बिहीबार, भदौ ४, २०८३

हराउँदै पिङ संस्कृति

म्याग्दीका गाउँदेखि ठूला शहरबजारमा हिन्दूको महान् चाड दसैं आउनु केही समयअघिदेखि नै लिङ्गे पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन थालेका हुन्।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

गलेश्वर- ‘दसैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन’ भन्ने परम्परागत कथन छ। यस कथनमा कतिको वैज्ञानिक कारण छ त्यो त अलग्गै विषय हुनसक्छ। यही कथनलाई चरितार्थ गर्दै दसैँका बेला गाउँ शहर जताततै हालिने लिङ्गे पिङ पछिल्ला केही वर्षयता हराउँदै जान थालेका छन्।

म्याग्दीका गाउँदेखि ठूला शहरबजारमा हिन्दूको महान् चाड दसैं आउनु केही समयअघिदेखि नै लिङ्गे पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन थालेका हुन्। कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण दसैँका बेला हालिँदै आएको पिङ हालिएको छैन।

विगतमा दसैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे। अनि जिल्लाका विभिन्न स्थानमा दर्जनौं दर्जन लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गथ्र्यो। विस्तारै समाजका युवाले आधुनिक कलासंस्कृतिलाई अँगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ।  

केही वर्षअघिसम्म दसैँ, तिहारजस्ता चाडपर्वमा गाउँ शहर जताततै  लिङ्गे पिङ हालिन्थ्यो, आआफ्ना साथीभाइ, दौतरीसँग भेला भएर चचहुइई गर्दै पिङमा मच्चिएर रमाइलो गरिन्थ्यो तर पछिल्लो समय गाउँगाउँमा खेलिने लिङ्गे पिङको चलन बिस्तारै हराउँदै गएको म्याग्दीका ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकले बताएका छन्।

दसैँका बेला गाउँका चौतारी, दोबाटो र डाँडामा जम्मा भएर सामूहिक लिङ्गे पिङ खेल्ने र रमाइलो गर्ने परम्परा बिस्तारै हराउँदै गएको बेनी नगरपालिका–२ खबराका राजाराम शर्मा सापकोटाले बताए। 'हामी तन्नेरी हुँदा खरबारीमा गई बाबियो काटेर ल्याइन्थ्यो, अलि पाको मान्छेलाई बाबियाको डोरी बाट्न लगाइन्थ्यो, बाँस वा जङ्गलबाट काठ ल्याएर खावा हालिन्थ्यो र मज्जाले पिङ खेलिन्थ्यो,' उनले, 'अहिले त पिङ होइन, मोबाइलमा पब्जी र केके खेल्छन्, पिङ हाल्ने जाँगर कहाँ पाउनु अहिलेको पुस्तामा।'

अहिलेका युवापुस्ता आफ्ना परम्परागत मान्यता, सीप र प्रविधितर्फ उदासिन बन्दै गएकाले चाडपर्वको मौलिकता पनि हराउँदै गएका बगरफाँटका ९२ वर्षीय खड्गबहादुर थापाले बताए। 

'आधुनिकताको विकासक्रमसँगै विभिन्न मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको छ।' 

उनले भने, 'विशेषगरी युवा पुस्ताले लिङ्गे पिङ निर्माण गरेर खेल्ने र रमाइलो गर्ने चलन थियो, अहिलेको पुस्ताले यस्ता कुरामा खासै चासो दिँदैनन्।'

'आधुनिकताको विकासक्रमसँगै विभिन्न मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको छ,' उनले भने, 'दसैँका बेला यहाँ केही वर्षसम्म लिङ्गे पिङ गाउँगाउँमा राखिन्थ्यो, खेलिन्थ्यो। त्यति मात्रै नभई प्रायःजसोका घरघरमा समेत बाबियोको डोरी बनाएर पिङ हालेर खेल्दै आयौँ तर अहिले घरघरमा त के, गाउँमै पिङ लोप हुन थालेको छ।' 

गाउँघरका युवादेखि बुढापाका मिलेर खरबारीमा गई बाबियो काटेर रातमा पिङको लुठो बाटेर दिनमा बाँसको चारवटा लिङ्गा गाडेर अथवा पीपल आदि ठूलो रुखको हागाँमा पिङ बनाउने गरिन्थ्यो। दसैंको सुरुआतदेखि हालेको पिङ तिहारसम्मै राखिन्थ्यो तर गाउँ घरका युवा रोजगारीका लागि विदेशिन थालेपछि दसैँमा रौनक थप्ने लिङ्गे पिङ खेल्ने संस्कृति हराउँदै गएको स्थानीयवासीको भनाइ छ। 

आवश्यक सामग्री र बनाउने मान्छेको कमी छ।  दक्ष जनशक्तिको अभावका कारण पनि पिङ संस्कृति हराउँदै गएको बताइएको छ। वैदेशिक रोजगारीबाट फर्केका युवाको गाउँमा पनि पिङको कुनै रौनक छैन। 

उनीहरु भेला भएर भलिबल, व्याडमिन्टन, फुटबल र मोबाइलमा नानाथरिका खेल खेलिरहेका हुन्छन्। साथीभाइ भेला हुने, पार्टी खाने र रमाइलो गर्ने नाममा बजार र गाउँमा होटेल तथा रेष्टुरेन्टमा युवाको जमात देखिन्छ। तर पिङ हालेर खेल्ने र परम्परागत प्रविधि तथा चलनहरुको संरक्षण गर्ने कार्यमा भने उनीहरु लाग्न नरुचाउने गरेका बेनीका ओमलाल घिमिरेले बताए। 

पिङ बनाउनका लागि बाबियो काटेर ल्याउने, लुठो बाट्न र चार वटा बाँस गाड्न कम्तीमा आठ÷१० जना मानिस आवश्यक पर्छ। गाउँमा युवापुस्ताको उदासिनता र  आधुनिकताको नाममा आयातित विभिन्न प्रविधिको बढ्दो मोहका कारण महान चाड दसैँ र तिहारमा निर्माण गरेर खेल्ने लिङ्गे पिङको प्रचलन बिस्तारै हराउँदै गएको जानकारहरु बताउँछन्। - रासस

प्रकाशित: Oct 09, 2021| 16:00 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।