काठमाडौं– नेपाल विद्यार्थी संघले न्याय खोज्दै बाँकेबाट ७१७ किमि पैदल हिँडेर काठमाडौं आएका पीडितहरुलाई तत्काल न्याय दिन सकरकारसँग माग गरेको छ। संघका महामन्त्री बलदेव तिमल्सिनाले आइतबार प्रेस नोट जारी गर्दै यस्तो माग गरेका हुन्।
उनले भनेका छन्, ‘बाँके नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा छानबिन र अनुसन्धान गर्न माग गर्दै नेपालगन्जदेखि २० दिन पैदल हिँडेर न्यायका लागि काठमाडौं आएका हिंसापीडितमाथि राज्यले थप हिंसा गर्नु अत्यन्तै गैह्रजिम्मेवार र विडम्बना हो।’
न्याय नपाएपछि बाँकेबाट १४ महिला र ३ जना पुरुषको टोली काठमाडौं आइपुगेको छ। उनीहरु बुधबार काठमाडौं आइपुगेका हुन्। न्यायका निम्ति सिंहदरबार ढकढक्याउन आइपुगेका उनीहरु शुक्रबारदेखि माइतीघर मण्डलामा रिले अनशन बसेका छन्। अनशनमा बसेका उनीहरूका माग सम्बोधन गर्नुको सट्टा प्रहरी प्रशासनले धरपकड गरेपछि सर्वत्र निन्दा भएको छ।
तिमल्सिनाले भनेका छन्, ‘न्यायका निम्ति शान्तिपूर्ण आन्दोलन गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो । लोकतन्त्र र कानुनी राजमा जनताले उठाएका आवाज सरकारले सुन्ने र सम्बोधन गर्नुपर्दछ। किनकि यो जनताको सरकार हो र जनताको सरकार पूर्ववर्ती जनतामारा सरकारको लयमा जानु हुँदैन।’