बुटवल- राष्ट्रिय जनमोर्चा निकटको अखिल (छैटौं) को २२ औं राष्ट्रिय सम्मेलन शुक्रबारदेखि बुटवलमा सुरु भएको छ। सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै केसीले राजनीतिक पार्टीहरुमा स्खलन हुँदा पदीय स्वार्थको खेल भइरहेको बताए। उनले सत्ता र शक्तिमा रहेका पार्टीहरुमा विचलनकै कारण मन्त्री हुनेहरुको लाइन लागेको बताए।
‘सरकार गठन भएको तीन महिनासम्म मन्त्रिमण्डल विस्तार हुनसकेको छैन, अहिले हेर्नुस त मन्त्री हुनका लागि कत्रो लडाइँ चलिरहेको छ,’ उनले भने, ‘मन्त्री नदिए पार्टी छोड्छु भन्छन्।’ उनले गठबन्धनको सरकारमा मन्त्री बन्न दौरा सुरुवाल सिलाएर बसेको बताउँदै यो राजनीतिक विचलन र स्खलनको नमुना भएको बताए। उनले ठूला दलहरुमा देखा परेको राजनीतिक विकृती र विसंगतिको परिणामले निम्ताएको फल नेपाली जनताले भोग्नुपरेको टिप्पणी गरेका छन्।
दलालीपूर्ण राजनीतिका कारण मुलुकै नरहने हो की भन्ने अवस्था सृजना भएको उनले बताए। ‘देशी तथा विदेशी तत्वहरुले नेपालको राष्ट्रिता, स्वतन्त्रता र स्वाधीनता माथि धावा बोली रहेका छन्, त्यसलाई मलजल हुने गरी दलाल पार्टीहरु लागि रहेका छन्,’ उनले भने। उनले विद्यार्थीहरु सचेत हुनुपर्ने बेला आइसकेको बताए।
केसीले पार्टी भित्रको विवाद वामपन्थी संकिर्णवादको संकेत भएको बताए। ‘आफ्नो कुनै क्रान्तिकारी लाइन दिन नसक्ने तर पार्टीले दक्षिणपन्थी लाईन लियो भन्ने प्रवृति नै वामपन्थी संकिर्णवादको उदाहरण हो,’ केसीले भने।
नेपालको शिक्षानीतिले विदेशीको दलाली र चाकडी गर्ने जनशक्ति तयार गरिरहेको उनको भनाइ छ। उनले अहिलेका सत्ताधारी नेतृत्व राजनीतिकरुपमा नै विचलित भइसकेकाले त्यस्तो नेतृत्वबाट सही शिक्षा नीति बन्नै नसक्ने दाबी गरे। उनले ओलीले संसद् विघटन गर्दै प्रतिगमनकारी कदम चाल्दा त्यसविरुद्धमा एक ठाउँमा भएको गठबन्धनले जनताको आकांक्षा अनुरुपको का मगर्न नसक्नु दु:खद भएको बताए।
अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा खुम्चदै गएको भन्दै आलोचना गरेको विषयमा आफूहरुले छानेर मात्रै मान्छे राख्ने गरेको बताए। उनले जनताको लागि काम गर्ने कार्यकर्ता र नेता बनाउन असफल भएको बताउँदै बदमासीलाई नराख्दा थोरै भएको हुनसक्ने उनको तर्क छ। नेता केसीले आफूहरु जनवादी व्यवस्थाको पक्षपोषक भएको दाबी समेत गरे।
‘हामी जनवादी व्यवस्थाको पक्षधर हौँ, तर यो संसदीयव्यवस्थाको विकल्प छैन। अहिले अन्यव्यवस्थाको सम्भव छ?,’उनले भने, ‘वामपन्थी संकिर्णवाद हाबी देखिएको छ।वामपन्थी संकिर्णवादलाई व्यवहारमा बुझ्न गाह्रो हुन्छ।’
सम्मेलनमा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी संगठनले गलत कुराको विरोध गर्ने तागत राख्नुपर्ने बताउँदै 'बा' प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए। नेपाल विद्यर्थी संघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेलले लामो समयदेखि एउटै एजेन्डामा विद्यार्थी आन्दोलन केन्द्रित भएकोले समस्याहरु समाधान हुन नसकेको बताए।
अनेरास्वयू केन्द्रीय उपाध्यक्ष यमराज पाण्डेले विद्यार्थीका एजेन्डा कमजोर बन्दै गएको बताए। सम्मेलनमा विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाही, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेललगायतले बोल्दै शिक्षा र स्वास्थ्य नि:शुल्क बनाउन जोड दिए।
शुक्रबारदेखि सुरु भएको अखिल छैटौंको सम्मेलन देशैभरका ६५ भन्दा बढी जिल्लाबाट प्रतिनिधि पर्यवेक्षक आएका छन्। सम्मेलन आइतबार नयाँ नेतृत्व चयन गर्दै सकिने छ।