सोमबार, असार २९, २०८३

मदनको भाषण सुनेपछि कालोझन्डा खल्तीबाट निस्केन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं : वैशाखको अन्तिमतिरको चर्को घाम । हामी एक हुल विद्यार्थी चाबहिल पशुपति क्याम्पसबाट कालो कपडा  बोकेर खुलमञ्चतर्फ लाग्यौं । पसलबाट सानो  कालो कपडा किनेर खल्तीमा राख्यौं। उद्देश्य थियो मदन भण्डारीले बोल्दै गर्दा कालो झण्डा देखाउने ।
 
उनलाई कालो झण्डा देखाउनुपर्ने कारण थियो, २०४९ बैशाख २१ मा  विभिन्न कम्युनिष्ट घटकले आयोजना गरेको नेपाल बन्दको एमालेले विरोध गरेको थियो ।

त्यसबेलाको हाम्रो चढ्दो उमेर, नेपाल बन्द भएपछि आक्रोश पोख्न पाइने, रेलिङ भाँच्दा कसैले केही भन्न नसक्ने । त्यसकारण हाम्रा लागि उत्सव बन्थ्यो नेपाल बन्द। एमालेले त्यसको बिरोध गरेर हाम्रो उत्सव नै खाइदिए जस्तो लागेको थियो हामीलाई।

अघिल्लो महिना  चैत २४ गतेको नेपाल  बन्दमा सबै कम्युस्टि पार्टी सामेल भएका थिए । हाम्रा लागि कम्ती  मजा भएको थिएन । त्यसबेला हामीले बागबजारको भक्तपुर बसपार्कबाट प्रहरीलाई लखेटेका थियौ। त्यो बेलाको हाम्रो मन त्यसरी लखेटदा ठ्लो लडाई जिते जस्तो लाग्थ्यो ।

पहिले त हामीले डन्ठे भन्दै उनीहरुलाई लखेटेका थियौ। पछि बागबजारको गल्लीमा प्रहरीले दुई तिरबाट घेरेर बजाउँदा हामीले नारा फेरेका थियौ 'प्रहरीको तलब बढ्नुपर्छ'। त्यसपछि एकाछेउबाट फर्किएका थियौं ।
 
हामी त्यो समयमा मदन भण्डारीको  भाषण रेकर्ड भएको चक्का प्रायः साथमा बोकेर हिड्थ्यौं। विपक्षीलाई रिस उठाउनु परे, त्यो बजाई दिन्थ्यौ। मदन भण्डारीका शब्दै पिच्छे ताली ठोक्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो  हामीलाई । तर  सधै त्यो अवसर आउदैन्थ्यो। किन कि भाषणका नाममा मदन भण्डारीले गैरजिम्मेवार कुरा गर्दैन्थे।  

अहिले सम्झँदा लाग्छ, हामी त्यो बेला निकै उग्र विद्यार्थी रहेछौं । किनकि बिपक्षीलाई भए भरको गाली गर्नुपर्छ भन्ने लाग्थ्यो। 

चैत २४ गते एमाले सहितको बन्दमा वाम नेताहरु बिष्णुबहादुर मानन्धर, निर्मल लामा लगातका नेता बोल्दा हामीले ताली बजाएका थिएनौ। किन कि मदन भण्डारी बोल्दा ताली बजाउने बल कम होला भनेर । पछि मदनले बोल्दा हामीले अरु सबै नेताले खाएका तालीलाई माथ हुने गरी .बजाएका थियौं।

लगत्तै बैशाख २१ गते  तत्कालिन एकता केन्द्र, मसाल लगायतका वाम पार्टीले नेपाल  बन्दको आयोजना गरेका थिए। एमालेले पटकपटक बन्द आयोजना गर्दा जनताले दुःख पाएको भन्दै सो बन्दमा आफ्नो संलग्नता नरहने घोषणा गरेको थियो।

त्यो कुरा हामीलाई सुरु देखिनै मन परेको थिएन। कम्युनिस्ट पार्टीले आन्दोलन नगर्ने यो त हुदै  भएन भनेर धेरैतिरबाट आलोचना पनि भएको थियो। 

एमालेले  बैशाख २१ को बन्दमा सामेल नहुनु भन्दा भन्दै त्यसको  अवज्ञा गरेर  हामी सामेल भएका थियौ। पार्टीले बन्दको बिरोध गरेको हामीले कुनै परवाह गरेनौं।

सडकका आएको कुरालाई पार्टीले पनि खासै ईस्यु बनाएन। यो प्रकरणमा एमाले र तत्कालिन महासचिव मदन भण्डारीको आलोचना भएपछि बैशाखको अन्तिमा त्यो सभा आयोजना गरेको थियौ। हामी चाहि त्यही भएर मदनले बोल्दा कालो झण्डा देखाउन खुलमंच पुगेका थियौं ।

हामी करिब एक दर्जनको संख्यामा थियौं। पार्टीको आमसभा भएको बेला कालो झण्डा देखाएर विरोध गर्नका लागि खुल्ला मंचको उतरतर्फ पछाडि बसेका थियौ। किन कालो झण्डापछि हाम्रो रामै्र मर्मत हुन्छ भन्ने थाहा थियो।

त्यसैले भण्डा देखाएर भाग्ने पोजिसनमा थियौं हामी ।आमसभा शुरु भयो। मदनभण्डारी बाहेक सबै वक्ताले बोली सके। मदनको पालो आयो। अब हामी हाम्रो मिसन नजिक आइपुगका थियौ। मदनले शुरुमा नै सम्वोधन गर्दै भने ‘मलाई थाहा छ बैशाख २१ को बन्दमा पार्टी सहभागी भएन भनेर तपाईहरुलाई चित्त बुझेको छैन। मानौं हाम्रो असन्तुष्टिबाट सम्बोधन शुरु भएकोले हामी कालो झण्डा खल्तीमा राखेर सुनिरह्‌यौं।

भण्डारीले बन्द नै सबै थोक होइन, काम गरी खाने जनताले दुख पाँउछन् भन्दै तातेका हामीलाई आधा ठण्डा पारिसकेका थिए।  मदन भण्डारीले भनेका थिए‘ हामीले चैत २४ गते बन्द आयोजना गर्यौ, जनताले अभूतपूर्व साथ दिए।

जनमत यो सरकारको बिपक्षमा छ भन्ने कुरा प्रमाणित भयो। एक महिना अघि लिएको जनमत लगतै  एक महिना भित्र लिन आवश्यक छैन, जसरी एकपटक एसएलसी जाँच दिएर पास भएपछि फेरि जाँच दिनु पर्दैन । यो बन्द पनि त्यस्तै हो। हामी चैत २४ गते नै पास भएका छौं, त्यसकारण फेरि परीक्षा दिइरहनु पर्दैन। 

मदनको  यो भाषण सुनेपछि  कालो झण्डा देखाउन गएका हामी मुखामुख गर्‍यौं। सबैले मुन्टो हल्लायौं र अन्तिममा खल्तीको कालो झण्डा बाहिर न निकाली कोठातिर फर्कियौं। 

(सन्दर्भ : मदन भण्डारीको ६७ औं जयन्ती )
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।