बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीमा मन्त्रीहरूको नाममा सहमति जुटेन, सरकार बिस्तारमा ढिलाई

लुम्बिनीमा मन्त्रीहरूको नाममा सहमति जुटेन, सरकार बिस्तारमा ढिलाई

सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत लुम्बिनी प्रदेश सरकारले मन्त्रिमण्डल बिस्तार गर्न सकेको छैन।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

बुटवल- सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत लुम्बिनी प्रदेश सरकारले मन्त्रिमण्डल बिस्तार गर्न सकेको छैन। सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसले मन्त्रीहरूको नाम टुंगो लगाउन नसक्दा मन्त्रीमण्डल बिस्तारमा ढिलाई भएको हो। 

प्रदेश सरकारमा कांग्रेसले चारवटा मन्त्रालय पाएको छ। जसमा डिल्लीबहादुर चौधरी पर्यटन र ग्रामीण तथा सहरी विकासमन्त्री छन् भने अरु मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन।

कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका बसिउद्धिन खाँलाई मन्त्री बनाउने सहमति भएको बताए। 'अब एकजना मन्त्री र एक राज्यमन्त्रीको नाम मात्रै टुंगो लाग्न बाँकी छ, त्यो पनि छिटै टुंगिन्छ', उनले भने। रुपन्देहीका अष्टभुजा पाठक र पाल्पाका वीरबहादुर रानाको नाममा सहमति जुट्न सकेको छैन।

त्यस्तै राज्यमन्त्रीको नाम पनि टुंगो लाग्न बाँकी छ। आकांक्षी धेरै भएका कारण समय लागेको कांग्रेस नेताहरू बताउँछन्। मन्त्री बन्नका लागि अर्घाखाँचीकी निर्मला क्षेत्री, कपिलबस्तुकी रिना नेपाल र दाङका अर्जुन श्रेष्ठले पनि आकांक्षा राखेका छन्। प्रदेश संसदीय दलले मन्त्री टुंगो लगाउन नसकेपछि दलका नेता वीरेन्द्र कनौडियाले पार्टीको केन्द्रीय नेतृत्वसँग छलफल गरेर समाधान खोजिने बताए।

माओवादी केन्द्रले भने मन्त्रीको नाम टुंगो लगाएको छ। माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मालाई मन्त्री बनाउने निर्णय भएको छ।  राज्यमन्त्रीमा विमलाकुमारी खत्री वलीको नाम टुंगो लागेको छ। माओवादीको भागमा परेको एउटा मन्त्रालय नेकपा (एकीकृत समाजवादी)लाई दिने भएपछि अन्तिम समयमा प्रमुख सचेतक पाल्पाका तुलाराम घर्तीको नामसमेत हटेको छ।

नेकपा समाजवादीबाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछन्। लुम्बिनी प्रदेशसभामा घर्ती समाजवादीकी एक्ली सांसद हुन्। एमाले नेता शंकर पोखरेलको सरकार अल्पमतमा परेर ढलेपछि २८ साउनमा माओवादी केन्द्रका कुलप्रसाद केसी पाँच दलीय गठबन्धनको सहारामा मुख्यमन्त्री बनेका थिए।

- न्युज कारखाना

प्रकाशित: Oct 09, 2021| 11:47 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।