काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षकका मुद्दामा राज्य गम्भीर नभएको आरोप लगाएको छ। महासंघले विश्व शिक्षक दिवसका अवसरमा आयोजना गरेको भर्चुअल कार्यक्रममा महासंघका पदाधिकारीले शिक्षकका मुद्दामा राज्य गम्भीर नहुने र विभिन्न बहानाबाजी गरेर शिक्षकलाई उपहास गर्ने गरेको आरोप लगाएका हुन्। उनीहरूले चाडबाडका बेला आन्दोलन रोकिए पनि चाडबाड सकिनेबित्तिकै आफूहरूका माग पूरा गराउन आन्दोलन उत्कर्षमा पुर्याइने बताए।
महासंघको आन्दोलन परिचालन समितिका संयोजक पूर्णप्रसाद दवाडीले अहिले चाडबाडलाई दृष्टिगत गर्दै आन्दोलन स्थगित गरिए पनि चाडबाडलगत्तै शिक्षकका माग पूरा गर्न आन्दोलनलाई निरन्तर अघि बढाउने बताए।
उनले भने, ‘हामीले विश्व शिक्षक दिवसका अवसरमा शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल गर्नुपर्नेमा शिक्षक आन्दोलन र मागका विषयमा आवाज उठाउनुपरेको छ। शैक्षिक गुणस्तर विकासमा राज्यले शिक्षकलाई प्रोत्साहन गर्नुपर्नेमा उपहास गरेको छ। हाम्रा माग पूरा नभएसम्म निरन्तर आन्दोलनमा नै हुन्छौं।’ शिक्षकका माग पूरा गराउन निर्णायक आन्दोलनको आवश्यकता रहेको उनको भनाइ थियो।
‘शिक्षकले महामारीको समयमा सम्भव भएसम्म पढाउने काम गरेका छन्। शिक्षा मन्त्रालयले बजेट विनियोजन र मन्त्री नियुक्ति नभएको विषयलाई लिएर सरकारले शिक्षाका महत्त्वपूर्ण निर्णय अलपत्र पार्ने काम गरेको छ।’
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले कोभिड १९ को महामारी फैलिएसँगै बन्द भएको भौतिक कक्षालाई अनलाइन कक्षाका रुपमा लगिए पनि त्यो सफल रुपमा अभ्यास नभएको बताए। उनले शिक्षाका महत्त्वपूर्ण निर्णय अलपत्र पारेर शिक्षा मन्त्रालयले विभिन्न वहाना बनाउने गरेको आरोप लगाए।
उनले भने, ‘शिक्षकले महामारीको समयमा सम्भव भएसम्म पढाउने काम गरेका छन्। शिक्षा मन्त्रालयले बजेट विनियोजन र मन्त्री नियुक्ति नभएको विषयलाई लिएर सरकारले शिक्षाका महत्त्वपूर्ण निर्णय अलपत्र पार्ने काम गरेको छ।’ सरकारले ठोस योजना नबनाउने र एकअर्कालाई दोष लगाएर जिम्मेवारीबाट उम्कने प्रयास गरेको उनको भनाइ छ।
कार्यक्रममा नेपाल शिक्षक संगठनका अध्यक्ष राजेन्द्रराज पौडेलले शिक्षकलाई राज्यले हेर्ने दृष्टिकोणमा नै परिवर्तन गर्नुपर्ने बताए। त्यसका लागि सरकारलाई शिक्षकका मुद्दामा झकझकाउन आन्दोलन नै गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।