काठमाडौं- जुम्लामा ४६ हजार ६४२ जनाले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप लगाएका छन्। पहिलो र दोस्रो मात्रा गरी जिल्लामा सो सङ्ख्यामा नागरिकले कोरोनाविरुद्ध खोप लगाएको स्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए।
उनका अनुसार जिल्लामा पूरा मात्रामा खोप लगाउनेको सङ्ख्या १९ हजार ८४७ रहेका छन्। २७ हजार ७९७ जनाले दोस्रो मात्राको खोप लगाएका छन्। जिल्लामा कोभिड– १९ विरुद्धको खोप १८ वर्षदेखि माथिकालाई दिएको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाले बताए।
खोप लगाउन छुटेका र बाँकी रहेका नागरिकलाई अब छिट्टै खोप लगाइने छ। दोस्रो खोपको पर्खाइमा बसेका नागरिकलाई पनि छिट्टै खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ। कार्यालयले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न सबैमा आग्रह गरेको छ।
दसैँ, तिहार नजिकिँदै गर्दा सहर बजारमा भिडभाड बढेको देखिन्छ। यसले कोरोना फैलाउने देखिन्छ। भिडभाड नगरी सुरक्षितरुपमा दसैँ, तिहार मनाउन सबैलाई अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। -रासस