काठमाडौं- प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको मंगलबारको बैठकमा सार्वजनिक महत्वको विषयमा सम्बोधन गरे। यस्तै सम्बोधन उनले चीनको भ्रमणमा निस्किनुअघि ४ असारमा पनि गरेका थिए।
दुई वटा सम्बोधनमा फरक भने चीनसँगका नाका खोल्ने विषयमा पाइयो। चीन जानुअघिको सम्बोधनमा उनले आठ वटा नाका खोल्ने विषयलाई प्रमुखता दिएका थिए। मंगलबारको सम्बोधनमा भने उनले दुई वटा नाकाको मात्र कुरा गरे।
मंगलबारको सम्बोधनमा प्रधानमन्त्रीले चीनसँगको सम्बन्ध नयाँ उचाइमा पु¥याउन केरुङ नाका नियमित गर्ने र तातोपानी नाका आगामी मे (वैशाख ०७६) देखि खोल्न सहमति भएको बताए। अरू ६ नाका खोल्ने विषयमा प्रधानमन्त्रीको सम्बोधनमै अन्योल देखियो।
बाँकी ६ वटा नाका खोल्ने विषयबारे प्रधानमन्त्रीले संसदलाई जानकारी दिएनन्।
प्रधानमन्त्रीको सार्वजनिक महत्वको मन्तव्य आएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले पूरक प्रश्न गर्दै विवादित लिपुलेक समस्या समाधान गर्न र टिंकर भञ्ज्याङ नाका खोल्ने विषयमा के छलफल भयो भनी प्रश्नसमेत गरेका थिए।
प्रधानमन्त्री ओलीले सांसद बडुको प्रश्नको जवाफ नदिई विराटनगरस्थित भारतीय सरकारी अस्थायी क्याम्प हटाइएको र भारतबाट नेपाल प्रवेश गर्ने सीमराबाहेकको हवाई रुट प्राप्त भएको दृष्टान्त प्रस्तुत गरे। ओलीले सांसद बडुले सोधेको टिंकर भञ्ज्याङ नाकाबारे ‘सहमति भएको÷नभएको या कुराकानी नै नभएको’ केही पनि प्रस्ट पार्न चाहेनन्।
४ असारको सम्बोधनमा प्रधानमन्त्री ओलीले चीनसँग जोडिएका दार्चुलाको टिंकर, हुम्लाको हिल्सा, बझाङको धुली, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलासहितका आठ नाका खोल्ने सम्बन्धमा छलफल गर्ने एजेन्डा तय भएको बताएका थिए।
प्रधानमन्त्रीले मंगलबारको सम्बोधनमा रसुवाको केरुङसम्म चीनबाट रेल आउने र केरुङबाट काठमाडौं हुँदै पोखरासम्मको रेलमार्ग विस्तार गर्ने विषयमा विस्तृत जानकारी दिएका थिए।
प्रधानमन्त्रीको चीन भ्रमणमा नयाँ आठ नाका खोल्ने विषयलाई चीनले महत्व नदिएको हुन सक्ने सांसद बडुको अनुमान छ। ‘त्यसबारे बोल्दा छिमेकी राष्ट्रले के भन्ला भन्ने आशंकाले सार्वजनिक गर्न प्रधानमन्त्रीले नचाहेको हुनसक्छ,’ बडुले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४