काठमाडौं- नेपाल प्रहरीका कार्यरत प्रहरी कर्मचारीहरुले अत्यावश्यकबाहेक दसैं बिदा नपाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले दसैँमा घर बिदा नलिन र त्यस्तो बिदा स्वीकृत नगर्न मातहतलाई निर्देशन जारी गरेको हो।
देश प्रहरी कार्यालय र ७७ वटै जिल्लाका इन्चार्जहरूलाई सर्कुलर गरेर प्रहरी प्रधान कार्यालयले भनेको छ,‘अत्यावश्यक बाहेक कसैलाई पनि पर्व बिदा नदिनु ।’
जिल्लाका इन्चार्जहरूलाई पर्व बिदा नलिन र मातहतका कर्मचारीलाई बिदा नदिन सर्कुलर गरिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन्।
दसैँ, तिहार र छठलाई केन्द्रित गरेर प्रहरीले देशभर चाडपर्व सुरक्षा योजना लागु गरेको छ। सुरक्षा योजना कार्यान्वयन गर्न करिब ४४ हजार जनशक्ति फिल्डमा खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।