बुटवल- लुम्बिनी प्रेस क्लबले प्रदान गर्ने भुवन स्मृति पर्यटन पत्रकारिता पुरस्कारबाट भैरहवाका पत्रकार कमल रायमाझी पुरस्कृत भएका छन्।
वरिष्ठ पत्रकार नारायण सापकोटाद्वारा स्थापित ५० हजार राशिको पुरस्कार शुक्रबार लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदान गरेका हुन्।
लुम्बिनी र यसआसपासको पर्यटन प्रवर्द्धन गर्न खोजमुलुक समाचार प्रकाशन र प्रसारण गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो। पत्रकार रायमाझी लुम्बिनी खबर र समता टेलिभिजनमा कार्यरत छन्।
कार्यक्रममा मुख्यमन्त्री केसीले पत्रकारिताको विकासका लागि सरकार सहयोगी बन्ने बताएका थिए। उनले अहिले संविधान कार्यान्वयन र संघीयतालाई बलियो बनाउने सवालमा पत्रकारिताले योगदान गर्नुपर्ने बताएका थिए।
पुरस्कारका संरक्षक वरिष्ठ पत्रकार नारायण सापकोटाले लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धन र विकासमा कलम चलाउनुपर्ने धारणा राखेका थिए।