काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीभित्र असन्तुष्टहरूको लर्को बढ्न थालेको छ। विशेषगरी, एमाले र माओवादी केन्द्रमा रहँदा पाएको स्थानभन्दा तल पारिएको बताउँदै असन्तुष्टि सार्वजनिक हुन थालेका छन् ।
आफूलाई अपमान हुने गरी नवगठित पार्टीको स्थायी समितिमा आमन्त्रित सदस्य राखिएकामा तत्कालीन एमालेको अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहरा असन्तुष्ट छन् । उनले यथास्थितिमा बैठकमा नजाने घोषणा नै गरेका छन्।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि पार्टीको एकता प्रक्रिया र मोडालिटीमा सन्तुष्ट छैनन्। उनी सचिवालयको वरियतामा पुच्छरमा भएका विष्णु पौडेललाई महासचिव बनाएको बताउँदै पोखरेल असन्तुष्ट छन् ।
एकता प्रक्रियामा आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्दा पनि सचिवालयमा नपारेको बताउँदै नेतृत्वसँग असन्तुष्ट छन्। उनले सार्वजनिक रूपमै आफ्नो असन्तुष्टि व्यक्त गरिसकेका छन् ।
नेकपाका अर्का नेता हितमान शाक्य पनि नेतृत्वसँग सन्तुष्ट छैनन्। पार्टी एकता कार्यदलका सदस्य शाक्यले आफूलाई स्थायी समितिमा नराखिएकामा असन्तुष्टि जनाइरहेका छन्।
अर्का नेता अमिक शेरचन पनि नेकपा नेतृत्वसँग सन्तुष्ट छैनन्। आफूलाई अनुशासन आयोग अध्यक्षको हिसाबमा स्थायी समितिमा पदेन सदस्य नबनाइएको बताउँदै उनी केही समयदेखि नेतृत्वसँग सम्पर्कमा छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४