धनगढी- प्रदेश ७ सरकार बजेटमा देखिएको त्रुटी सच्चाउनेलगायतका विषयमा तयार भएपछि संसदको अवरोध हटेको छ ।
सरकार प्रतिपक्षले उठाएका मागमा सकारात्मक देखिएपछि तीन दिनदेखि अवरोध संसद् बैठक बुधबार शुरु भएको छ। प्रतिपक्षको विरोधका कारण प्रदेश सभा बैठक अवरोध हुँदै आएको थियो ।
प्रदेश सरकारले असार १ गते प्रदेश सभा बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटमा असहमती जनाउँदै प्रतिपक्ष दल नेपाली काँग्रेस र राजपाले संसद अबरुद्ध गर्दै आएका थिए ।
बुधबारको छलफलमा सरकारले प्रतिपक्षका मागलाई सकारात्मक रुपमा लिई गल्ति सच्चाउन तयार भएपछि संसदको अवरोध हटेको नेपाली कांग्रेसका संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले बताए । उनले भने,‘सरकारले हाम्रा मागलाई सकारात्मक रुपमा लिई कार्यान्वयन गर्ने भनेको छ, यसमा हामीबीच भद्र सहमती भएको छ, आगामी दिनमा के गर्छ हेर्दै जाउँ ।’
बुधबारको बैठकमा बिशेष समय लिएर नेपाली कांग्रेसका सांसद भरत खडकाले धारणा राखे । सरकारका तर्फबाट सामाजिक विकास मन्त्री दीर्घ सोडारीले धारणा राखेका थिए । मन्त्री सोडारीले प्रतिपक्षले उठाएका मागका बारेमा सरकार गम्भीर भएको र बजेटमा देखिएका त्रुटी सच्चाउन सरकार तयार रहेको बताए । उनले भने–‘हामी समग्र ७ नम्बर प्रदेशको विकासका लागि लागेका छौं, त्यहि अनुरुप बजेट ल्याएका छौं तर समय अभावमा बजेटमा केहि कमिकमजोरी देखिएका छन् ति सच्चाउन तयार छौं ।’
प्रदेश सरकारले असार १ गते प्रदेश सभा बैठकमा प्रस्तुत गरेको आर्थिक बर्ष २०७५÷०७६ को बजेट माथिको छलफल जारी छ । अब अर्को बैठक बिहीवार बिहान ८ बजे बस्ने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४