बुटवल- रुपन्देहीको मायादेवी-७ का गोवरी केवटले यसपाली सोंचेजस्तो दुर्गाको मूर्ति बेच्न सकेनन्। केवटको परिवारसहित अन्य कामदार मिलेर दशैँका लागि भन्दै दुर्गासहित अन्य भगवानका मूर्ति बनाएपनि सोचे जस्तो बिक्री नहुँदा मेहनत खेर गएको उनले सुनाए।
'कोरोनाका कारण यसपाली दुर्गाको मूर्ति किन्न ग्राहक खासै आएनन्, मिहेनत त्यत्तिकै खेर गयो', केवटले भने, 'विगतमा जस्तै सामूहिक रुपमा दुर्गा पूजा समारोह हुन्छ र मूर्तिहरू बिक्री पनि हुन्छन् भन्ने सोचेर बनाइयो कोही किन्न आउँदैनन्।'
माटोसहित विभिन्न सामग्री प्रयोग गरी बनाइने देवीसहित अन्य भगवानका मूर्तिहरू घटस्थापनाका दिनदेखि शहर बजार र ग्रामीण क्षेत्रका सामूहिक दुर्गा पूजा समारोहमा पुजनको लागि राखिन्छ। तर कोरोना महामारीले गर्दा यसवर्ष धेरै दुर्गा मन्दिरहरूमा सामूहिक पूजा समारोह नहुँदा सोंचेजस्तो बिक्री गर्न नसकिएको केवटले बताए।
मायादेवीका गोबरी केवट पनि १२ वर्षदेखि देवीका मूर्ति बनाई बिक्री गर्दै आएका छन्। उनले भारत आनन्दनगरमा पाँच वर्ष माटोको प्रयोग गरी देवीको मूर्ति बनाउन सिकेपछि नेपालमा आएर देवी लगायतको मूर्ति बनाएर बिक्री थाले। ५१ वर्षीय केवटले श्रीमती र दुई छोराका साथ ५० भन्दा बढी दुर्गा मूर्ति बनाए तर २०-२२ वटामा मात्रै बिक्री भएको बताए।
यस पटकको दशैँमा हुने सामूहिक दुर्गा पूजाका लागि उनले जेठ महिनादेखि नै मूर्ति बनाउन सुरु गरेका थिए। एउटै मूर्ति १५ हजार रुपैयाँ सम्ममा बिक्री गरेको केवटले सुनाए । एक सेट मूर्तिमा दुर्गा, देवीसहित भगवान् गणेश, कार्तिके, सरस्वती, लक्ष्मी, बाघ र राक्षसलाई समावेश गरिएको हुन्छ।
मूर्तिका लागि बाँस, माटो, पराल, सुतरी धागो र काँटी प्रयोग हुन्छ । दिनमा १२ घण्टा र रातमा समेत काम गरेकोमा मेहनत खेर जाँदा दुःख लागेको उनले बताए। दुई वर्ष अघिसम्म मूर्ति बेचेरै तीनलाख बढी कमाएका केवटले पोहोरसाल र यसवर्ष खर्च पनि उठाउन नसकेको बताए।
रूपन्देहीको मर्चवार, बेथरीलगायतका धेरै क्षेत्रमा कालीगढहरूले सयौं दुर्गा मूर्ति बनाएका छन्। बिगतमा नेपालमा मूर्ति कम बन्दा भारतबाट ल्याइन्थ्यो। अहिले नेपालमै बन्न थालेपछि आयातमा केही कमी आएको छ। कोरोनाको कारणले भारतको नाका बन्द हुँदा उताबाट यसपल्ट दुर्गा मूर्ति भित्रिएनन् ।
-न्युज कारखाना