काठमाडौं- नेपालमा मनसुन अझै सक्रिय रहेको छ। हाल प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का धेरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ। नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन हालसम्म सक्रिय अवस्थामै छ।
न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश २ का एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाले जनाएको छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको पनि संभावना छ।
भारी वर्षाको संभावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ।