काठमाडौं- कञ्चनपुरका रमेश सँग प्रेम बस्यो, रूपा तामाङ (नाम परिवर्तन)को । दुवै उपत्यकाबाहिरका थिए र काठमाडौंमा एउटै कोठामा बस्ने निर्णय लिए । उनीहरूको 'लिभिङ टुगेदर' करिब नौ महिनापछि सधैंका लागि टुंगियो ।
नेपाली युवा-युवतीबीच पनि 'लिभिङ टुगेदर' संस्कृतिको रूपमा हुर्किंदैछ । खासगरी, काठमाडौं र पोखरामा यस्ता जोडीहरू देखिन थालेका छन्, जो विवाह गर्दैनन् तर पति-पत्नीझैं सँगै बस्छन् ।
कमजोर आर्थिक अवस्थाको परिवारका सन्तान उच्चशिक्षा हासिल गर्न शहर प्रवेश गर्छन् । अनि, महँगीको मारबाट बच्न 'लिभिङ रिलेसनसिप' अपनाउँछन् ।
दुवैको परिवारबाट आउने खर्चबाट उनीहरूको जीवन त चल्छ । तर, कति जोडीका लागि त्यही सम्बन्ध अभिशाप बनेको छ । रूपा र रमेशको 'लिभिङ टुगेदर' त्यस्तै एक असफल प्रेम कहानी हो ।
मनोविद् करुणा कुँवरको भनाइमा सांस्कृतिक रूपमा बलियो परिवारका सन्तान 'लिभिङ टुगेदर'मा बस्दैनन् । त्यस्ता परिवारका सन्तानले एक जनासँग सेक्स र अर्कोसँग विवाह सोच्न पनि सक्दैनन् ।
'उनीहरू मात्र यस्तो सम्बन्धमा बस्न सक्छन्, जो मनोवैज्ञानिक रूपमा दृढ छन्,' उनी भन्छिन्, 'एकअर्कोलाई बुझेर मात्र विवाह गर्नुपर्छ भन्ने सोच हुन्छ, उनीहरूको ।'
उनका अनुसार लिभिङ टुगेदरमा बसेकाहरूले विवाहको ठूलो सपना बुनेका हुँदैनन् । 'धेरै कम पार्टनरमा भने केटी वा केटा एक जनाले मात्र पनि यौन सम्बन्ध भएपछि विवाह गर्न जरुरी छ भन्ने मान्यता राखेको देखिन्छ,' कुँवर भन्छिन्, 'दुवै जनाको धारणा मिल्न गए र केही समस्या नहुने भए वैवाहिक सम्बन्धमा बाँधिन पुग्छन् ।'
भविष्यमा आउने समस्या र परिणाम साहसपूर्वक सामना गर्नसक्छु भन्ने व्यक्ति मात्र लिभिङ टुगेदरमा बस्न रुचाउने उनको ठम्याइ छ ।
समस्या आएपछि केटाहरू फरार हुन्छन् र त्यसपछिको कठीन जीवन पनि केटी एक्लै सामना गर्नुपर्छ ।
अनि बाटो छुट्टियो
संघर्षपूर्ण जीवनमा एक्लैभन्दा नजिकको साथीसँग बस्दा सुख, दुःखमा साथ हुने मनोविज्ञानले पनि 'लिभिङ टुगेदर'तिर डोर्याउने गरेको मनोविद् कुँवर बताउँछिन् । रूपा र रमेश त्यस्तै संघर्षशील जोडी हुन् तर रमेशले त्यसको संवेदनशीलता नबुझ्दा उनीहरू विवाहसम्म डोरिएनन् ।
'हतारको काम लतार भनेजस्तै जीवनको महत्वपूर्ण निर्णय केही दिनको रमाइलोका कारण चकनाचुर भयो,' रूपा भन्छिन् । उनी एसएलसी दिएर ०६४ सालमा काठमाडौं आएकी हुन् । यहाँ आएर एक निजी कलेजमा भर्ना भइन्, कक्षा-११ मा । अहिले एमए चौथो सेमेस्टर अध्ययनरत छिन् ।
रमेशसँग प्रेम बस्यो । दुवै महँगीको पीडामा पिल्सिएका थिए । विवाह गरेर घरजम गरिहाल्ने अवस्थामा पनि थिएनन् । तर, आपसी प्रेमलाई साक्षी राख्दै सँगै बस्ने निर्णय लिए ।
सपनाको संसार सजाए, ८/९ महिना जिन्दगी मस्तसाथ बित्यो । दुवैका बाबु-आमालाई उनीहरू सँगै बस्न थालेको जानकारी थिएन । मायाले भरिपूर्ण थियो, संसार । रिसाउँदा फकाउने, खुशी हुँदा रमाउने । बाँकी थियो त केवल विवाह मात्र, जीवन पति-पत्नीझैं चलेको थियो ।
नौ महिनापछि रमेशमा एकाएक परिवर्तन देखिन थाल्यो । कोठामा एक दिन आए पाँच दिन हराउने गर्न थाले । यौन सम्पर्कका लागि जबर्जस्ती गर्ने, रिस उठ्यो कि हात उठाइहाल्ने । उनीसँग भएको सबै पैसा पनि लैजाने र उनलाई रित्तो बनाइदिने ।
यौन सम्पर्कका लागि उनले नाईं नास्ती गरिनन् । तर, आफूप्रतिको मायामा कमी देख्न थालिन् । र, विस्तारै रमेशप्रति मायाको भावना उनमा पनि कम हुन थाल्यो ।
त्यस कठीन घडीमा साथी सुष्माले उनलाई मद्दत गरिन् र उनकै घरमा गएर बस्न थालिन् । रमेशले उनलाई खोज्ने धेरै प्रयास गरेको पछि थाहा पाइन् । तर, वर्षदिनदेखि उनीसँग भेटेकी छैनन् । 'फेरि त्यो नर्कमा फर्किने सोच त के त्यो कहालीलाग्दो विगत सम्झन पनि चाहन्न,' रूपा भन्छिन् ।
'हतारको काम लतार भनेजस्तै जीवनको महत्वपूर्ण निर्णय केही दिनको रमाइलोका कारण चकनाचुर भयो ।'
उपहारमा बाँझोपन
काठमाडौं धापाखेल बस्ने प्रनिता क्षत्री (नाम परिवर्तन)को कथा बेग्लै छ । अमन (नाम परिवर्तन)सँगको दुई वर्षको लिभिङ रिलेसनसिप छुटेको वर्षदिन बित्यो । अहिले उनलाई लाग्छ, फिल्म र किताबमा देखे/पढेजस्तो 'रियल लाइफ'मा माया/प्रेम सहज रहेनछ ।
आफूलाई भन्दा ज्यादा अमनको 'केयर' गर्थिन्, उनले । आफूले गल्ति नगर्दा-नगर्दै पनि अमनले उनलाई छाडिदिए । 'मेरो मायामै कमी भयो कि,' प्रनिता भन्छिन् ।
एकअर्काका लागि मर्न पनि तयार हुने बाचा गर्दै उनीहरू घरपरिवारलाई समेत वास्ता नगरी डेरामा बस्न थालेका थिए । अमन ललितपुर चापागाउँका रैथाने हुन् भने प्रनिता धापाखेलकी ।
उनीहरूको जोडी अन्तरजातीय हो । दुवै जागिरे भएकाले घर छाडेर सँगै बस्न गाह्रो भएन । विवाह नभए पनि उनीहरू पति-पत्नीसरह थिए । माया-प्रेम साटासाट गर्दा गर्दै समय बितेको पत्तै भएन ।
अमनजस्तो प्रेमी पाउँदा प्रनिता आफूलाई भाग्यमानी ठान्थिन् । अमनको मायामा पनि कमी थिएन ।
अचानक उनी बिरामी परिन् । महिनावारीमा रगत धेरै बग्ने, थकान बढी हुने, जिउ सुन्निने, एलर्जी भएजस्तो फोका आउने, पेट दुख्ने, शरीर भारी हुने ।
अमन व्यस्त थिए । त्यसैले उनी एक्लै अस्पताल गएर जँचाइन् । दुई महिनाको फलोअपपछि चिकित्सकले शल्यक्रिया गरेर पाठेघर निकाल्नुपर्ने सल्लाह दिए ।
गर्भ निरोधक चक्कीहरूको निरन्तर प्रयोगका कारण उनको पाठेघर काम नलाग्ने भइसकेको थियो । र, पाठेघरमा मासु पनि पलाएको थियो ।
आफूखुशी प्रेमीसँग बसेका कारण घरमा खबर गर्नु सबैभन्दा कठीन थियो । तर, भाइ-बहिनीसँग त्यसबीचमा पनि कुराकानी भइरहने भएकाले घरमा खबर पठाउन केही सहज भयो ।
'बुवा लिन आउनुभयो र दुई वर्षपछि म घर फर्किएँ,' प्रनिता भन्छिन्, 'अमन मलाई हेर्न दुई पटक अस्पताल आए । र, त्यो नै हाम्रो अन्तिम भेट बन्यो ।'
त्यसपछि केही नबोली अमन टाढिए, प्रनितासँग । जीवन र मृत्युबीच फसिरहेकी प्रेमिकाप्रति कुनै दायित्व सम्झिएनन् । जुन बेला आवश्यकता थियो, त्यही बेला प्रनितालाई एक्लै छाडिदिए ।
'शायद उसका लागि म नचाहिने भइसकेकी थिएँ किनकि म अब सन्तान जन्माउन नसक्ने अवस्थामा पुगेकी थिएँ,' उनी भन्छिन्, 'बाँझोपना मेरो जिन्दगीको सबैभन्दा ठूलो शत्रु बन्यो ।'
'के त्यो मेरो मात्र गल्तिका कारण भएको थियो त ?' उनलाई यस प्रश्नले चिमोटिरहन्छ, घरिघरि । तर, लडेर उठ्न र आफूलाई सम्हाल्न जानिसकेकी छन्, उनले अब । अहिले शिक्षण र फेसन डिजाइनिङलाई एकसाथ अगाडि बढाएकी छन् । र, आफूलाई फेसन डिजाइनरका रूपमा स्थापित गराउने प्रयासमा छिन् ।
'उसका लागि म नचाहिने भइसकेकी थिएँ । किनकि, बाँझोपना मेरो जिन्दगीको सबैभन्दा ठूलो शत्रु बन्यो ।'
स्त्रीरोग विशेषज्ञ डा. अरुणा उप्रेती भन्छिन्, 'सबै लिभिङ टुगेदरमा ह्याप्पी इन्डिङ हुँदैन । र, पीडित सधैं केटी नै हुने गरेका छन् ।' उनको भनाइमा पीडामा परेका केटीलाई न्याय दिलाउने कानुन नेपालमा बनेको छैन ।
२/४ दिनको रमाइलोका कारण केटीले भविष्यमा बाँझोपन, पाठेघरमा प्वाल पर्ने, 'हाइपोभोलिमिक सक' र ज्यानै जाने जोखिम पनि उठाउनुपर्छ । 'समस्या आएपछि केटाहरू फरार हुन्छन् र त्यसपछिको कठीन जीवन पनि केटी एक्लै सामना गर्नुपर्छ,' उप्रेती भन्छिन् । त्यसैले उनी यस्तो सम्बन्धलाई गलत मान्छिन् ।
सात वर्षदेखि 'लभ'मा
प्रमिला र सुमन (दुवै नाम परिवर्तन) काठमाडौंका रैथाने नेवार समूदायका हुन्, जो सात वर्षदेखि 'लभ रिलेसनसिप'मा छन् । दुवै दुई वर्षअघि अस्ट्रेलिया पुगेका छन् र 'लिभिङ टुगेदर'मा छन् ।
उनीहरूबीचको 'लभ' परिवारको जानकारीमा छ । र, सँगै बस्न थालेको पनि लुकाएका छैनन् । प्रमिला भन्छिन्, 'नेपालमा बिताएका यादहरू अझै पनि ताजा छन्, अब मायामा पहिलेको जस्तो त्यो मिठास कहाँ ।'
काठमाडौं छउन्जेल खुबै 'डेटिङ' जान्थे, गिफ्ट साटासाट गर्थे । जिन्दगी निकै रमाइलो थियो । स्कुल छुट्टि भएपछिका भेट र स्कुल बसमा आधा घण्टा बिताउँदाका पलहरू उनको मनमा आइरहन्छन् ।
सुमनले आफूसँगैको सिट प्रमिलाका लागि रोक्थे । साथीहरूले सधैं जिस्क्याउँथे, दुवैलाई । कलेज पनि सँगै पढे । कक्षामा बस्नेभन्दा 'बंक' गर्ने बानी लाग्यो ।
दुवैका घरमा उनीहरूको 'लभ'बारे जानकारी थियो, शुरुदेखि नै । त्यसैले घुम्न र डेटिङ जान गाह्रो पर्दैनथ्यो । दुवै एकअर्काको घरमा आउजाउ गरिरहन्थे ।
अस्ट्रेलियामा उनीहरूको दिनचर्या व्यस्त छ । व्यस्तताका बीच पनि सँगै भएकामा उनीहरू सन्तुष्ट छन् । 'यहाँ एक्लै बसियो भने त मानिस पागल हुन बेर छैन,' सुमन भन्छन् ।
सँगै बसेपछि यौन सम्बन्ध सामान्य विषय बनेको छ । सुमनको भनाइ छ, 'जस्तो देश उस्तै भेष ।' केही वर्षपछि स्वदेश फर्केर विवाह गर्ने सोचमा छन् । अहिलेलाई भने 'लिभिङ रिलेसन'मै रमाएका छन् ।
अस्ट्रेलियामा एकसाथ
सीमा र राज (नाम परिवर्तन) स्नातक उत्तीर्ण भएपछि दुवै अस्ट्रेलिया पुगेका छन्, वर्षदिनअघि । नेपालमा पनि उनीहरू करिब तीन वर्ष 'लिभिङ रिलेसनसिप'मा थिए ।
सीमाको घर डडेलधुरा र राज काठमाडौंकै रैथाने हुन् । सीमा आफ्नो कोठाभन्दा बढी राजकै घरमा बिताउँथिन् । एक्लै कोठामा बस्न र खाना खान अल्छी लाग्थ्यो, उनलाई । राजका बाबु-आमा काठमाडौंका ठूलै व्यापारी हुन् । उनीहरूको अधिकांश समय विदेशमै बित्थ्यो । सोही कारण घरमा सँगै बस्न उनीहरूलाई समस्या थिएन ।
नेपाल र अस्ट्रेलिया गरी चार वर्ष 'लिभिङ टुगेदर'मा छन्, विवाह गरेका छैनन् । राजका बाबु-आमा आधुनिकता र फरक जीवनशैलीमा विश्वास गर्छन् । र, जमानाअनुसार चल्नुपर्ने मान्यता राख्छन् । आपसमा प्रेम र समझदारी भए सँगै बस्दा फरक नपर्ने खुला विचार राख्छन्, उनीहरू ।
'शुरुमा मेरोे परिवारबाट केही बाधा आएको थियो, बिनाविवाह सँगै बसेर छोरीले नाक काटिदिई भनेर बाबा कराउनु हुन्थ्यो,' सीमा भन्छिन्, 'बाबालाई सम्झाउन धेरै गाह्रो भएको थियो । अहिले पनि कहिले विवाह गर्ने भनेर पटक-पटक सोधिरहनु हुन्छ ।'
दुवै परिवारको सहमतिमा उनीहरूको प्रेम स्वच्छन्द आकाशमा विचरण गरिरहेको छ । दुवै व्यस्त छन्, काममा र मस्त छन् प्रेममा । यौन सम्पर्क सामान्य विषय बनेको छ । फुर्सद मिल्यो कि घुम्न निस्किन्छन् ।
'हामीबीच सबै कुरा सेयरिङ हुन्छ, सेक्स ठूलो कुरा भएन । जे होस्, वी आर ह्याभिङ फन एन्ड इन्जोइङ आवर लभ लाइफ,' सीमा भन्छिन् ।
मनोविद् गोपाल ढकालको भनाइमा नेपालमा यस्तो सम्बन्ध अझै सर्वस्वीकार्य बन्न सकेको छैन । 'र, यसको बहानामा बलात्कारका घटना बढेका छन्,' उनी भन्छन्, 'समाजले प्राथमिकता दिने तथा ईपीएच र मनोवैज्ञानलाई स्कुलदेखि पाठ्यक्रममा समावेश गर्न सकियो भने समस्याहरू हटाउन सकिन्छ ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४