेका एक जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षभित्र रहेको शौचालयको भेन्टिलेटरको सरियामा सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर राना झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
कैलालीको जानकी गाउँपालिका–१ तोरैयापुरका पुलुराम थारुको एउटा भैंसी चोरी भएको थियो। खोजतलास गर्दै जाँदा लम्कीचुहा नगरपालिका–५ थापापुरस्थित झुलुङ्गे पुल नजिक भैंसीसहित रानालाई भैंसी धनीले फेला पारी प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार प्रहरीले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको थियो।
उनी आज बिहान हिरासत कक्ष भित्र रहेको शौचालयको भेन्टिलेसनको सरियामा गञ्जीको डोरी बनाई पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।