दोहा- तालिवानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधिबीच वार्ता भएको छ। दुई देशका प्रतिनिधिबीच कतारको राजधानी दोहामा शनिबार वार्ता भएको हो। वार्ता आइतबार पनि जारी रहेको तालिवानले जनाएको छ। ३१ अगस्टमा काबुलबाट अमेरिकी सेना बाहिरिएपछि तालिवानसँग अमेरिकाले पहिलो पटक वार्ता गरेको हो।
वार्तामा अफगानिस्तानमा मानवीय सहायता, अफगान केन्द्रीय बैंकमाथि अमेरिकाले लगाएको प्रतिबन्ध हटाउने र गत वर्ष अमेरिकासँग भएको सम्झौतालगायतका विषयमा छलफल भएको तालिवानले जनाएको छ।
वार्तामा तालिवानको नेतृत्व विदेश मन्त्री मुल्लाह अमिर खान मुत्ताकीले गरेका छन्। अमेरिकाले अफगानीलाई कोभिड खोप दिने विषयमा पनि छलफल भएको थियो।
अमेरिकी प्रतिनिधिसँगको वार्तापछि तालिवान प्रतिनिधिले युरोपेली युनियनका अधिकारीहरूसँग वार्ता गर्ने कार्यक्रम छ। -न्युज कारखाना