काठमाडौं– सर्वोच्च अदालतले काठमाडौंको माइतीघरबाट पक्राउ परेकी नेपालगन्जकी रुबी खानलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ। खानको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटको आइतबार सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले उनलाई अदालतमा २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो।
घरेलु हिंसापीडित महिलालाई न्याय माग गर्दै नेपालगञ्जदेखि पैदल यात्रा गरेर काठमाडौं आएका टोली माइतीघरमा धर्नामा बसेको थियो। सोही टोलीको सदस्य रुबी खानलाई प्रहरीले शुक्रबार बेलुका पक्राउ गरेको थियो। उनलाई पक्राउ गर्नु गैरकानुनी भन्दै अधिवक्ता मोहना अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। रुबीलाई प्रहरीले नेपालगन्ज लगिसकेको छ।