काठमाडौं– नइ प्रकाशनले प्रा.डा. वासुदेव त्रिपाठीलाई पाँच लाख रुपैयाँ राशिसहित ‘महासमालोचक’ को उपाधि र ‘नइ रजत महोत्सव पुरस्कार’ समर्पण गरिएको छ। राजधानीमा मनाइएको नइ रजत महोत्सवका अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले त्रिपाठीलाई उपाधि र पुरस्कार प्रदान गरेका हुन्। त्रिपाठीलाई एक लाख रुपैयाँ राशिको ‘नइ ईश्वर बराल पुरस्कार’ पनि समर्पण गरिएको थियो।
समारोहमा त्रिपाठीले जोशीलाई ‘नइ रजत महोत्सव पदक’ समर्पण गरेका थिए। सो पदक प्रा.डा.महादेव अवस्थी, प्रा.केशव सुवेदी, प्रा.डा.लक्ष्मणप्रसाद गौतम लगायत पचास जनालाई समर्पण गरिएको थियो। निकट भविष्यमा सो पदक देशदेशान्तरका महानुभावहरूलाई पनि समर्पण गरिने भएको नइ प्रकाशनले जनाएको छ।
समारोहमा भारतीय नेपाली साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई दुई लाख रुपैयाँ राशिसहित ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गरिएको थियो।
नइ प्रकाशनले कोरोना महामारीका कारण २०७६ र २०७७ सालका पुरस्कार समर्पण गर्न सकेको थिएन। यी दुवै वर्षका पुरस्कार आज समर्पण गरिएका हुन् ।
२०७६ सालका जनही एक लाख रुपैयाँ राशिका पुरस्कारमध्ये जनप्रिय र विशिष्ट चिकित्सक डा. गौरीशङ्करलाल दासलाई ‘नइ भावि पुरस्कार’, नेपालको राष्ट्रिय झण्डाका मानक निर्माता इन्जिनियर शंकरनाथ रिमाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’, अन्तर्राष्ट्रिय स्तरको अभिनयका लागि मनीषा कोइरालालाई ‘नइ भूपालदुर्गा पुरस्कार’, जनचेतनाका लागि हास्यव्यङ्यका नायकद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ प्रदान गरिएको छ।
यस्तै साहित्यकार चूडामणि रेग्मीलाई ‘नइ भाजप पुरस्कार’, धर्म तथा संस्कृतिमा योगदान पुर्याउने प्रा.डा. सोमप्रसाद खतिवडालाई ‘नइ चन्द्रधन पुरस्कार’, विशिष्ट सङ्गीतकार प्रा.दीपक जङ्गमलाई ‘नइ कोइलीदेवी पुरस्कार’ र अमेरिकाका गीता खत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गरिएको थियो।
साठी हजार रुपैयाँ राशिका ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र ‘नइ रेखा पुरस्कार’ साहित्यकार लक्ष्मीदेवी राजभण्डारीलाई समर्पण गरिएको प्रकाशनले जनाएको छ।
साथै जनही पचास हजार रुपैयाँ राशिका ‘नइ बुलु शर्मा पुरस्कार’ रुपन्देहीका दुर्गा पौडेललाई, ‘नइ देरुनीख गौरव पुरस्कार’ साहित्यकार महेश थापालाई र ‘नइ रामलक्ष्मी पुरस्कार’ तेस्रो लिंग सोफी सुनुवारलाई समर्पण गरिएको थियो।
त्यसै गरेर मिस मङ्गोल सुश्री सिविरा लामालाई पच्चीस हजार रुपैयाँ राशिसहित ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिएको थियो।
वाङ्मय शताब्दी पुरूष डा. सत्यमोहन जोशीले नौजना बाल बालिकालाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरेका थिए। दस हजार रुपैयाँ राशिसहित पुरस्कृत हुनेहरूमा विनम पोखरेल, कीर्ति पोखरेल, आयुष्मा तिवारी, सुश्री सन्ध्या खत्री, प्रोशेष पाण्डे, सुश्री लुँस्वां मानन्धर छन्। साथै सात हजार रुपैयाँ राशिबाट पुरस्कृत हुने रेवती महर्जन तथा सुप्रिया विष्ट र पाँच हजार राशिसहित पाँच वर्षीय कृति राई छन्।
सनातन हिन्दू दर्शन र धर्मसंस्कृतिको संरक्षण, संवर्धन र जागरणका लागि प्रा.डा. दीर्घराज घिमिरेलाई ‘नइ चन्द्रधन पुरस्कार’, सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभभिमानका लागि कमल थापालाई नइ कीर्तिनिधि पुरस्कार समर्पण गरिएको छ।
जोशीले २०७७ सालका जनही एक लाख रुपैयाँ राशिका पुरस्कारमध्ये सनातन हिन्दू दर्शन र धर्मसंस्कृतिको संरक्षण, संवर्धन र जागरणका लागि प्रा.डा. दीर्घराज घिमिरेलाई ‘नइ चन्द्रधन पुरस्कार’, सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभभिमानका लागि कमल थापालाई नइ कीर्तिनिधि पुरस्कार समर्पण गरिएको छ।
नेपाल टेलिभिजनको स्थापना, नेपाली चलचित्र, नाटक तथा श्रव्यदृश्यमूलक आमसञ्चारका क्षेत्रमा अग्रणी नीर शाहलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, विशिष्ट चिकित्सक डा.मणिन्द्ररञ्जन बराललाई ‘नइ भावि पुरस्कार’, विशिष्ट चित्रकार शशीकला तिवारीलाई ‘नइ यउजा पुरस्कार’ र राजधानी बाहिर रहेर साहित्यको साधना गर्ने रुपन्देहीका जङ्गबहादुर शाहलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरिएको छ।
भाषासाहित्यमार्फत नेपाली राष्ट्रिय एकतामा जोड दिने प्रा.डा.राजेन्द्र विमल ‘नइ भूपालदुर्गा पुरस्कार’, साहित्यको सिर्जना र वाङमय संस्थाको निर्माण, विश्व कविता यात्रामार्फत नेपाली भाषाको गौरव वृद्धिका लागि वसन्तकुमार चौधरी ‘नइ ईश्वरवल्लभ पुरस्कार’ र म्युजिक नेपालको स्थापना गरी नेपाली गीतसङ्गीतको संरक्षण सम्बर्धन र सम्प्रसारका निम्ति सन्तोष शर्मा ‘नइ भाजप पुरस्कार’बाट सम्मानित भएका छन्।
त्यसै गरी साठी हजार रुपैयाँ राशिको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’बाट साहित्यकार घनश्याम राजकर्णिकार र जनही पचास हजार रुपैयाँ राशिका ‘नइ बुलु शर्मा पुरस्कार’बाट राजधानीबाहिर बसेर भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित झापाकी भवानी क्षत्रीलाई ‘नइ बुलु शर्मा पुरस्कार’ र हिन्दूधर्म, संस्कृति र समाजसेवामा समर्पित भागवत मञ्जरी राधिका दासीलाई ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिएको छ।
पच्चीस हजार रुपैयाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’बाट साहित्यकार युवराज अधिकारी ‘स्मरण’लाई पुरस्कृत गरिएको छ।
शताब्दी पुरूष डा।सत्यमोहन जोशीले नौजना बाल बालिकालाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरे। दस हजार रुपैयाँ राशिसहित पुरस्कृत हुनेहरूमा सोइना दाहाल, सुविन रिमाल, देभान्स अग्रवाल, सफलता श्रेष्ठ, अदिति उपाध्याय र ऋषान्त घिमिरे छन् भने सात हजार रुपैयाँको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’बाट समीर डङ्गोल र सुश्री युकी कुँवर पुरस्कृत छन्।
साथै पाँच हजार रुपैयाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’बाट पाँच वर्षीय दृश्ना महर्जन सम्मानित भइन्। कार्यक्रममा नइ प्रकाशनबाट यस वर्ष प्रकाशित १६ वटा कृतिको पनि लोकार्पण गरिएको थियो।