काठमाडौं- वरिष्ठ अर्थोपेडिक सर्जन डा. गोविन्द केसीले यसअघि जारी गरिएको चिकित्सा शिक्षा अध्यादेश जस्ताको तस्तै ऐनको रूपमा पारित गर्न माग गरेका छन् ।
डा. केसीले बुधबार विज्ञप्ति जारी गर्दै अध्यादेश तोडमरोड गरेर प्रतिस्थापन विधेयक पारित भए १५ असारदेखि सत्याग्रहलगायत संघर्षका कार्यक्रम थाल्ने घोषणा पनि गरेका छन् । उनले आफ्नो १५ औं सत्याग्रहको स्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हुने बताएका छन् ।
‘अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म नै मर्ने गरी तोडमोड गरेर ल्याउन लागिएको सूचना प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तो कदम हामीलाई स्वीकार्य छैन ।’
निःशुल्क पीजीपछिको सेवा अवधि आफूसँग समझदारी भएबमोजिम दुई वर्ष कायम गर्नेबाहेक पहिले जारी भएको अध्यादेशमा कुनै परिवर्तन नगरी जारी गर्न डा. केसीले सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका छन् । ‘बारम्बार सम्झौता भएबमोजिम सरकारले काठमाडौंबाहिर प्रतिष्ठान वा सरकारी मेडिकल कलेज खोल्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन झारा टार्ने खालको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘किनभने प्रमुख राजनीतिक दलहरूको नियत नै देशमा स्वास्थ्य सेवा विस्तार गर्नेभन्दा पनि मेडिकल शिक्षाको व्यापारमा संलग्न नेताहरूको स्वार्थ पूरा गर्ने छ ।’
सोही कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौंपछि पनि एमबीबीएस विद्यार्थी भर्ना शुरु हुन नसकेको डा. केसीले औंल्याएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी गेटा मेडिकल कलेजको प्रगति उस्तै सुस्त रहेको उनको भनाइ छ । ‘पाँचथर–इलाम, डडेलधुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरू स्थापना गर्ने काम हुन सकेको छैन,’ विज्ञप्तिमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४