काठमाडौं– भारतको राष्ट्रिय सुरक्षा परिषद्ले सुरु गरेको पछिल्लो योजना अनुसार भारतीय गुप्तचर र सुरक्षा निकायहरुले नेपाल–भारत सीमा क्षेत्रमा रहेका धार्मिक स्थलहरुको सूचना संकलन गरिरहेका छन्।
भारतको उत्तर प्रदेशसँग जोडिएको नेपालको सीमा क्षेत्रमा भारतीय गुप्तचरले सूचना संकलन गरिरहेको हो। स्रोतका अनुसार भारतीय पक्षले सीमा क्षेत्रमा मोबाइल, रेडियो र टेलिभिजन नेटवर्कको प्रसारण र रेडियो तरंगको अवस्थालाई पनि ट्र्याक गरिरहेका छन्।
त्यसैगरी एनजीओ र सामाजिक संघसंस्थाहरुका गतिविधिमाथि पनि निगरानी राखिएको र राजनीतिक दलहरुको अवस्था र उनीहरुको संलग्नताको पनि विवरण संकलन गरिरहेका छन्।
राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषद्ले यस्तो अभियान सुरु गरेको भारतीय सुरक्षा स्रोतले जानकारी दिएको छ। गुप्तचरका एजेन्टहरुले उत्तर प्रदेशका महाराजगञ्ज, सिद्धार्थनगर, बहराइच, श्रावस्ती, बलरामपुर, लखिमपुर, खिरी, पिलिभितलगायतका क्षेत्रमा भएका धार्मिक स्थलहरुबारे स्थानीयसँग सोधपुछ गरिरहेका छन्।
नेपालबाट प्रसारण हुने रेडियो र टेलिभिजनको अवस्थाबारे पनि सोधपुछ गरिएको छ। त्यसैगरी सीमा क्षेत्रमा सञ्चालनमा रहेका एनजीओको बारेमा पनि सोधिएको छ।
सीमा क्षेत्रमा भारतीय टेलिकमको नेटवर्क कमजोर भएको र नेपालको एनसेल, नमस्तेलगायतका नेटवर्कहरु सीमा क्षेत्रको डेढ किलोमिटर भारतीय क्षेत्रसम्म काम गर्ने गरेको पाइएको छ।