सोमबार, असार २९, २०८३

‘मूर्ति बनाएको हो कि बुढी ?’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अढाइ दशकदेखि भगवान्का मूर्ति बनाउँदै आएका चन्द्रश्याम डंगोल यतिखेर नेपाल आर्ट काउन्सिलमा आफ्नो कला प्रदर्शनीमा व्यस्त छन् । 

पौराणिकालदेखि मान्छेले ढुंगाको मूर्ति पूज्दै आए । मूर्तिको आकार भेटिने ढुंगालाई मान्छेले ढोगे । ललितपुरवासी चन्द्रश्यामले आफू मूर्तिकार बन्ने सोचेका थिएनन् । तर, आफ्नै भिनाजुको संगतमा मूर्ति बनाउन सिके । र, विस्तारै प्रस्तरकलामा होमिए ।

पहिलोचोटि मूर्ति बनाए, आफ्नै श्रीमती शर्मिलालाई लक्ष्मीको आसनमा बसाएर । शर्मिला घण्टौं चल्दिनथिन् । उनकै सहारामा चन्द्रश्यामले ढुंगामा मूर्तिको कटमा छिनो चलाइरहे । देख्नेहरू उनलाई जिस्काएर भन्थे, ‘तिमीले मूर्ति बनाएको हो कि बुढी ?’

उनी खिस्स हाँसेर टारिदिन्थे । उनकी श्रीमती शर्मिला भने लाजले भुतुक्क हुन्थिन् ।

ढुंगाको मूर्ति सिक्न जटिल देख्छन् उनी । गहिरो लगावबिना प्रस्तरकलामा लाग्न सकिन्न भन्छन् । सिकारु चरणका मूर्तिमा अस्पष्ट आकार भेट्थे । तैपनि, उनले हार मानेनन् । उनको चेतनाले भगवान्को भाव बुझ्न अह्रायो । र, उनी गए ललितकला क्याम्पस । त्यहीं सिके उनले ढुंगा चिन्न र भगवान्लाई बुझ्न । पढाइलाई प्यासन बनाउँदै सन् २०१२ मा मूर्तिकलामा स्नातकोत्तर गरे । 

१४ असारसम्म चल्ने प्रदर्शनीमा आठ वटा चैत्य मूर्ति छन् । स्तूपा, सुकुन्दा, बौद्ध, छोर्तेनजस्ता विविध संरचनामा चैत्यहरू देख्न पाइन्छ । कुवेर, मञ्जुश्री, गरुड आसन, लक्ष्मी र लोकेश्वरका मूर्तिको फरक–फरक आसनका १२ मूर्ति देख्न पाइन्छ, प्रदर्शनीमा । लोकेश्वरको मूर्ति बनाउन उनलाई पूरै आठ महिना लागेको थियो । 

राजधानीका पौराणिक मूर्तिहरूको प्रतिनिधि गर्ने मूर्तिहरू प्रदर्शनीमा राखिएको छ । ती मूर्ति कुँद्ने ढुंगा भने हात्तीवनबाट झिकाउँछन् । 

उनका मूर्ति नेपालमा भन्दा बढी चीन पुगेका छन् । सन् २०१० मा ‘सांघाई एक्स्पो’मा सहभागी भएका थिए । त्यस एक्स्पोमा ८२ देशको सहभागिता थियो । नेपालबाट उनी परेका थिए, जहाँ १२ फिट अग्लो मूर्ति लगेका थिए । त्यहाँ उनले अन्तर्राष्ट्रियस्तरमा मूर्तिको आकर्षण कति छ भन्ने चिन्न पाए । र, उनको मूर्तिकलाको प्रशंसा पनि भयो । 

आकार र गुणस्तरमा आधारित भएर मूर्तिको मूल्य तोकिन्छ । नेपालमा कम गुणस्तरका मूर्ति बिक्छन् । विदेशमा भने उत्कृष्ट गुणस्तर मात्र रोजाइमा पर्छ । गणेशको एक फिटको मूर्ति २० हजारसम्ममा बिक्री गरेका छन्, उनले । 

ढुंगाको मूर्ति बनाउन ध्यान र बल दुवै आवश्यक हुने उनी बताउँछन् । उनी जब्बर ढुंगालाई छिनोले देउता बनाइछाड्छन् ।
 
यी मूर्तिले आदिमकालका मूर्तिहरूको छनक दिन्छन्, जसबाट नयाँ पुस्ताले मूर्तिको भाषा सिकिरहेको हुन्छ ।

२५ वर्षको मूर्तियात्रामा उनले पाएको खुशी भनेको नामको अगाडि जोडिएको ‘मूर्तिकार’ हो । मूर्तिकार चन्द्रश्याम डंगोल भन्ने पहिचान पाएकामा गर्व गर्छन् । भन्छन्, ‘मूर्तिले दिएको खुशी नै मूर्तिकारको पदवी हो ।’

रंगबिनाको मूर्ति सधैं आकर्षक देखिन्छ । उनी ढुंगाको कटिङबाट कलरको फिलिङ्स ल्याउँछन् । तब त हेर्नेहरू मूर्तिलाई छुन लालायीत हुन्छन् ।

उनले प्रदर्शनीमा भाग लिएको पहिलो पटक हो । यसलाई आम्दानीको माध्यम ठान्दैनन् । उनी भन्छन्, ‘यी मूर्तिले आदिमकालका मूर्तिहरूको छनक दिन्छन्, जसबाट नयाँ पुस्ताले मूर्तिको भाषा सिकिरहेको हुन्छ ।’

प्रदर्शनीमा सात वटा मूर्ति बिक्री गरे । र, विभिन्न आकारमा स्तुपाहरू बनाउन उनलाई अर्डर आइरहेको छ । 

केही मूर्तिकार माटाको मूर्ति बनाउन लागिपरेका छन् । उनी भने ढुंगामा भगवान् खोजिरहेका छन् । उनी भन्छन्, ‘काठ भाँचिन सक्छ । माटो गल्न सक्छ । तर, ढुंगालाई केही हुँदैन । ढुंगा जहिल्यै चीर छ ।’ ढुंगाले मूर्तिको आकार पाउँछ । मूर्तिमा साँच्चै भगवान् प्रकट भए के गर्लान् डंगोलले ? भन्छन्, ‘शायद म रहन्न कि ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।