काठमाडौं- धनुषा जिल्लाको मिथिला नगरपालिकामा एउटा यस्तो पुस्तकालय खुलेको छ जहाँ आउनेहरुले आफ्नो समस्याको गाँठो फुकाउन सकून्। र, यो गाँठो अरु विषयसँग होइन कृषि कर्मसँग जोडिएको छ।
मिथिला नगरपालिकाको वडा नम्बर १० स्थित लालगढमा हालै खुलेको पुस्तकालय नितान्त किसान लक्षित रहेको छ। किसानलाई अन्नपात उत्पादन तथा पशु स्वास्थ्यसम्बन्धी शिक्षा प्रदान गर्ने उद्देश्यले पुस्तकालय खोलिएको बताउँछन्, ध्रुव गजुरेल।
‘किसानका समस्या स्वयम् किसानबाटै समाधान होस् भन्ने उद्देश्यले हामीले कृषि पुस्तकालय खोलेका हौं,’ सेवानिवृत्त कर्मचारी कृषि सहकारीका गजुरेलले भने, ‘किसानलाई आवश्यक ज्ञान दिने हाम्रो लक्ष्य हो। यो धनुषाकै पहिलो कृषि पुस्तकालय हो।’
पुस्तकालयको स्थापना सेवानिवृत्त कर्मचारी कृषि सहकारी संस्थाले गरेको हो। वडा कार्यालयले पनि पुस्तकालयलाई आवश्यक सरसामग्री सहयोग गरेको छ।
कृषिलगायतका क्षेत्रबारे किसानलाई जानरकारी दिई उनीहरुको आयआर्जनमा वृद्धि पुर्याउने सोच पुस्तकालयको छ। कृषि पुस्तकालयले कोठाको चौघेरो नाघेर खेतबारीमा हुने सिकाइलाई पनि समावेश गर्ने कार्यक्रम राखेको छ।
‘एक यस्तो थलो हो जहाँ किसानले सामूहिक रुपमा खोजपूर्ण सिकाइका तरिका अपनाई बाली विशेषको स्वस्थ तथा स्वच्छ बाली उत्पादनबारे सिक्ने र सिकाउने कार्य गर्न सक्छन्,’ गजुरेल भन्छन्।
किसानले लगाएको वालीको अवलोकन, विश्लेषण र समूह छलफलका आधारमा आ–आफ्ना समस्या समाधान गर्न सक्ने ठोस निर्णय लिन आवश्यक वातावरण बनाउने पुस्तकालयको उद्देश्य रहेको उनी बताउँछन्।
‘त्यही भएर हामीले प्रविधिमैत्री सिकाइलाई जोड दिएका छौं,’ गजुरेल भन्छन्, ‘जहाँ किसान आएर आफ्ना समस्यालाई इन्टरनेटलगायतको माध्यमको उपयोग गरी समाधान खोज्न सकून्।’ किसान पुस्तकालयलाई किसान व्यक्तित्व तथा नेतृत्व विकास र सशक्तीकरण गर्ने थलोको रुपमा सञ्चालन गरिने उनले बताए।
किसानलाई कृषि उत्पादनसम्बन्धी सामूहिक भेला गराएर वा एक्ला एक्लै भिडियो, अडियो, पुस्तकबाट सैद्धान्तिक तथा व्यावहारिक तालिम प्रदान गरी सक्षम बनाउने सोच रहेको गजुरेलले बताए।
‘पुस्तकालयमा विभिन्न किसिमका पुस्तकमा प्राङ्गारिक खेती, आयआर्जनमा वृद्धि, पुस्तकबाट प्राविधिक खेतीमा संलग्न किसानहरू, व्यापारमा संलग्न व्यक्तिहरू, अनुसन्धानकर्ता, विद्यार्थी, लगानीकर्ता जोकोही पनि लाभान्वित हुन सक्छन्।’
‘पुस्तकालय स्थापना गर्नुको उद्देश्य कृषि प्रविधिको विस्तारसँगै सचेतना वृद्धि गर्नु पनि हो,’ उनले भने, ‘पुस्तकालयमा विभिन्न किसिमका पुस्तकमा प्राङ्गारिक खेती, आयआर्जनमा वृद्धि, पुस्तकबाट प्राविधिक खेतीमा संलग्न किसानहरू, व्यापारमा संलग्न व्यक्तिहरू, अनुसन्धानकर्ता, विद्यार्थी, लगानीकर्ता जोकोही पनि लाभान्वित हुन सक्छन्।’
नारी कल्याण महिला बहुउद्देश्य सहकारी संस्थाको भवनको माथिल्लो तलामा पुस्तकालय राखिएको छ। पुस्तकालयको कार्यालय सञ्चालनका लागी वडाअध्यक्ष सविनविक्रम थापाले वडाको विकास बजेटबाट एक सेट कम्प्युटर, एक थान ल्यापटप र मल्टिमिडिया एक सेट उपलब्ध गराएको बताए।
‘किसानहरूलाई अन्य कामको लागि आवश्यकका लगि वडाको सहयोगमा हामिले फोटोकपी मेशिन, प्रीन्टर, स्क्यानर आदि राखेका छौँ’ अध्यक्ष गजुरेलले बताए।
पुस्तकालयमा किसानलाई सहज ढंगमा कृषि सम्बन्धि तालिम, गोष्ठी, सामूहिक छलफल, कृषि प्रविधि विस्तारका काम गर्न तालिम कक्ष निर्माण गरिने योजना छ।
पुस्तकालयले गाउँघरमा सूचनाको राम्रो पहुँच नभएका कारण वडामा भएका टोल विकास संस्थासँगको सहकार्यमा आठ वटा स्थानमा सूचनापाटी पनि रोखको छ।
‘पढेरभन्दा परेर जानिन्छ भन्छन्,’ कृषि प्राविधिक गजुरेल भन्छन्, ‘किसानहरु पनि सुनेर पढेरभन्दा पनि प्रयोग गरेर सिक्छन्। कुनै पनि प्रविधिको बारे स्वयं प्रयोग गरी हेरेमा सिकाइ प्रभावकारी हुनुका साथै प्रविधिका सकारात्मक र नकारात्मक पक्ष थाहा हुन्छ। त्यसैले कृषि पुस्तकालयमा किसानहरुलाई उनीहरुकै विवेक र ज्ञानलाई प्रयोगमा ल्याउन उत्साहित गर्नेछौं।’