काठमाडौं- पोखरा विश्वविद्यालयमा अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र तथा आवास गृहको निर्माण हुने भएको छ। ‘ओपन इन्टरनेशनल रिसर्च सेन्टर एण्ड गेष्ट हाउस’ नामाकरण दिइएको भवन पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ, नेपाल (ओपन) ले पोखरा विश्वविद्यालयको २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा मनाउन गइरहेको रजतजयन्तीको अवसरमा पोखरा विश्वविद्यालयसँग सहकार्य गरी निर्माण गर्न लागेको हो।
करिब १२ करोडको लगानीमा निर्माण हुने उक्त भवन विश्वविद्यालयको प्राङ्गण लेखनाथमा अवस्थित ११४ रोपनी प्लटको डि ब्लकमा निर्माण हुनेछ। करिब चारहजार वर्गफिट प्रतितलाका दरले सम्पूर्ण पूर्वाधारसहित चारतले भवन निर्माण सम्पन्न गरी दुई वर्षभित्र पोखरा विश्वविद्यालयलाई पूणर्रूपमा हस्तान्तरण गर्ने योजना छ। भवनमा सबै गरेर सुविधा सम्पन्न ३३ ओटा कोठा, हलहरू छन्।
अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र तथा आवास गृहमा भूइँ तलामा एउटा रिसेप्सन हल, एउटा प्रतिक्षालय, दुई वटा प्रशासकीय कक्ष, दुई वटा डाइनिङ हल, भण्डार कोठासहितको एउटा भान्छा कोठा गरी जम्मा आठ कोठाहरू हुनेछन्।
पहिलो तलामा दुई वटा प्रतिक्षालय, दुई वटा डबल गेष्ट रूम, चार डिलक्स गेष्ट रूम र एउटा फेमिली गेष्ट रूम गरी जम्मा नौ कोठा हुनेछन्। दोस्रो तलामा एउटा रिसेप्सन हल, एउटा प्रतिक्षालय, एउटा इन्टरनेशनल रिलेशन अफिस, दुई डिलक्स गेष्ट रूम, एउटा फेमिली डिलक्स गेष्ट रूम, ठूलो साइजको एउटा प्रिजेनटेशन हल गरी जम्मा आठ कोठा हुनेछन्। तेस्रो तलामा एउटा प्रतिक्षालय, एउटा भिआईपी प्रिजेनटेशन हल, दुई सानो साइजको मुख्य प्रिजेनटेशन हल र एउटा अतिरिक्त ठूलो साइजको मुख्य प्रिजेनटेशन हल गरी जम्मा पाँच कोठाहरू हुनेछन्। चारतलामा एउटा स्टोर रूम र दुई ओटा खुला टेरेस निर्माण गरिने आपेनले जनाएको छ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालय प्रांगणमा निर्माण हुन लागेको अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र तथा आवास गृहको भवन शिलान्यास गरिसकेको जानकारी दिए। उपकुलपतिले विश्वविद्यालयमा नयाँ-नयाँ अनुसन्धान र परिवर्तनको आवश्यकतालाई औंल्याउदै यसको उत्थानका लागि ओपनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र तथा आवास गृहले विश्वविद्यालयलाई थप उचाईमा लैजाने बताए।
अनुसन्धान केन्द्र तथा आवास गृह विश्वविद्यालयको विकास र विस्तारकालागि महत्वपूणर् हुने उनको विश्वास छ। पोखराका स्थानीयबासीले पोखरा विश्वविद्यालयको लागि २७ सय ४० रोपनी जग्गा पञ्चायतकालमा दुई करोड जुटाएर एकीकृत गरेका थिए। पोखरा विश्वविद्यालयको समग्र उन्नयन एवम् शैक्षिक तथा अनुसन्धानात्मक वातावरणलाई विश्वस्तरीय बनाइ विश्वविद्यालयको छवी उच्च बनाउने उद्देश्यस्वरूप विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ५८ ओटा कलेजहरूले अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र तथा आवास गृह निर्माण गर्न लागेका हुन्।
ओपनले पोखरा विश्वविद्यालय नेपालकै उत्कृष्ट विश्वविद्यालयको बाटोमा लम्किरहेको अवस्थामा यसलाई विश्वविद्यालयसँग सम्बन्धित सम्पूर्ण निकायहरूबीच सकारात्मक रूपबाट सहकार्य गर्ने आवश्यकतालाई मध्यनजर गर्दै विश्वविद्यालयको वृत्तिविकासमा सहकार्य गर्न भवन लगायतका सम्पूर्ण पूर्वाधार निर्माण गर्न लागिएको जनाएको छ।