शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • मायाको अँगालोमा घामको तापको प्रभाव खोज्‍ने वैज्ञानिकलाई नोबेल पुरस्कार

मायाको अँगालोमा घामको तापको प्रभाव खोज्‍ने वैज्ञानिकलाई नोबेल पुरस्कार

माया गर्ने मानिसको अँगालोमा हाम्रो शरीरले कसरी न्यानोपना र घामको तापको प्रभाव महसुस गर्छ भनेर पत्ता लगाउने वैज्ञानिकहरुलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिएको हो।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं- सन् २०२१ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी चिकित्साशास्त्री डेभिड जुलियस र आर्डेम पाटापौटियनले संयुक्तरुपमा जितेका छन्। 

माया गर्ने मानिसको अँगालोमा हाम्रो शरीरले कसरी न्यानोपना र घामको तापको प्रभाव महसुस गर्छ भनेर पत्ता लगाउने वैज्ञानिकहरुलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिएको हो। 

उनीहरूले हाम्रो शरीरले कसरी शारीरिक स्पर्शलाई स्‍नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारे अध्ययन गरेका हुन्।

यो खोज दुखाइ निदान गर्ने उपचारका लागि महत्त्वपूर्ण हुने बताइएको छ। नोबेल पुरस्कार कमिटीका थोमस पर्लम्यानले 'यो अत्यन्तै महत्त्वपूर्ण र गहिरो खोज' भएको बताएका छन्।

क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जुलियसले हामीले पिरो खुर्सानी खाँदा किन पोलेको महसुस गर्छौं भन्‍ने विषयमा अध्ययन गरेका थिए।



उनले खुर्सानीलाई पिरो बनाउने रसायनको अध्ययन गरेका थिए। उनले हाम्रो शरीरका कोषका एक विशेष प्रकारको अंशले त्यो रसायनसँग प्रतिक्रिया गर्दा हामीलाई पोल्ने कुरा पत्ता लगाए। थप परीक्षणमा त्यही अंशले तापक्रमसँग प्रतिक्रिया जनाउने र पोल्ने तापक्रम हुँदा सक्रिय बन्ने उनले पत्ता लगाए। हामीले तातो चियामा हात हाल्दा यही अंश सक्रिय हुन्छ र हामीलाई पोलेको अनुभव हुन्छ।

यो खोजपछि तापक्रमसँग प्रतिक्रिया गर्ने अन्य कोषका अंशहरूको खोजी भयो। जुलियस र प्राध्यापक पाटापौटियनले चिसो हुँदा सक्रिय हुने अंश पनि पत्ता लगाए।



त्यस्तै पाटापौटियनले अर्को अध्ययन पनि गरिरहेका थिए। उनको अध्ययनले फरक खालका तर कुनै भौतिक दबाव वा स्पर्शले सक्रिय हुने कोषको अंश पत्ता लगाए। पुरस्कार कमिटीले उनीहरूको कार्यले 'हामीलाई हाम्रो स्नायु प्रणालीले कसरी तातो, चिसो वा भौतिक दबाव बुझ्‍न र त्यसका आधारमा वातावरणमा मिल्न सघाउँछ' भन्ने देखाएको बताएको छ।

यो ज्ञानले दुखाइ कम गर्ने उपचारमा सहयोग पुग्‍न विश्वास गरिएको छ। पुरस्कृत जोडीले आठ लाख ४५ हजार पाउन्ड रकम प्राप्त गर्नेछन्।

प्रकाशित: Oct 04, 2021| 18:39 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।