काठमाडौं- बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा मुद्दा चलाइएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईका सम्बन्धमा सर्वोच्च अदालतले आगामी कात्तिक १५ मा निर्णय सुनाउने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले सोमबार बहस सुनेपछि निर्णय सुनाउने दिन तोकेका हुन्। सर्वोच्च अदालतले कात्तिक १० सम्ममा बहस नोट पेस गर्न दुवै पक्षलाई आदेश दिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा ललितानिवासको १३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउन भूमिका खेल्ने १७५ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा चलाएको थियो। अख्तियारले उनीहरूमध्ये पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ११० जनालाई जरिवाना र कैद सजाय माग गरेको थियो भने ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएको थियो।
मुद्दा चलाइएकामध्ये कांग्रेस नेता गच्छदार तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारमा उपप्रधान एवम् भौतिक योजना तथा निर्माणमन्त्री थिए।