काठमाडौ- जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएको घोषणा गरे । दुबै पार्टीका केन्द्रीय समिति बिघटन भए । तर तल्ला तहमा अझसम्म एकता भएको छैन । जनवर्गीय संगठन अलग छन् । तिनको पनि एकीकरणको मापदण्ड तयार हुदैछ ।
केन्द्रमा एक भए । तर तल्ला कमिटीहरु अलग अलग छन । अलग कार्यसमितिका पनि अलग कार्यालय छन् ।
एमाले र माओवादी अलग अलग स्कुलिङबाट आएका पार्टी हुन् । एमाले पनि सशस्त्र युद्धको षृष्ठभुमिबाट आएको भएपनि त्यो अहिलेका पुस्ताले इतिहासका रुपमा मात्र बुझ्छन् । तर माओवादीका अहिलेका नेता कार्यकर्ता सशस्त्र बिद्रोहका वर्तमान हुन् । उनीहरुले आफ्नो जिवनलाई मृत्युको नजिकबाट नियालेर फर्केका हुन् ।
त्यसकारण पनि यी दुई पार्टीका नेता तथा कार्यकर्ताको अन्तरघुलन पानी र तेल एकै ठाउ मिसाए जस्तो भएको छ ।
एमाले पृष्ठभूमिका नेता तथा कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय पेरिसडाँंडा जाँदा खुट्टा गलाउछन् भने माओवादी पृष्ठभूमिका कार्यकर्ता केन्द्रीय कार्यलय धुम्बाराहीलाई आफ्नो कार्यालय स्विकार गर्ने मनस्थितिमा देखिदैनन् ।
सबै बिषयलाई ख्याल गरेर पार्टीका शीर्ष नेताहरुले अहिले धुम्बाराही र पेरिस डाँडा दुबैलाई उत्तिकै प्रयोग गर्ने रणनीति लिएका छन् । त्यसैले बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीन गएको मौका पारेर कार्यबाहक अध्यक्षको हैसियतमा उत्तर कोरियाका राजदूतलाई पेरिसडाँडामा भेटेका थिए ।
नेपालको यो अभियानलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले समेत निरन्तरता दिने भएका छन् । उनले नियमित रुपमा पालैपालो दुर्बै तर्फ नेता तथा कार्यकर्तालाई भेट गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले सांसद तथा पार्टीका कार्यकर्ताहरुसँगको सम्बादका लागि कार्यतालिका नै बनाएर नियमित भेटघाटको समय व्यबस्थापन गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिका अनुसार प्रधानमन्त्री ओलीले प्रत्येक शुक्रबार राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुसँग भेटघाट गर्नेछन् । प्रदेशगत रुपमा पालैपालो सांसदहरुले अपरान्ह् ३ बजेदेखि ५ बजेसम्म सिंहदरबारस्थित कार्यालयमा भेटघाट गर्ने छन् ।
त्यस्तै, नेकपाका कार्यकर्ताहरुसँग भने प्रत्येक महिनाको १ गते र १५ गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडामा ११ बजेदेखि दिउँसो १ बजेसम्म पालैपालो भेटघाट गर्नसक्नेगरी समय व्यबस्थापन गरिएको विज्ञप्तिमा उल्लेख छ । तालिका अनुसार उनले १ गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र १५ गते पेरिस डाँडामा भेट गर्ने भएका छन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४