वाशिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिबानसँग वार्ता गर्नुको अर्थ उसलाई मान्यता दिनु नभएको स्पष्ट पारेका छन्।
राष्ट्रपति बाइडेनले तालिबानसँग सुरु भइरहेको उच्चस्तरीय वार्ताको अर्थ अमेरिकाले तालिबान सरकालाई मान्यता दिएको भन्ने नहुने स्पष्ट पारेका हुन्। अमेरिका र तालिबानबीचको उच्चस्तरीय वार्ता आइतबार दुईसम्म चल्नेछ।
अगस्त १५ मा अफगानिस्तानमा कब्जा गरेको तालिबानले सेप्टेम्बर ७ मा अन्तरिक सरकार घोषणा गरेको थियो। त्यसपछि पहिलो पटक अमेरिका र तालिबानबीच कतारको राजधानी दोहामा वार्ता सुरु भएको छ।
अमेरिकी विदेश मन्त्रालयले तालिबान अमेरिकी प्रतिनिधिले तालबानसँग अफगानिस्तानमा रहेका अमेरिकी नागरिक र अन्य मुलुकका नागरिकहरुलाई बाहिर निकाल्ने विषयमा कुरा हुने बताएका छन्।
अफगानिस्तानका नागरिकहरुलाई सुरक्षाको ग्यारेन्टी गर्ने विषयमा पनि तालिबानसँग वार्ता हुने बताइएको छ।
अगस्त ३१ मा अमेरिकी सेनाले पूर्णरुपमा अफगानिस्तान छोडेपछि अफगानिस्तानमा विदेशी सहायतासमेत बन्द गरिएको छ। जसका कारण अफगानिस्तानको अर्थतन्त्र संकटमा परेको र अफगानिस्तानमा मानवीय संकट सिर्जना भएको छ।
अमेरिकी सेनासँग करिब एक लाख २४ हजार मानिसहरुको अफगानिस्तानबाट उद्धार गरिएको थियो। अझै पनि कयौं अफगानीहरुले मुलुक छोड्न चाहेका छन्।
वार्तामा अमेरिकाले तालिबान सरकार समावेशी बनाउनुपर्ने, महिला र अल्पसंख्यकका अधिकारहरुको सम्मानपूर्वक उपभोग गर्न दिनुपर्ने विषयमा पनि छलफल हुने बताइएको छ।