काठमाडौं– काठमाडौं उपत्यकामा सवारीसाधनमा पाकेटमारी र चोरी गर्ने २ सय ७ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। उपत्यकाको सुरक्षा व्यवस्थालाई मजबुत बनाई दसैंतिहारमा रिङरोड बाहिर र भित्री इलाकामा चल्ने सार्वजनिक यातायातहरु, सपिङ महल, मुख्यमुख्य बजार क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
विभिन्न कोड भाषा प्रयोग गरी पाकेटमारी तथा चोरी गर्दै गरेको अवस्थामा नगद, मोवाईल, गरगहना सहित उनीहरूलाई प्रहरीले फेला पारेको थियो। उनीहरूमध्ये ४६ जना अनुसन्धान पूरा भई सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउँदा कारागार चलान भएका छन् भने १ सय ६१ जनाउपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए। उनीहरूले सांकेतिक रूपमा विभिन्न कोड भाषाको प्रयोग गर्ने गरैको प्रहरीले जनाएको छ।
यस्ता छन् पाकेटमाराले प्रयोग गर्ने कोड भाषा
पीडित – रामे
पैसा – द
मोबाइल – कान
पाकेटमारा – मास्टर वा कासी,
पैसा धेरै छ – टानको द पैसा
पैसा थोरै छ– जुटको द
गाडी– काँचा
केटा– छापा
केटी– भद्री
पुलिस– ठूल्दाइ
ड्राइभर– माम
खलासी– मले
गाडीबाट झरेर भाग – टप्की
अगाडि जा– अकल जा
पछाडि जा – चिछल जा