दार्चुला- दार्चुलामा दुई लाख बढी रकमसहित जुवातास खेलिरहेका १२ जुवाडे पक्राउ परेका छन्।
सदरमुकाममा रहेको महाकाली नगरपालिका-४ तिंकरखेडाबाट जुवातास खेलिरहेको अवस्थामा २ लाख ३७ हजार ३ सय ९७ रुपैयाँ सहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए।
विशेष सुराकीका आधारमा आइतबार साँझ छापाहानेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए।
जुवाडेहरूको साथबाट ११ थान मोबाइल, १३ गड्डी तास, १ टेबल, १२ कुर्सी, भुइँमा बिछ्याएको फम बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका जुवाडेलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याएर सोधपुछ भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले बताए। प्रहरीले जुवाडेहरूको परिचय गोप्य राखेको छ।
दसैं, तिहारका बेला रमाइलोका नाममा गाउँदेखि सदरमुकाम क्षेत्रमा जुवातास खेल्ने विकृति बढ्दै गइरहेको छ। प्रहरीले बेला बेला यस्तै घटनामा जुवाडेहरूलाई पक्राउ गर्ने गरेको छ। -बिरा दत्त भट्ट/न्युज कारखाना