काठमाडौं- नेपाल तरुण दलले सरकारविरुद्ध शक्ति प्रदर्शन गरको छ। तरुण दल केन्द्रीय समितिको आयोजनामा बुधबार दिउँसो दुर्इ बजे रत्नपार्कस्थित शान्तिवाटिकामा सरकारले मूल्यवृद्धि र प्रेस स्वतन्त्रतामाथि दमन गरेको आरोपमा शक्ति प्रदर्शन गरिएको हो।
तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाहका अनुसार सरकारले अदालतको समेत अवहेलना गरेको र भ्रष्टाचार उकालो लागेको विरोधमा दिउँसो २ बजे शान्तिबाटिकामा प्रदर्शन गरिएको हो ।
सञ्चारमन्त्रीले शक्तिको आडमा नेपाल टेलिभिजनको कार्यक्रम नै बन्द गरी संविधानविपरित काम गरिरहेको तरुण दलको आरोप छ। शक्तिको दुरुपयोग गर्दै राज्यको चौथो अंग
प्रेसमाथिको हस्तक्षेप नेपाली जनतालार्इ सह्य नहुने कार्यक्रममा सहभागी वक्ताहरूले बताए।
सरकारले दुर्इ तिहाइको आडमा दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गरेर जनतालार्इ कंगाल बनाउन सरकार उद्यत भएको आरोप पनि तरुण दलको छ । तत्काल मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेको छ।
प्रदर्शनमा तरुण दलका केन्द्रीय पदाधिकारी, विभिन्न जिल्लाका प्रतिनिधि, काठमाडौंको सबै निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष, महानगर अध्यक्ष, नगर अध्यक्ष, एकाइ तथा सम्पूर्ण समितिका पदाधिकारीको उपस्थिति थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४