आइतबार, असोज १८, २०८३

सरकारी जागिर र विदेश जान छाडेर छुर्पी उद्योग खोल्दै

धनकुटामा पछिल्लो समय गाईपालनसँगै डेरी उद्योग सञ्चालन गर्ने लहर नै चलेको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

धनकुटा- धनकुटामा पछिल्लो समय गाईपालनसँगै डेरी उद्योग सञ्चालन गर्ने लहर नै चलेको छ। खासगरी विदेशबाट फर्केका र सरकारी जागिरबाट अवकाश भएकाहरूले सञ्चालन गरेको डेरी उद्योगले युवालाई स्वरोजगार बनाएको छ।

दूधलाई प्रशोधन गरी बनाइने घ्यू र छुर्पीको माग बढेपछि गाउँमा उद्योग स्थापनासँगै रोजगारी पाउने युवाको संख्या बढ्दो छ। केही वर्ष अघिदेखि डेरी उद्योग सञ्चालन गरी राम्रो आम्दानी लिइरहेका महलक्ष्मी-१ रामबहादुर पौडेल पनि छुर्पी उत्पादनबाट निकै सन्तुष्ट रहेको बताउँछन्। नेपाली सेनाको जागिरबाट अवकाश भएपछि यो पेशामा लागेका पौडेलले आठ जनालाई रोजगारी दिएका छन्।

२०७४ सालदेखि आफ्नै फर्ममा उत्पादित ६० लिटर दूधबाट व्यवसाय सुरु गरेका महालक्ष्मी नगरपालिका–१ का कमल अधिकारीले अहिले दैनिक एक हजार पाँच सय लिटर दूध प्रशोधन गरिरहेका छन्। डेरी उद्योगबाट मासिक १५ लाखको कारोबार गरेको बताउने अधिकारीले मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए।

हिमाली जिल्लामा व्यावसायिक रुपमा छुर्पी उत्पादन हुँदै आएकोमा अब धनकुटामा पनि छुर्पीको व्यावसायिक उत्पादन हुन थालेको हो। गाई भैँसीको दूध उत्पादनमा वृद्धि हुँदा दूधले बजार नपाएपछि दूध खपतको लागि छुर्पी उद्योग खोलिने क्रम बढेको छ। धनकुटामा ५० भन्दा बढी उद्योग रहेका छन्।

दूध खेर नजाओस् भनेर व्यावसायिक रुपमा उद्योग नै सञ्चालन गरी यसको उत्पादन गर्न थालिएको धनकुटा–२ भीरगाउँका राजु घिमिरेले बताए। उनले दैनिक एक हजार लिटर दुधको छुर्पी बनाउँदै आएको बताए। 

उद्योगमा उत्पादन गरिएको छुर्पीको माग बढेको हुँदा उत्पादनमा वृद्धि गर्दै लगिने घिमिरेको भनाइ छ। केही वर्ष अघिसम्म निजी कम्पनीमा जागिर गर्ने घिमिरे छुर्पी उद्योगबाट निकै सन्तुष्ट रहेको बताउँछन्। श्रम गरे आफ्नै गाउँ–ठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने लागेर यो पेशामा लागेको उनको भनाइ छ। घिमिरेको उद्योगमा हाल छुर्पी, नौनी, र पनिर उत्पादन हुन्छ।

‘पनिर माग गरेअनुसार मात्रै बनाइन्छ। उत्पादित छुर्पी र नौनीका लागि बजारको कुनै समस्या छैन, घरैबाट बिक्री हुन्छ,’ उनले भने। उत्पादित छुर्पी इटहरी हुँदै काठमाडौं तथा अमेरिकासमेत निर्यात गरिन्छ। नौनी धनकुटालगायत तराइका जिल्लामा खपत हुन्छ। उद्योगबाट मासिक १० लाख सम्मको कारोबार हुने गरेको उनले बताए। सबै खर्च कटाएर एक लाखसम्म बचत हुन्छ।

प्रतिलिटर ४५ मा उनले दूध खरिद गर्छन्। सो उद्योगमा दूध उमाल्ने, फटाउने, छान्ने, मेसिनमा पेल्ने, क्रिम काट्ने, आगोमा सुकाउने, काटेर टुक्रा पार्नेलगायतका काममा चार जनाले रोजगारीसमेत पाएका छन्।

छुर्पी प्रतिकिलो आठ सय र घ्यू प्रतिकिलो पाँच सय रुपैयाँमा गाउँमै बिक्री हुन्छ। यहाँ उत्पादित घ्यू, छुर्पी जिल्ला सदरमुकामलगायत तराइका जिल्ला र काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्जलगायतका शहरमा निर्यात हुने गरेको छ। गाउँमै छुर्पी उद्योग स्थापनासँगै किसानले उत्पादन गरेको दूधले बजार पाउन थालेको छ।

अलिअलि घ्यू मात्र उत्पादन गर्दै आएका किसानहरू गाउँमै स्थापना भएका उद्योगले दूध खरिद गर्न थालेपछि खुसी भएका छन्। उद्योगले दूध खरिद गर्न थालेपछि आम्दानीको स्रोतको रुपमा पशुपालन रोज्न सुरु गरेका छन्।

उपयोगमा नआएको दूध बिक्री हुन थालेपछि किसानलाई राहत मिलेको दूध उत्पादक किसान राजेन्द्र थापाले बताए। सरकारले स्वदेशमै व्यवसाय गरेका मानिसलाई धमाधम अनुदान दिइरहेको छ। तर, सरकारले दिने अनुदानमा भने उनीहरू भने सन्तुष्ट छैनन्।

अनुदानका लागि एकपटक जाँदा सम्बन्धित निकायले चासो नलिने र पटकपटक जान एक जना कामदार नै राख्नुपर्ने भएकाले त्यसतर्फ ध्यान नदिएको उद्योगीको भनाइ छ। -न्युज कारखाना

प्रकाशित: Oct 10, 2021| 09:03 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्