बुटवल- नेपाली राजनीतिमा चतुर राजनितिज्ञका रुपमा चिनिन्छन् पुष्पकमल दाहाल प्रचण्ड। बेलाबेला अप्रत्याशित निर्णय र सम्झौता गरेर आम नागरिकलाई चकित पार्ने अथवा झुक्याउने प्रचण्ड बदलिँदो राजनीतिको घनचक्करमा सबैभन्दा कठिन मोडमा आइपुगेका छन्।
तत्त्कालीन सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण, ०६४ को संविधानसभा निर्वाचनमा ठूलो दल, माओवादी पार्टी विभाजन, नेकपा एमालेसँगको पार्टी एकता गरि शक्तिशाली कम्युनिस्ट पार्टीको निमार्ण हुँदै नेकपा विभाजनसम्मको स्थितीमा प्रचण्ड केन्द्रमा छन्।
२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सुरु भएको लडाइँ अन्तत नेकपा विघटन भएर २०७५ जेठ २ को अवस्थामा माओवादी केन्द्र फर्कियो। प्रचण्डकै भाषामा केपी ओलीले गरेको ‘प्रतिगन परास्त’ भएको छ। प्रचण्ड र माधव नेपालले ओलीले संसद् विघटन गर्नुलाई प्रतिगमन भनेर संज्ञा दिएका छन्। सर्वोच्च अदालतले पनि उक्त कदमलाई असंवैधानिक करार गरेको छ।
सर्वोच्च अदालतले ओलीले प्रतिनिधिसभा विघटनलाई दुई पटक नै बदर गरिदिएपछि तत्कालीन नेकपाका प्रचण्ड-नेपाल समूहले राजनीतिक लडाइँ जितेको प्रचण्डको दाबी छ। अदालतले नै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने फैसला गरेको थियो ।
अहिले नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र माधव नेपाल नेतृत्वको नेकपा एकीकृतको समर्थनमा बनेको गठबन्धन सरकार छ। संसद् विघटनविरुद्धको लडाइँ, केपी ओलीको सरकार ढाल्न त प्रचण्ड सफल देखिएका छन्। तर, अब नजिकै आइसकेको स्थानीय तहको निर्वाचन, प्रदेश र संघको निर्वाचनको सामना कसरी गर्ने भन्ने प्रश्न प्रचण्डका लागि थप पेचिलो र चुनौतीपूर्ण देखिएको छ। प्रचण्डलाई जनयुद्धका धेरै सारथीहरुले क्रमश: छोड्दै गए। पहिलो संविधानसभाको निर्वाचन लगत्तै मोहन बैद्य किरण, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादलसहितका नेताहरु प्रचण्ड संसदीय भासमा डुबेको भन्दै अलग भए।
‘प्रचण्डको चार्तुयता र समयसापेक्ष रुपमा आफूलाई रुपान्तरण गरेकै कारण माओवादी टिकेको हो’ बुटवल बहुमुखी क्याम्पस राजनीति शास्त्रका प्राध्यापक डा. बुद्धबहादुर थापाले भने,‘गठबन्धन कायम नहुने हो भने अब आउने चुनावमा माओवादीलाई क्षति हुनसक्छ।’
दोस्रो संविधानसभाबाट संविधान घोषणा भएलगत्तै माओवादी पार्टीका एक प्रमुख पात्र डा. बाबुराम भट्टराई ‘माओवादी आन्दोलन’ ले प्राप्त गर्नुपर्ने उपलब्धि हासिल गरेको भन्दै नयाँ पार्टी गठन गर्ने भन्दै नयाँ शक्ति गठन गरेर अलग भए। प्रचण्डलाई 'सुप्रिमो' मान्ने कयौं कार्यकर्ता, लडाकू र पुराना नेताहरु समेत निराश भएर विभिन्न पेशा व्यवसायमा आवद्ध भइसकेका छन्।
एमालेसँगको एकता अघि पुन माओवादी केन्द्रमै फर्किएका रामबहादुर थापा बादलले समेत अहिलेको बदलिएको राजनीतिमा प्रचण्डको साथ छोडेका छन्।
एमालेसँगको पार्टी एकतापछि माओवादीबाट मालदार मन्त्रालय समाल्ने नेता बादल नै थिए। तर, नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र ब्युँतिए पनि बादलले भने ओलीको साथ छाडेनन्। बादल मात्रै होइनन् जनयुद्धका अर्का एक कमान्डर टोपबहादुर रायमाझी, सुदूरपश्चिमका अर्का प्रभावशाली नेता लेखराज भट्ट एमालेमै बसेका छन्। उनीहरुले जनताको बहुदलीय जनवादलाई स्वीकार गरिसकेका छन्। यी आधारमा पछिल्लो एक दशकयता माओवादी केन्द्र पार्टीमा शीर्ष नेतादेखि तल्लो तहको कार्यकर्तासम्ममा ठूलो क्षति पुगेको छ।
‘प्रचण्डको चार्तुयता र समयसापेक्ष रुपमा आफूलाई रुपान्तरण गरेकै कारण माओवादी टिकेको हो’ बुटवल बहुमुखी क्याम्पस राजनीति शास्त्रका प्राध्यापक डा. बुद्धबहादुर थापाले भने,‘गठबन्धन कायम नहुने हो भने अब आउने चुनावमा माओवादीलाई क्षति हुनसक्छ।’
उनले दलहरु जनताको मुद्दामा केन्द्रित नहुने हो भने त्यसले पनि दलहरुको हैसियत निर्धारण गर्ने बताए। गठबन्धन सरकारले नागरिकमा उत्साह जगाउने गरि काम गर्न नसकेको उनको ठहर छ।
प्रचण्डमा आक्रोश र निराशा
०६२-६३ सालको जनआन्दोलन यता प्रचण्ड नेपालको राजनीतिक शक्तिमा घुमिरहेका छन्। सशस्त्र युद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण मात्रै गराएनन्, प्रचण्डले माओवादीलाई जनमतको हिसाबले २०६४ को संविधानसभा निर्वाचनमा पहिलो पार्टी समेत बनाए। त्यसयता प्रचण्ड सत्ता र शक्तिको निर्णायक भूमिकामा छन्। तर, सदैव निर्णायक र शक्ति केन्द्रमा रहेका प्रचण्ड नेकपा विघटनपछि पूर्ववत अवस्थामा रहन्छन त? भन्ने प्रश्न उठेको छ।
नेकपा सर्वोच्च अदालतले खारेज गरेर २०७५ जेठ २ मा पुर्याएपछि एमाले र माओवादीका पूर्ववत कमिटीहरु परिचालित भएका छन्। दुई-दुई पटकसम्म संसद् विघटन गरेका एमाले अध्यक्ष ओलीविरुद्ध तत्कालीन नेकपामा प्रचण्ड र माधव नेपाल एकै ठाउँ उभिएका थिए। तर, एमाले र माओवादी ब्युँतिएपछि केही समय ओलीसँगै संघर्षमा बिताए नेपालले। अहिले नेता नेपालले एमाले विभाजन गरेर नेकपा एकिकृत समाजवादी पार्टी बनाएका छन्। पूर्वमाओवादीका नेताहरु एमालेमै छन्। माधव नेपाल अहिले अर्को नयाँ पार्टीको कमिटी विस्तारमा छन्। पार्टी विभाजन र सत्ताबाट ओर्लिएको ओली नेतृत्वको एमालेले भर्खरै विधान महाधिवेशन सम्पन्न गरेको छ।
एमालेले वडातहदेखि जनवर्गीय संगठनलाई चुस्त र दुरुस्त बनाउन कम्मर कसेर लागेको छ। प्रत्येक दिन ओलीले प्रचण्ड र माधव नेपालविरुद्ध कार्यकर्तालाई उचालिरहेका छन्। यी सबै राजनीतिक घटनाक्रमले आसन्न चुनावमा कसरी शक्तिशाली हुने भन्ने विषयले प्रचण्डलाई सबैभन्दा बढी पिरोलेको उनी निकट नेताहरु बताउँछन्। जनवर्गीय संगठनका भेला, प्रशिक्षणमा प्रचण्डले चरम निराशा र आक्रोश मिसिएको अभिव्यक्ति दिन थालेका छन्।
कुनै दिन 'मृत्यु की मुक्ति' भन्दै अब अन्तिम लडाइँका लागि तयार रहन कार्यकर्ता उचाल्छन् भने कहिले आत्मसर्पण गर्नुभन्दा आत्महत्या नै ठिक भन्दै निराशाजनक अभिव्यक्ति दिने गरेका छन्। तर, यी अभिव्यक्ति निराशा र आक्रोशको नभइ राजनीतिक परिदृश्यको वास्तविकता भएको माओवादी केन्द्रका पुराना नेता कमल चुँदालीको भनाइ छ। उनले प्रचण्ड 'डायनामिक' नेतृत्व भएकाले केपी ओलीले संविधान र लोकतन्त्र नामेट पार्न गरेका सबै हर्कतविरुद्ध आफूले गरेका कामहरु बताउँदा निराशाजनक अभिव्यक्ति दिएको जस्तो लागेको बताए।
प्रचण्डले प्राय: अब आउने चुनावसम्म नै वर्तमान सत्ता साझेदार गठबन्धन अघि बढ्ने बताउने गरेका छन्। जबकी कांग्रेस नेताहरुले सबै कम्युनिस्टविरुद्ध एक्लै चुनाव लड्ने बताइरहेका छन्।
‘प्रचण्डजी परिवर्तनको ऐजेन्डा बोक्ने र जनताको हितका निम्ति जस्तोसुकै कदम चाल्न सक्ने नेता हो,’ उनले भने। केपी ओलीले गरेको संसद् विघटनलाई स्वीकार गरेको भए आत्महत्या नै गरे सरह हुने तर्कका लागि भारतीय स्वतन्त्रता सेनानी चन्द्रशेखरको उदाहरण उनले दिए।
चुनावमा कांग्रेस सहितको गठबन्धनमा जोड
वर्तमान सत्ता राजनीतिको मुख्य मियोका रुपमा प्रचण्ड नै छन्। कांग्रेस सभापती शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि यो गठबन्धनको मुख्य निर्णायक शक्ति प्रचण्ड भएको कुरा मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइले पनि देखाउँछ। तर, अन्य बेलाजस्तो घुर्की लगाउने हैसियत यतिखेर प्रचण्डसँग छैन।
ओली सरकार अपदस्त गर्नका लागि कांग्रेस विना सम्भव थिएन। त्यसैले अहिले कांग्रेस माओवादीका लागि अपरिहार्य बनेको छ। प्रचण्डले प्राय अब आउने चुनावसम्म नै वर्तमान सत्ता साझेदार (कांग्रेस, माओवादी, जनता समाजवादी) गठबन्धन अघि बढ्ने बताउने गरेका छन्। जबकी कांग्रेस नेताहरुले सबै कम्युनिस्टविरुद्ध एक्लै चुनाव लड्ने बताइरहेका छन्।
२०७४ सालमा भएको स्थानीय तहको चुनावमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो। तर, पछि विचार र सिद्धान्तसमेत मेल नखाएको भन्दै प्रचण्डले नै सहमति तोडेर एमालेसँग चुनावी एकता गरेका थिए। विगतको यही उदाहरण पेश गर्दै कांग्रेसले सत्तागठबन्धनकै दलहरुसँग चुनावी तालमेल गर्ने पक्षमा देखिँदैन। कम्युनिस्ट शक्ति कमजोर भएको बेला कांग्रेस एक्लै चुनाव लड्ने पक्षमा छ।
एमाले विभाजन, माओवादी शक्तिमा क्षयीकरण, जनता समाजवादी पार्टी विभाजन जस्ता घटनाबाट प्रत्यक्ष फाइदा कांग्रेसलाई हुने देखिन्छ। तर, माओवादी अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भने केपी ओलीलाई परास्त गर्नका लागि भए पनि कांग्रेससँग चुनावी तालमेल गर्नुपर्ने पक्षमा छन्। प्रचण्ड निकट मानिने नेकपा माओवादी केन्द्रका नेता डिलाराम आचार्यले संविधान र लोकतन्त्र भन्दा ठूलो अरु केही नहुने भएकाले यो एक पटक कांग्रेससँग चुनावी तालमेल हुनसक्ने बताए।
‘केपी ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेससहितको शक्ति मिलेर लडेका हौं, यतिखेर लोकतन्त्र, संविधानको मुद्दा मूल विषय हो, त्यसैले चुनावमा गठबन्धन हुँदा आपत्ती जनाउनुपर्दैन,’ आचार्यले भने। माओवादी नेताहरुका अनुसार काँग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकिकृतविच मूल नेतृत्वमा गठबन्धन गर्ने गरी तयारी भइरहेको छ। ‘सकभर कांग्रेससहितको गठबन्धन बनाएर चुनावमा जाने हुन्छ, त्यसो नभए मुल नेतृत्वलाई जिताउने गरी गठबन्धन बन्छ,’ माओवादीका एक नेताले भने।
कम्युनिस्ट एकता होला?
एमालेसँगको एकता गर्नुको एउटा भित्रि रहस्य प्रचण्ड शक्तिशाली कम्युनिस्ट पार्टीको अध्यक्ष हुने लालसा पनि हो भनेर टिप्पणी गर्छन्। राजनीतिक सिद्धान्त र बोली व्यवहारमासमेत विपरीत धुव्रमा भएका ओलीसँग पार्टी एकता गर्ने प्रचण्डले फेरि पनि कुनै चमात्कारिक निर्णय गर्न सक्ने विश्लेषण पनि भइरहेको छ। नेकपामा ओलीसँगको विवादमा सँगै उभिएका माधव नेपाल र झलनाथ खनालसहितको समूहसँग माओवादी वैचारिक हिसाबले निकट छन्।
नेकपा माओवादी पार्टीको गत साउनमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले माधव नेपालसहितको कम्युनिस्ट एकता बनाउनेतर्फ केन्द्रित हुने गरी अघि बढ्ने बताएका थिए। त्यसो त प्रचण्डले माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकिकृत समाजवादी पार्टी निर्माण गर्न निकै धेरै मेहनत गरेको प्रतिक्रिया नै दिएका थिए।
‘राजनीति धुव्रीकृत भइसकेको छ, हिजो एमालेसँग एकता हुँदा पनि माओवादी छोडेकै हो, अब फेरि नयाँ ढंगले पूर्वमाओवादी र कम्युनिस्टहरुको एकता हुनसक्छ।’
देउवा नेतृत्वको सरकारले नेपाललाई सहज बनाउन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने सहजीकरणमा प्रचण्डले नै निर्णायक भूमिका खेलेका थिए। ‘माधव नेपाल नेतृत्वको पार्टीसँग धेरै कुराहरु मिल्छन्, हामी मजबुत मोर्चा बनाएर अघि बढ्नेमा शंकै छैन’ नेता तथा समन्वय सम्पर्क समितिका इन्चार्ज आचार्यले भने। उनले माओवादी केन्द्र अहिले आफ्नो संगठन र शक्ति निर्माणमा जुटेको बताउँदै कम्युनिस्ट एकता केन्द्र बनाउने सन्दर्भमा पनि छलफल भइरहेको बताए।
कम्युनिस्ट एकता केन्द्र बनाउने सवाल माओवादी नेताहरुले सोचेजस्तो सहज भने देखिँदैन। पूर्व माओवादी पृष्ठभूमिका नेताहरुबीच कार्यगत एकता भए पनि तत्काल एकता हुने सम्भावना निकै कम भएको लेखक तथा विश्लेषक मनिकर कार्की बताउँछन्। ‘बाबुराम भट्टराईले अलगधार समात्नुभएको छ, विप्लव र मोहन वैद्यहरुले पनि प्रचण्डको नेतृत्व यही परिस्थितीमा स्वीकार गर्ने देखिँदैन,’ उनले भने। उनका अनुसार राजनीतिक पृष्ठभूमिले भन्दा पनि वर्तमान राजनीति सिद्धान्तले अर्थ राख्छ। तर, पुराना माओवादीका नेता कमल चुँदालीले प्रचण्डले माओवादीलाई त्यागेर भए पनि त्यो एकता गर्नसक्ने बताउँछन। ‘राजनीति धुव्रीकृत भइसकेको छ, हिजो एमालेसँग एकता हुँदा पनि माओवादी छोडेकै हो, अब फेरि नयाँ ढंगले पूर्वमाओवादी र कम्युनिस्टहरुको एकता हुनसक्छ,’ उनले भने।
प्रचण्डको मुख्य जोड वाम प्रजातान्त्रिक गठबन्धनमै देखिन्छ। यदि त्यसो नभए माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र अन्य साना कम्युनिस्ट पार्टीहरुको चुनावी एकता गरेर भए पनि चुनावमा शक्ति सञ्चय गर्ने मनस्थितिमा देखिएको हो। तर, एमालेले आफ्नो गतिविधि वडातहसम्म आक्रामक ढंगले विस्तार गरेपछि भने चुनौती थपिएको छ।
उसै त प्रचण्डलाई अस्थिर नेताका रुपमा समेत आलोचना हुन्छ। हालै सम्पन्न नेकपा एमालेको विधान महाविधेवशनमा केपी ओलीको राजनीतिक प्रतिवेदनमा प्रचण्डलाई अस्थिरता अवसरवादीको रुपमा चित्रण गरेको छ। एमालेको मुख्य निशानामा प्रचण्ड नै छन्। प्रचण्ड आफ्नै माओवादीको शक्तिको मात्रै भर पर्छन की नयाँ चमात्कारिक निर्णय गर्छन्, त्यसको अग्निपरीक्षा सुरु भएको छ।