रूस- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत जारी समुह चरणको अन्तिम खेलमा आज आठ देश भिड्दैछन् । समुह इ र एफ को आज हुने खेलबाट ४ देश नकआउट चरणमा पुग्नेछन् ।
समुह इ बाट कोस्टारिका र समुह एफ बाट कोरिया बाहिरीसकेका छन् भने आजको खेलमा ६ देशले नकआउटमा पुग्नका लागि अन्तिम संघर्ष गर्नेछन् ।
समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेका जर्मनी र दक्षिण कोरिया भिड्नेछन् । कजान एरिना रंगशालामा हुने खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ ।
यस्तै बेलुका ७ः४५ मै समुह एफ मा रहेका मेक्सिको र स्विडेनबीच प्रतिस्प्रर्धा हुनेछ । यी दुई देशको खेल इकाटेरिनबर्ग एरिना रंगशालामा हुनेछ ।
आजको खेलमा स्विडेनलाई जित्नै पर्ने दवााव छ भने साविक विजेता जर्मनीलाई अघिल्लो चरणमा प्रवेश गर्न जितेर मात्र पुग्दैन अरु खेलमा पनि निर्भर हुनुपर्नेछ ।
मेक्सिकोलाई भने बराबरी गरे पनि काफि हुने छ । तर, कोरिया भने जिते पनि अघिल्लो चरणमा पुग्ने सम्भावना समाप्त भैसकेको छ ।
यो समूहमा मेक्सिको ६ अंकका साथ शीर्ष स्थानमा छ भने जर्मनी र स्विडेनको समान ३–३ अंक छ । स्विडने र मेक्सिकोसंग पराजित भएको कोरियाले भने एक अंक पनि जोड्न सकेको छैन् ।
यसैगरि आजै हुने समुह इ को खेलमा स्विट्जरल्याण्ड र कोस्टारिका तथा ब्राजिल र सर्बिया भिड्ने छन् ।
निज्नी नोभगोरोड रंगशालामा स्विट्जरल्याण्ड र कोस्टारिका भिड्दा स्पार्टक रंगशाला मस्कोमा ब्राजिल र सर्बिया आमुने सामुने हुनेछन् । दुबै खेल नेपाली समय अनुसार राती ११ः४५ मा हुनेछ ।
यो समूहमा ब्राजिल र स्विट्जरल्याण्डको ४–४ अंक भएपनि गोलअन्तरका आधारमा ब्राजिल अगाडि छ । सर्बिया तर, अघिल्लो चरणमा प्रवेश गर्न ब्राजिल र स्विट्जरल्याण्ड दुबैलाई यो खेल जित्नैपर्ने दबाब छ ।
३ अंक लिएर बसेको सर्बियाले आजको खेल जित्नुका साथै अरुको खेल पनि कुर्नु पर्नेछ । एक अंक पनि बटुल्न नसकेको कोस्टारिका भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४