काठमाडौं– नेपाली कांग्रेसका उपभासपति विमलेन्द्र निधिले आफू गृहमन्त्री हुँदा तत्कालीन भारतीय राजदूत रञ्जित रेलाई आईजीपी बनाउने भन्नेबारे कुनै राय नमागेको प्रष्ट पारेका छन्।
रेको नयाँ पुस्तक ‘काठमाडौं डिलेमा (रिसेटिङ इन्डिया–नेपाल टाइज)’ मा आफूलाई जोडेर आएको प्रसंगबारे निधिले प्रस्टीकरण दिएका हुन्।
आइतबार साँझ ट्विट गर्दै निधिले भनेका छन्, ‘म गृहमन्त्री हुँदा आईजीपी नियुक्तिका लागि भारतीय राजदूत वा कुनै राजदूतसँग रायसुझाव मागेको थिइनँ, माग्ने कुरा पनि होइन। यस्तो निराधार लेखाइप्रति घोर आपत्ति व्यक्त गर्दछु।’
रेले आफ्नो पुस्तकको १७ नम्बर पृष्ठमा आईजीपी नियुक्तिको विषयमा आफूले भोगेको घटना सम्झँदै लेखेका छन्, ‘बहालवाला प्रहरी महानिरीक्षकको पदावधि सकिँदै थियो। नेपालमा नयाँ आईजीपी चयन गर्नुपर्ने थियो। त्यही बेला गृहमन्त्रीले फोन गर्दै मसँग आईजीपीका दाबेदारहरुका बारेमा मेरो धारणा मागे।’ त्यतिबेला निधि गृहमन्त्री थिए।