बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राधेश्याम सराफले अफसोर कम्पनीबाट लगानी गरेर यसरी कब्जा गरे हायात

राधेश्याम सराफले अफसोर कम्पनीबाट लगानी गरेर यसरी कब्जा गरे हायात

सराफमाथि नेपालमा पनि होटलका नाममा सरकारी जग्गालाई अनियमित रूपमा कम्पनीका नाममा दर्ता गरेको, नेपाली स्रोतमाथि अनियमित दोहन गरेको र गैरकानूनी ढंगले सरकारको सेयर हत्याएको आरोप लागेको छ।
 |  आइतबार, असोज १७, २०७८

रामु सापकोटा र कृष्ण आचार्य

रामु सापकोटा र कृष्ण आचार्य

आइतबार, असोज १७, २०७८

विभिन्न कालखण्डका अनेकन् सरकारी/सार्वजनिक प्रतिवेदन अनुसार तारागाउँ रिजेन्सी होटल सञ्चालनमा हरतरहले कानुन उल्लंघन गर्दै आएको राधेश्याम सराफ परिवारले यहाँको आम्दानी विदेश पुर्‍याएर खोलेका अफसोर लगानीका कम्पनीहरूमा राखेको ‘प्यान्डोरा पेपर्स’ले खुलाएको छ। 

नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफ र उनको परिवारले शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिश भर्जिन आइल्यान्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ। याक एन्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेड सञ्चालन गर्दै आएका भारतीय नागरिक सराफ, उनका दुई छोरा र श्रीमतीले अफसोर कम्पनी खडा गरी कारोबार गरेको फेला परेको हो। 

सराफमाथि नेपालमा पनि होटलका नाममा सरकारी जग्गालाई अनियमित रूपमा कम्पनीका नाममा दर्ता गरेको, नेपाली स्रोतमाथि अनियमित दोहन गरेको र गैरकानूनी ढंगले सरकारको सेयर हत्याएको आरोप लागेको छ। 

बौद्धस्थित तारागाउँ रिजेन्सी होटल परियोजना निर्माण गर्दा दोब्बर भन्दा बढी लागत देखाएर अनियमितता गरेको आरोप सराफमाथि छ। यो विषयमा संघीय संसद, महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पर्यटन मन्त्रालयले समेत अध्ययन गरेर अनियमितता भएको प्रतिवेदन तयार पारेका छन्। 

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) को ‘प्यान्डोरा पेपर्स’का गोप्य कागजातले सराफ तथा उनको परिवारले अफसोर कम्पनी मार्फत शंकास्पद कारोबार गरेको खुलासा गरेको हो। सराफले ब्रिटिश भर्जिन आइल्यान्डस्थित पिग्नोलो लिमिटेडमा लगानी गरेको कागजातहरूले देखाउँछन्। 

सराफ भारतीय नागरिक हुन्। कागजातहरूमा उनी बस्ने ठेगाना र पासपोर्ट जारी भएको स्थान हङकङ उल्लेख छ।

आईसीआईजेबाट प्राप्त कागजातहरूका अनुसार सराफ भारतीय नागरिक हुन्। कागजातहरूमा उनी बस्ने ठेगाना र पासपोर्ट जारी भएको स्थान हङकङ उल्लेख छ। पिग्नोलो कम्पनी बैंक, बीमा वा पुनर्बीमा, म्युचुअल फन्ड लगायत व्यवसाय गर्ने गरी दर्ता भएको देखिन्छ। यो कम्पनीमा ब्रिटिश भर्जिन आइल्यान्डमा रहेको इलनबर्ग ग्लोबल एसको पनि लगानी छ। 

युरोपेली मुलुक लिक्चेन्स्टाइनको एलईडी सर्भिस स्टाब्लिसमेन्ट कम्पनीमा इलनबर्गको १०० कित्ता सेयर छ। 

अफसोर कम्पनीमा गोप्य लगानी गर्ने काममा राधेश्यामका दुई छोरा र श्रीमतीको पनि संलग्नता देखिन्छ। प्यान्डोरा पेपर्सका अनुसार राधेश्यामका कान्छा छोरा उमेश सराफले क्यारेबियन समुद्र तटमा रहेको मध्य अमेरिकी मुलुक बेलिजमा सन् २००६ मा ‘द डेभिटा ट्रष्ट’ नामक कम्पनी खोलेको भेटिएको छ। उनका जेठा छोरा अरुण सराफले एकल स्वामित्वमा सन् २००६ मा बेलिजमै ‘द भरुनिसा ट्रष्ट कम्पनी’ खोले। राधेश्यामका यी दुवै छोरा भारतीय नागरिक रहेको आईसीआईजेबाट प्राप्त कागजातहरूले देखाउँछन्। 

द डेभिटा ट्रष्ट र द भरुनिसा ट्रष्टमा राधेश्यामका छोराहरूको लगानी रहेको देखिने कागजातहरूलाई काठमाडौंस्थित भारतीय दूतावासले ‘कागजातहरूमा भएको विवरण तथा सामग्रीको कुनै जिम्मेवारी नलिने’ भन्दै प्रमाणीकरण गरिदिएको छ। कम्पनी खोल्ने काममा बेलिजकै अल्कोगल नामक ल फर्मले सहजीकरण गरिदिएको हो।

१८ मार्च २०१३ मा भएको एउटा सहमतिपत्र अनुसार अर्को ट्याक्स हेभन मुलुक मरिससमा राधेश्याम र उनकी श्रीमती रत्ना सराफले सराफ होटल्स लिमिटेड खोलेको पाइएको छ। त्यही सहमतिपत्र अनुसार १० जनवरी २००७ मै राधेश्याम र उनकी श्रीमती रत्नाले कम्पनीको सेयर उनका छोरा अरुणको स्वामित्वमा रहेको द भरुनिसा ट्रष्टमा रूपान्तरण अर्थात् बिक्री गरेको देखिन्छ। 

सराफ परिवारले ट्याक्स हेभन मुलुकमा खोलेका कम्पनीहरू उनीहरूकै लगानी रहेका भारतका विभिन्न कम्पनीसँग समेत अन्तरसम्बन्धित छन्। सन् २०११ मार्चमा भएको एउटा निर्णय अनुसार सराफ होटल्स लिमिटेडको एक लगानीकर्ता कम्पनी भारतको मुम्बईस्थित जुनिपर होटल्स प्रालि र सन् २०१० अक्टोबरमा भएको निर्णय अनुसार अर्को लगानीकर्ता भारतको मुम्बईस्थित चार्टर्ड होटल्स प्रालि रहेको देखिन्छ। 

त्यस्तै सन् २०१० को जनवरीमा एजेन्ट कम्पनी अल्कोगलले स्ट्यान्डर्ड चार्टर्ड बैंकका नाममा पत्र लेख्दै सराफ होटल्स इन्भेस्टमेन्ट लिमिटेडमा द भरुनिसा ट्रष्टको पूरै स्वामित्व रहेको उल्लेख गरेको छ। 

राधेश्यामले भरुनिसालाई एक अमेरिकी डलरका दरले २ हजार ६५० कित्ता साधारण सेयर बिक्री गरेका छन् र, यसबाट प्राप्त रकम सराफ होटल्स लिमिटेडका नाममा भुक्तानी गरिएको छ। सोही परिमाणकै साधारण सेयर उनकी पत्नी रत्नाले पनि भरुनिसालाई बिक्री गरेकी छन्।

आईसीआईजेबाट प्राप्त गोप्य कागजात अनुसार राधेश्यामले भरुनिसालाई एक अमेरिकी डलरका दरले २ हजार ६५० कित्ता साधारण सेयर बिक्री गरेका छन् र, यसबाट प्राप्त रकम सराफ होटल्स लिमिटेडका नाममा भुक्तानी गरिएको छ। सोही परिमाणकै साधारण सेयर उनकी पत्नी रत्नाले पनि भरुनिसालाई बिक्री गरेकी छन्। 

शुरूमा सराफ होटल्स लिमिटेडले राधेश्याम र उनीका श्रीमती रत्नाका नाममा कुल ५ हजार ३०० कित्ता सेयर जारी गरेको थियो। त्यसपछि उनीहरूले सराफ होटल्सको सेयर लगानीकर्ताका रूपमा द भरुनिसा ट्रष्टलाई ऋण बापत केही रकम दिए। यस्तै, राधेश्याम र उनकी पत्नीले द डेभिटा ट्रष्टमा एक अमेरिकी डलरका दरले पाँच–पाँच हजार साधारण सेयर हस्तान्तरण गरेको पाइएको छ। 

नेपालका होटलमा अफसोरबाटै विदेशी लगानी

ब्रिटिश भर्जिन आइल्यान्ड, बेलिज, मरिसस जस्ता ‘ट्याक्स हेभेन’ मुलुकमा कम्पनी खोलेका सराफ र उनका परिवारका सदस्यले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा अर्को ट्याक्स हेभन मुलुक हङकङबाट विदेशी लगानी भित्र्याएको देखिन्छ।  

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको आर्थिक वर्ष २०७३÷७४ को २१औं वार्षिक प्रतिवेदन अनुसार उक्त कम्पनीको सञ्चालक समितिमा राधेश्याम सराफ, राधेश्यामका छोरा अरुण, नाति बरुण र उमेश साथै सुरेशलाल श्रेष्ठ, कमलादेवी श्रेष्ठ, राजेशलाल श्रेष्ठ, इन्द्रप्रसाद राजभन्डारी, श्रीवत्स शमशेर राणा र दिजा श्रेष्ठको नाम छ। 

रिजेन्सी होटल्स लिमिटेडको १९औं वार्षिक साधारण सभाको माइन्युट अनुसार साधारण सभामा बरुण र अरुण हङकङस्थित डोमिनियन इन्भेस्टमेन्ट लिमिटेडका प्रतिनिधिका रूपमा उपस्थित भएको कागजातहरूले देखाउँछन् जसको ती कम्पनी मार्फत तारागाउँ रिजेन्सीले सञ्चालन गरेको हायात इन्टरनेशनल लिमिटेडमा लगानी छ। 

शुरूको सम्झौता अनुसार राधेश्याम वैदेशिक लगानीकर्ता हुन्। उनले लगानी भित्र्याउन नेपाल सरकार अन्तर्गतको उद्योग विभागको अनुमति चाहिन्छ र नेपालको मुनाफा विदेश लैजान विभागको सिफारिशमा राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ। तर उनीहरूले दुवै निकायबाट अनुमति लिएका छैनन्।

अफसोर लगानीबारे सराफसँग सम्पर्क गर्दा फोन उठाएनन्। उनलाई फोनमा ‘म्यासेज’ समेत गरेर सोध्दा समेत कुनै प्रतिक्रिया आएन। तेस्रो पटक उनलाई सम्पर्क गर्दा उनको फोन अफ थियो। 

अफसोर कम्पनीसँग एडीबीको कारोबार

सराफले नेपालमा सञ्चालन गरेका होटललाई एसियाली विकास बैंक (एडीबी) ले ऋण दिएको भेटिएको छ। १३ फेब्रुअरी १९९३ मा एडीबी र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका बीचमा ऋण सम्झौता भएको थियो। एडीबीकोे ऋणलाई पछि सेयरमा परिणत गरियो। उक्त सेयरलाई एडीबीले हङकङस्थित डोमिनियन इन्भेस्टमेन्ट लिमिटेड, ब्रिटिश भर्जिन आइल्यान्डको डोमिनियन इन्भेस्टमेन्ट लिमिटेड र क्रिस्टल शप नाम गरेका कम्पनीलाई बिक्री गरेको खुलेको छ। सेयर खरीद गर्ने कम्पनीमा राधेश्याम र उनका परिवारका सदस्य नै संलग्न छन्। 

१० फागुन २०६४ को पत्र अनुसार एशियन फाइनान्स एन्ड इन्भेस्टमेन्ट कर्पोरेसनले ५ लाख ६७ हजार ५०० कित्ता सेयर ब्रिटिश भर्जिन आइल्यान्डको डोमिनियन इन्भेस्टमेन्ट लिमिटेडलाई बिक्री गर्ने सहमति गरेको थियो।

८ पुस २०६७ को पत्र अनुसार उद्योग विभागले जयस पटेल (द क्रिष्टल शप)लाई २३ हजार ५६० कित्ता हकप्रद सेयरमध्ये ९ हजार ४२४ कित्ता सेयर प्रवीणलाल श्रेष्ठ र १४ हजार १३६ कित्ता सेयर विश्वरत्न शाक्यलाई खरीद–बिक्री गर्ने सैद्धान्तिक सहमति दिएको थियो। 

विभागले तीन वर्षपछि फेरि जयस पटेल (द क्रिस्टल शप)को नाममा रहेको २३ हजार ५६० कित्ता सेयर बिक्री गर्ने अनुमति दियो। होटल निर्माणका क्रममा पारिश्रमिक भुक्तानी गर्नुपर्ने कम्पनीलाई रकमको साटो सेयर बाँडेकाले जयसले सेयर पाएका हुन्। 

तारागाउँ विकास समितिले कम्पनीमा गरेको लगानीबारे छानबिन गर्न पर्यटन मन्त्रालयबाट गठित समितिले २०७३ सालमा तयार पारेको प्रतिवेदन अनुसार, तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा ऋण लगानी बापत एसियाली विकास बैंकको एशियन फाइनान्स एन्ड इन्भेस्टमेन्ट कर्पोरेसनले आफ्नो नाममा भएको सेयर विदेशमा रहेका कम्पनीहरूलाई बेच्यो। १० फागुन २०६४ मा उद्योग विभागबाट सहमति लिई उक्त कर्पोरेशनले हङकङमा रहेको डोमिनियल इन्भेस्टमेन्ट्स लिमिडेटलाई ५ लाख ६७ हजार ५०० कित्ता सेयर बिक्री गर्‍यो।

तारागाउँ विकास समितिले कम्पनीमा गरेको लगानीबारे छानबिन गर्न गठन भएको समितिले २०७३ सालमा तयार पारेको प्रतिवेदन अनुसार प्रवीणलाल श्रेष्ठ आईसीटीसी ग्रुपमा आवद्ध र शाक्य होटल याक एन्ड यतीका विश्वासिला कर्मचारी भएको उल्लेख गरेको छ। ऋण तिर्न नसकेको भनी विदेशी कम्पनीलाई दिएको सेयर सराफ/श्रेष्ठ समूहले विदेशमा आफू निकटका व्यक्तिका नाममा खरीद गरेका थिए। 

‘एडीबीबाट आएको भनिएको लगानीको स्रोत स्पष्ट र पारदर्शी हुनसकेको देखिन आएन।’ प्रतिवेदनले कम्पनीले राष्ट्र बैंक मार्फत प्रयोजन खुलाई रकम भित्र्याउनुपर्नेमा अनुमति नलिएको पनि उल्लेख गरेको छ।

सेयर खरीदबिक्री र नेपालमा रकम भित्र्याएको विषयलाई संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि प्रश्न उठाएको थियो। २०७५ सालको समितिको प्रतिवेदन अनुसार एसियाली विकास बैंक, एशियन फाइनान्स एन्ड इन्भेस्टमेन्ट कर्पोरेशन लिमिटेड र कोरियन डेभलपमेन्ट बैंकसँग तारागाउँ विकास समितिले ऋण सम्झौता गरेको थियो। सन् १९९६ जून २६ मा भएको सम्झौता अनुसार तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले १ करोड ३८ लाख ३० हजार अमेरिकी डलर ऋण सम्झौता गर्‍यो। 

सोही प्रतिवेदन भन्छ, ‘एडीबीबाट आएको भनिएको लगानीको स्रोत स्पष्ट र पारदर्शी हुनसकेको देखिन आएन।’ प्रतिवेदनले कम्पनीले राष्ट्र बैंक मार्फत प्रयोजन खुलाई रकम भित्र्याउनुपर्नेमा अनुमति नलिएको पनि उल्लेख गरेको छ।

यसरी हत्याए सराफले हायातको सेयर 

‘हायात होटल’को ब्रान्डबाट बौद्धमा ‘तारागाउँ रिजेन्सी होटल्स लिमिटेड’ सञ्चालन गर्न अरुणकुमार सराफ र नेपाली व्यवसायी दिनेशलाल श्रेष्ठबीच १० पुस २०४८ मा समझदारी भएको थियो।

जानकारहरूका अनुसार सम्झौता लगत्तै सराफ दरबार र शक्ति केन्द्रको सधैं नजिक रहे। सराफले प्रजातन्त्र आउने वित्तिकै नेपालको पर्यटन क्षेत्रको विकासका लागि विदेशबाट लगानी भित्र्याउने र राम्रो पाँचतारे होटल खोल्ने प्रस्ताव अघि सारेका थिए।

त्यसपछि ५ जेठ २०५१ मा तारागाउँ रिजेन्सी होटल्स लिमिडेटले एसियाली विकास बैंकसँग ऋण लिने सम्झौता गर्‍यो। त्यसपछि सराफ/श्रेष्ठ समूहको सेयर रकम २५ करोड ७५ लाख रुपैयाँ भयो। 

तर, करीब ५ करोड रुपैयाँ बराबरको सेयर, ब्रान्ड बापत हायात इन्टरनेशनल कर्पोरेसनले पाउनुपर्नेमा उसले नलिएपछि त्यो पनि सराफ/श्रेष्ठ समूहले लियो र उक्त समूहको सेयर ३० करोड ७५ लाख रुपैयाँ पुग्यो। योसँगै तारागाउँको सेयर २२.८५ प्रतिशत र सराफ/श्रेष्ठ समूहको सेयर ४१.३२ प्रतिशत पुग्यो। 

होटलको सम्पूर्ण संरचना बनिसक्दासम्म अनुमानित लागत रु.१ अर्ब ५० करोड रहेको परियोजनाको लागत रु.३ अर्ब ४ करोड पुगिसकेको थियो। 

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ३ बमोजिम विदेशी लगानी गर्नुभन्दा अघि उद्योग विभागको स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था छ’ वर्तमान सभामुख अग्नि सापकोटाको नेतृत्वमा दुई वर्षअघि गठित संसदीय छानबीन प्रतिवेदनमा भनिएको छ,

यसबारे छानबीन गर्न पर्यटन मन्त्रालयले तारागाउँ विकास समितिका अध्यक्ष नारद लुइँटेलको संयोजकत्वमा अध्ययन समिति गठन गर्‍यो। 

लुइँटेल समितिको प्रतिवेदन अनुसार, सराफ÷श्रेष्ठ समूहले बनिसकेको उक्त होटल हरेक वर्ष घाटामा गएको देखाउँदै ऋण लिएको दाबी गरिरहेका थिए। तर त्यस अनुसारको ऋण बैंकिङ च्यानलबाट प्रवाह नभएको २०७३ सालमा गठन भएको उक्त समितिको प्रतिवेदनमा उल्लेख छ।

विदेशबाट रकम ल्याउँदा प्रचलित बैंकिङ कानून बमोजिम राष्ट्र बैंकको स्वीकृति लिएर मात्र ल्याउनुपथ्र्यो। ‘उक्त रकम ल्याउन नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक भए पनि त्यस्तो स्वीकृति लिएको देखिन आएन। साथै, उक्त रकम कति पल्ट के कसरी ल्याएको भन्ने स्पष्ट आधार पनि देखिएन’, प्रतिवेदनमा भनिएको छ।

२०७५ सालको संसदीय समितिको प्रतिवेदन अनुसार, १३ वैशाख २०६३ मा कम्पनीले ५ः३ को अनुपातमा हकप्रद सेयर जारी गर्‍यो। त्यसपछि ७४ करोड ४० लाखको पूँजी बढेर १०८ करोड ९० लाख पुग्यो। २०७० सालसम्म हकप्रद सेयर लिन आग्रह गरेपछि तारागाउँ विकास समितिले मञ्जुरी गरेन। सराफ/श्रेष्ठ समूहले जबर्जस्ती हकप्रद सेयर जारी गरेर आफ्नो भागमा पर्ने सेयर लिए। अरूले नलिएको भाग पनि आफ्नै पोल्टामा पारेको उक्त प्रतिवेदनमा उल्लेख छ। 

यो निर्णयपछि तारागाउँको सेयर १५.६२ प्रतिशतमा सीमित भयो। सराफ/श्रेष्ठ समूहको सेयर बढेर ४५.२० प्रतिशत पुग्यो। अनेक उपाय गरेर सरकारी (तारागाउँको) सेयर घटाउने र आफ्नो हिस्सा बढाउने रणनीतिमा उनीहरू सफल भइरहे।

सरकारले गठन गरेको समितिले नै तारागाउँ विकास समितिका पदाधिकारीहरूले कम्पनीमा हस्तक्षेप गर्न नसकेको औँल्याएको छ। 

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ३ बमोजिम विदेशी लगानी गर्नुभन्दा अघि उद्योग विभागको स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था छ’ वर्तमान सभामुख अग्नि सापकोटाको नेतृत्वमा दुई वर्षअघि गठित संसदीय छानबीन प्रतिवेदनमा भनिएको छ, ‘त्यस अनुरुप तारागाउँ रिजेन्सी होटल लिमिटेडले सेयर खरीदबिक्री गर्ने कार्यको लागि विदेशी लगानीकर्तालाई आह्वान गरेको स्पष्ट आधार देखिएन।’

१० वैशाख २०६४ मा रु.५८ करोड ६० लाख ऋण र रु.२१ करोड २० लाख ब्याजलाई अग्राधिकार सेयरमा परिवर्तन गरियो। त्यसो हुँदा बैंक तथा वित्तीय संस्थाहरूको सेयरमा हिस्सा बढ्न गयो। संस्थापक र सर्वसाधारण सेयर प्रतिशत घट्न गयो। सराफ÷श्रेष्ठ समूहको सेयर हिस्सा पनि घट्यो। बैंक तथा वित्तीय संस्थाहरूको सेयर बढेर २१.५५ प्रतिशतबाट ४९ प्रतिशत पुग्यो। 

सराफ/श्रेष्ठ समूहले एकातिर होटलको लागत बढाएर धमाधम ऋण लिएका थिए भने अर्कोतर्फ ऋण दिने बैंक तथा वित्तीय संस्थालाई नै अग्राधिकार सेयर दिन थाले। कम्पनीका सञ्चालक सराफ/श्रेष्ठ समूहले बैंकबाट ऋण लिएको देखाए, केही समयपछि ऋण तिर्न नसक्ने भनी उनीहरूलाई सेयर दिए र पछि त्यो सेयर आफैंले हात पारे। 

एकपछि अर्को ढंगले हिस्सा बढाउँदै लगेको सराफ/श्रेष्ठ समूहले एकाएक एसियाली विकास बैंकको सेयरमा पनि कब्जा जमायो। २०६९ साल चैत ८ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयर एसियाली विकास बैंकले ६७ रुपैयाँका दरले बिक्री गर्ने भयो। 

यसपछि तारागाउँ विकास समितिको सेयर १०.१५ प्रतिशतमा सीमित भएको थियो। सराफ/श्रेष्ठ समूहको २९.३८ पुगेको थियो। केही सेयर विदेशी कम्पनीहरूले किनेका थिए, ती कम्पनी समेत सराफ/श्रेष्ठ समूहकै नाममा भएको, कतिपयमा उनीहरूको आफन्त भएको २०७२ र २०७३ सालमा गठित छानबीन समितिको प्रतिवेदनमा उल्लेख छ। अहिले तारागाउँ विकास समितिको सेयर ९.०१ प्रतिशतमा सीमित छ। 

सराफ परिवारका सदस्यहरूले होटलसँग विभिन्न समयमा सम्झौता गरेको भनी सन् २०१४ मा मात्रै पारिश्रमिक, बोनस लगायत अन्य सुविधा भन्दै करोडौं रकम बुझेका छन। कम्पनीले आर्थिक वर्ष २०७०/७१ मा विदेशी निकाय वा व्यक्तिलाई ९५ करोड रुपैयाँ बराबरको भुक्तानी गरेको छानबीन प्रतिवेदनमा उल्लेख थियो। 

जसमध्ये राधेश्याम सराफलाई रु.२३ करोड, अरुण सराफलाई रु.५० लाख, उमेश सराफलाई रु.८० लाख, वरुण सराफलाई रु.२ करोड १४ लाख र देवेश सराफलाई रु.२ करोड १४ लाख भुक्तानी गरेको देखिन्छ। र, एउटै लेखा परीक्षकलाई १४ वर्षसम्म लेखा परीक्षण गर्न लगाइएको छ। 

२०५६/५७ को प्रतिवेदन अनुसार, परियोजनाको परामर्श सेवाका नाममा २२ करोड ७६ लाख रुपैयाँ खर्च देखाइएको छ, जसलाई छानबीन समितिले शंकास्पद भनेको छ। शुरुमा ७५ करोड रुपैयाँको पूँजी भएको परियोजनामा भएको ठूलो खर्चमाथि प्रश्न उठेको हो। आर्थिक वर्ष २०६२/६३ देखि ७०/७१ सम्म हायातले सेवाग्राहीबाट उठ्न नसकेको भनी एक दशकको अवधिमा १ अर्ब ११ करोड ६९ लाख रुपैयाँको हिसाब देखाइएको छ। कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा त बजारबाट नउठेको ऋण ११ अर्ब ६ करोड रुपैयाँ रहेको देखिन्छ। 

‘आसामी फसेको’ भनी देखाएको त्यो हिसाबकिताबमा बुझाउनुपर्ने व्यक्तिको विवरण नखुलेकाले छानबीन समितिले शंकास्पद भनेको छ। तारागाउँलाई बुझाएको प्रतिवेदनमा उक्त विवरण फर्जी हुनसक्ने आशंका छ। ‘शंकास्पद आसामीको विस्तृत विवरण हुनुपर्छ’ प्रतिवेदनमा भनिएको छ– ‘उनीहरूको नाम, कम्पनीले असुल गर्न चालेको कदम र निर्णय उपलब्ध हुनुपर्छ।’

होटल निर्माणमा दोब्बरभन्दा बढी खर्च भएको छ भने स्रोत जुटाउन भनेर हकप्रद सेयर जारी गरिएको छ। निर्माणमा संलग्न कतिपय कम्पनीले रकमको साटो सेयर हात पारेका छन्।

पब्लिक कम्पनी भए पनि सञ्चालकहरू सराफ/श्रेष्ठ समूहको बोलवाला रहेको कम्पनीमा कतिपय खर्च मनोमानी शैलीकोे रहेको २०७२ सालकै छानबीन प्रतिवेदनमा उल्लेख छ। २०६८ सालदेखि २०७१ सालसम्म खर्च लेखिएको एक अर्ब ३६ करोड रुपैयाँ खर्चमाथि प्रश्न उठेको छ। प्रतिवेदनमा भनिएको छ, ‘ठूलो र उल्लेख्य रकम अन्य शीर्षकमा भुक्तानी दिनुपर्ने देखिएकाले उक्त खर्च होटलसँग असम्बन्धित हुनसक्छ।’ 

लिजको जग्गा कम्पनीको कब्जामा पार्ने काममा पनि सराफ समूहको संलग्नता देखिएको छ। संसदको सार्वजनिक लेखा समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पर्यटन मन्त्रालयको अध्ययन टोलीको प्रतिवेदनले सरकारी अधिकारीहरूलाई प्रभावमा पारी सराफ/श्रेष्ठ समूहले तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (कम्पनी)को आवरणमा तारागाउँ विकास समितिको १५० रोपनी जग्गा कम्पनीको नाममा हात पारेको निष्कर्ष निकालेको छ। त्यसबारेको छानबीन प्रक्रिया वर्षौंदेखि अलपत्र छ। सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न मिल्दैन। 

यसरी हेर्दा होटल निर्माणमा दोब्बरभन्दा बढी खर्च भएको छ भने स्रोत जुटाउन भनेर हकप्रद सेयर जारी गरिएको छ। निर्माणमा संलग्न कतिपय कम्पनीले रकमको साटो सेयर हात पारेका छन्। ऋण लगानी गरेका बैंक तथा वित्तीय संस्थाले ऋणलाई अग्राधिकार र पछि साधारण सेयर बनाएका छन्। पछि सबैजसो सेयर सराफ/श्रेष्ठ समूहले स्थापना गरेको विदेशी कम्पनीहरूमा प्रवाह गरेको भेटिन्छ। 

करीब तीन वर्षअघि यो विषयमा चौतर्फी प्रश्न उठेपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पर्यटन मन्त्रालयले समेत छुट्टाछुट्टै छानबीन गरेका थिए। संसदका समितिले प्रतिवेदन तयार पारेर सरकारलाई जग्गा फिर्ता लिन निर्देशन दिए भने अख्तियारले भ्रष्टाचार नभएको भन्दै मुद्दा चलाएन। 

पर्यटन मन्त्रालयले समेत यसबारेमा केही काम गरेन। तर, २०७५ सालको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिवेदन भन्छ, “होटल स्थापनाको शुरुआती अवस्थादेखि नै नेपाल सरकारको राजस्व लगायत अन्य विषयमा नाजायज हानि पुर्‍याएर अनधिकृत रूपमा हस्तक्षेप गरी हरतरहले सरकारी नोक्सानी भएको देखियो।” 

[खोज पत्रकारिता केन्द्र]


प्रकाशित: Oct 03, 2021| 22:15 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।