काठमाडाैं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
कसैले मुलुकभरिका आदालतमा २० हजारभन्दा बढी फैसला लेखिन बाँकी रहेको विषयलाई प्राथमिकतामा पारेका छन् भने कसैले एसईई परिक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा भएको त्रुटिका कारण ९ हजारको नतिजा अर्कै आएको विषयलाई मुख्य समाचार बनाएका छन् ।
आजको नयाँ पत्रिकाले भने सरकारी गाडीका लागि १४ वर्षमा ५४ अर्ब खर्च भएको बारे कभर स्टोरी छापेको छ । उसले स्थानीय प्रतिनिधिलाई विदेश जान अंकुश लगाउने तयारी गरेको विषयलाई पनि महत्वका साथ पहिलो पृष्ठमा छापेको छ ।
नागरिक दैनिकले सिक्टा सिँचाइको नहर अलपत्र शीर्षकको खबरलाई प्रमुखताका साथ छापेको छ । उसले नेपाल–भारत प्रबुद्ध समुहको शुक्रबारबाट सुरु हुने बैठक र त्यसमा उठ्ने मुद्दाका विषयलाई मुख्य समाचार बनाएकाे छ ।
अन्नपूर्ण पोस्टले भने वर्षायाम सुरुभएसंगै पहिरोको पिरलो सुरु भएको विषयलाई प्राथमिकतामा पारेको छ ।
बीस हजार फैसला लेखिन बाँकी
अन्नपूर्ण पाेस्टमा प्रकाशित खबरअनुसार मुलुकभरिका अदालतमा २० हजारभन्दा बढी फैसला लेखिन बाँकी रहेको देखिएको छ । पछिल्लो एक प्रतिवेदनअनुसार सर्वोच्च अदालतमा मात्रै अझै चार हजारको संख्यामा फैसला लेखिएका छैनन् ।
‘छिटो र प्रभावकारी न्याय’को पञ्चवर्षीय रणनीतिक योजनालाई नै चुनौती दिने गरी न्यायपालिकाको माथिल्लो तह सर्वोच्च अदालतमै फैसला लेखन ढिलाढाला देखिएको हो । सर्वोच्चमा यस आर्थिक वर्षभित्र झण्डै एघार हजारको संख्यामा अन्तिम फैसला भएका थिए, जसमा सात हजार मात्र फैसला लेखिएका छन् ।
सर्वोच्चका सहरजिस्ट्रार लालबहादुर कुँवरले तयार गरेको खोज प्रतिवेदन अनुसार सर्वोच्चमा चार हजार, उच्च अदालतमा नौ हजार र जिल्ला अदालतमा सात हजार थान फैसलाहरू अझै तयार हुन सकेका छैनन् ।
पुरानो मुलुकी ऐनलाई विस्थापित गर्दै भदौ १ देखि नयाँ मुलुकी फौजदारी र देवानी संहिता लागू हुँदैछ, जसले निर्णय सुनाएकै दिन न्यायका याचकलाई फैसला लेखेर दिनुपर्ने व्यवस्था गरेको छ । तर, अदालतको फैसला लेखनको गति अत्यन्तै नाजुक देखिएको छ ।
यस आर्थिक वर्षमा उच्च अदालतमा मात्र २९ हजार र जिल्लामा ७० हजारको संख्यामा फैसला भएका थिए । सर्वोच्चमा ३६ प्रतिशत, उच्चमा ३१ प्रतिशत र जिल्लामा १० प्रतिशत फैसला तयार हुन अझै बाँकी देखिएको हो ।
९ हजारको नतिजा अर्कै
कान्तिपुरमा प्रकाशित खबरअनुसार एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । त्रुटि पत्ता लगाएपछि ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट भएको छ ।
३.६५ देखि ४.० जीपीए, ३.२५ देखि ३.६० र २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको नतिजामा फेरबदल आएको परीक्षा नियन्त्रण कार्यालयले दाबी गरेको छ । पहिलो दिन नतिजा प्रकाशन गर्दा ३.६५ देखि ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १४ हजार ७ सय ७२ थियो । कार्यालयका अनुसार त्रुटि सच्याएपछि उक्त संख्या बढेर १८ हजार ४ सय ३५ पुगेको छ ।
त्यस्तै ३.२५ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ९ सय ४१ छ । यसअघि ४७ हजार ८ सय ९६ जनाले मात्रै उक्त जीपीए प्राप्त गरेको तथ्यांक सार्वजनिक भएको थियो । २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या भने ५१ हजार ७ सय ९ बाट घटेर ५१ हजार १ सय ५ भएको कार्यालयका प्रवक्ता डिल्ली लुइँटेलले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४