पोखरा- गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिएको छ। शिक्षा, संकृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा आइतबार प्रदेशलाई पूर्ण साक्षर घोषणा गरिएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले पोखराको नयाँबजारस्थित क्षेत्रीय संग्राहलयमा स्थापना गरिएको पूर्ण साक्षर स्मारक अनावरण गरि गण्डकी प्रदेश पूर्ण साक्षर भएको घोषणा गरेका हुन्।
पृथ्वी सुव्वा गुरुङ नेतृत्वको सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम समावेश गरेको थियो। प्रदेशका ११ जिल्ला भने यसअघि नै पूर्ण साक्षर घोषणा भइसकेका छन्।
प्रदेशमा ९६ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको आधारमा घोषणा गरिएको विभागीय मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए। मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा १५ देखि ६० वर्ष उमेर समुहका ९६ प्रतिशत नागरिक साक्षर छन्। गत भदौ ३० गतेको मन्त्रीपरिषदको निर्णय अनुसार प्रदेश साक्षर घोषणा गरिएको हो।
मन्त्रालयका अनुसार प्रदेशका जिल्ला मध्ये सबैभन्दा बढी साक्षर भएको नवलपुर हो। यो जिल्लामा ९८ प्रतिशत साक्षरता दर। सबैभन्दा कम साक्षर भएको जिल्ला लमजुङ् हो। यो जिल्लामा ९५.५ प्रतिशत साक्षरता दर छ।
यसैगरी गोरखामा ९७.२, पर्वतमा ९६.९६, मनाङमा ९६.९०, वागलुङ्मा ९६.९०, मुस्ताङमा ९६.३५, तनहूँमा ९६.४०, स्याङ्जामा ९६.१६, म्याग्दीमा ९६.२७ र कास्कीमा ९६ प्रतिशत साक्षरता छ।
१५ देखि ६० वर्ष उमेर समूहको जनसंख्या ९५ प्रतिशत साक्षर भएर घोषणा गर्न सकिने संयुक्त राष्ट्र संघको साक्षरता सम्बन्धि विश्वव्यापी अभ्यासलाई माधार मानेर घोषणा गरिएको हो। यसका लागि संघीय सरकारले पनि नीति ल्याएको थियो। सो अनुसार २०७१ देखि २०७४ सम्म प्रदेशका ११ वटै जिल्ला साक्षर घोषणा भएका थिए।
मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा प्रदेशले गुणात्मक फड्को मारेको दाबी गरे। उनका अनुसार प्रदेशमा हाल ५ वर्ष मुनिका बालबालिकाको भर्नादर ९८ प्रतिशत छ भने ५ वर्षदेखि १५ वर्षसम्मको विद्यालय नछाड्ने दर ९६ प्रतिशत छ। यो सूचकले शिक्षाको विकासमा गण्डकी प्रदेश देशकै नमूना प्रदेश भएको उनको भनाई छ।