सिमकोट- छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीले माग गरेका छन्। कोभिड-१९ को सङ्क्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेका हुन्।
सो नाका बन्द भएपछि त्यस क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेको भन्दै सीमानाका खोल्न माग गरेको होटेल व्यवसायीका अध्यक्ष मीमबहादुर लामाले जानकारी दिए। सीमानाका बन्द हुँदा यहाँका साना, मझौला, ठूला व्यवसाय आर्थिक सङ्कटमा परेको अध्यक्ष लामाले बताए। हिल्साबाट चीन आवतजावत गर्ने नाका वा सीमा खोल्नका लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशासनमार्फत सरकारलाई आग्रह गरेको उनले बताए।
नाकामा खोलिएका होटेल व्यवसाय ठप्प हुँदा उनीहरूको लगानी सङ्कटमा परेको छ। हिल्सा नाका सीमा क्षेत्र बन्द भएपछि हुम्लीको व्यापार ठप्प भएको छ। हिल्सा नाका बन्द हुँदा चीनको ताक्लाकोट गएर काम गरेर जीविकोपार्जन गर्दै आएका करिब सात हजार बढी हुम्लीको रोजगारी गुमेको छ। वैशाख महिनाको अन्तिमदेखि हिमपातले रोकिएको नाका खुलेर रोजगारीका लागि उत्तरी नाम्खा गाउँपालिकालगायत अन्य पालिकाका नागरिक ताक्ला पुग्थे। तर दुई वर्षयता चीनमा आत्मनिर्भर रहेको नाम्खा गाउँपालिकाका स्थानीय सीमा बन्द हुँदा बढी समस्यामा परेका हुन्।
वैशाखदेखि मंसिर अन्तिमसम्म ताक्लाकोटमा काम गरेर नेपाल फिर्ता हुने गरे पनि विगत लामो समयदेखि बन्द हुँदा समस्या भएकाे नाम्काका स्थानीय दावा तामाङले बताए। करिब आठ महिना चीनमा काम गरेर हुम्ला फिर्ता हुने गरे पनि सीमानाका कोरोनाका कारण बन्द हुँदा हुम्लीलाई घर खर्च चलाउनसमेत समस्या भएको उनले बताए।
उत्तरी नाम्खा चीनमा निर्भर छ। सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका नागरिकसमेत ताक्लाकोट पुगेर राम्रो कमाई गर्थे। कोरोनाले सीमा बन्द भएपछि चीनले खुलाउन नचाहँदा थप समस्या बनाएको तामाङले सुनाए। हिल्सा नाका बन्द भएपछि व्यापार व्यवसाय ठप्प हुनुका साथै दसैं र तिहार जस्ता ठूला चार्डपर्वमा सस्तो र सहज उपभोग्य वस्तु उपभोग गर्न नसकिएको स्थानीयको गुनासो छ।
च्याङ्ग्रा नआउँदा खसीको मूल्य आकासियो
दुई वर्षदेखि सीमा बन्द भएर चिनियाँ च्याङ्ग्रा नभित्रिदा हुम्लामा खसीको मूल्य आकासिएको छ। सीमानाका हिल्सामा आवतजावत पूर्णरुपमा बन्द भएपछि दसैंमा खसीको मूल्य आकासिएको हो। सात गाउँपालिका रहेको हुम्लामा यो वर्षको दसैं महँगो हुने भएको छ।
चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले स्थानीय गाउँघरमा भएका खसी किन्नु पर्दा महँगो मूल्य तिरेर खरिद गर्नुपरेको छ। विगत वर्षमा प्रत्येक वर्षको दसैंमा चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दसैं मनाउने हुम्लीको यस वर्षाकाे दसैं महँगो हुने भएको हो।
चीनबाट आएका च्याङ्ग्राको मूल्य दुई वर्ष अगाडि हुम्लामा एउटको १० हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा ३० हजारसम्म पर्ने गरेको सिमकोट-२ का धनबहादुर भण्डारीले बताए। स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यो वर्ष अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारीले बताउने गरेका छन्।
व्यापारीले चिनियाँ च्याङ्ग्रा नआउँदा दसैंका लागि भनेर बझाङ, बाजुराबाटसमेत खसी ल्याएर बिक्री गर्न थालेका छन्। हुम्लाको सदरमुकाम सिमकोटमा खसी मासुको प्रतिकिलो एक हजार मूल्यमा बिक्री हुने गरेको छ।
- सुरेस परियार/न्युज कारखाना