चितवन : पहिरो पन्छाएको रकम नपाएको भन्दै ठेकेदारले काम नगरेपछि मगलबार बिहान टोपे खोलामा खसेको पहिरो पन्छाउन ढिलाइ भएको छ ।
नारायणगढ-मुग्लिन सडकखण्डको तेस्रो भागको ठेक्का लिएको सुप्रिम रौताहा जेभिले यसअघि खसेका पहिरो पन्छाएको तीन करोड ५० लाखभन्दा बढी पैसा नपाएको भन्दै पहिरो पन्छाउन अटेर गरेको हो ।
नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार बिहान ठेकेदारले पैसा नपाएको भन्दै शुरुमा पहिरो पन्छाउन नमाने पछि पहिरो पन्छाउन ढिलाइ भएको हो । बिहान साढे बजे खसेको पहिरो साढे बजेदेखि मात्र पन्छाउन थालिएको थियो ।
शुरुमा एउटा एक्साभेटरले एकापट्टिबाट मात्र पहिरो पन्छाउन शुरु गरे पनि पछि आयोजनाको दबाबसँगै ठेकेदार कम्पनीले थप एक एक्साभेटर र एक लोडर प्रयोग गरेर पहिरो पन्छाइरहेको आयोजनाले जनाएको छ । बिसुरालले ठेकेदार कम्पनीले पेस गरेको कागजपत्र नमिलेका कारण भुक्तानीमा ढिलाइ भएको भन्दै कामको भुक्तानी हुने बताए ।
यस वर्षकै सबैभन्दा ठूलो पहिरो मंगलबार टोपेखोलामा खसेको हो । नारायणगढ-मुग्लिन सडक आयोजनाका अनुसार पहिरोले सडकको ३० मिटर भाग पूरै ढाकेर नदीसम्म खसेको छ । दिउँसो १ बजेसम्ममा पहिरो पन्छाउने गरी काम भइरहेको आयोजनाले जनाएको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४