काठमाडाैं- अर्जेन्टिना विश्वकप फुटबलको जारी समुह चरणको अन्तिम खेलमा आज नाइजेरियासंग भिड्दैछ । आफ्नो फुटबल इतिहासमै खराब प्रदर्शन गरेको अर्जेन्टिनाले नकआउट चरण प्रवेशका लागि आजको खेल जित्नै पर्ने छ ।
सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समयअनुसार राती ११ः४५ बजे हुने खेल सुरु हुनेछ । गर या मरको अवस्थामा पुगेको अर्जेन्टिनालाई जिताउने सम्पूर्ण जिम्मा कप्तान लियोनल मेस्सीको काँधमा छ । उनका लागि यो इतिहासकै कठिन र चुनौतीपूर्ण अवसर पनि हो ।
पहिलो खेलमा अप्रत्यासित रुपमा आइसल्याण्डसँग बराबरीमा र दोस्रो खेलमा क्रोएशियासँगको ३–० अन्तरले पराजयपछि २०१४ विश्वकपको उपविजेता टोली अर्जेन्टिनालाई आज अन्तिम मौका छ ।
नाइजेरियाबिरुद्ध जित हासिल गरे र क्रोएशियाबिरुद्ध आइसल्याण्डले जित हासिल नगरे अर्जेन्टिना नकआउट चरणमा पुग्नेछ । क्रोएशिया यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । नाइजेरियाले आइसल्याण्डलाई पराजित गरेसँगै अर्जेन्टिनाको अन्तिम १६ को सम्भावना बाँकी रहेको थियो । आज भने उनीहरु आफैले आफ्नो भाग्य कोर्नेछन्।
अर्जेन्टिनाको भाग्य समूह डी को टोलीहरुको समिकरणमा निर्भर छ । अर्जेन्टिना अन्तिम १६ मा पुग्न अब के हुनुपर्छ, समिकरण यस्तो छ–
एक अंकका साथ पुछारमा रहेको अर्जेन्टिनाले नाइजेरियालाई पराजित गरेमा (अर्जेन्टिना ४ अंक हुने, नाइजेरिया ३ अंक हुने) र क्रोएशियासँग आइसल्याण्ड पराजित भएमा (आइसल्याण्ड १ अंकमै रहने) वा बराबरीमा रोकिएमा (आइसल्याण्डको २ अंक हुने) अर्जेन्टिना अन्तिम १६ मा पुग्नेछ ।
यदि, अर्जेन्टिनाले नाइजेरियालाई जित्यो र आइसल्याण्डले क्रोएशियालाई जित्यो भने दुबै टोलीको समान ४ अंक हुनेछ। यस्तोमा गोलअन्तर कम हुने टोली अन्तिम १६ मा पुग्नेछ। अहिलेको गोलअन्तर अर्जे्न्टिना –३, आइसल्याण्ड –२ छ ।
गोलअन्तर पनि बराबरी भएमा, कुन टिमले बढी गोल गरेको छ। त्यसका आधारमा निर्णय लिइनेछ। यदि दुबै टोलीले गरेका गोलपनि बराबरी भएमा यी दुई टोलीहरु आमने सामने हुँदा पाएको अंकका आधारमा निर्णय लिइनेछ। यी दुई टोलीले आमने सामने हुँदा १–१ को बराबरी खेलेकाले दुबैसँग १–१ अंक छ।
आमने सामनेमा पनि बराबरी देखिएपछि निर्णय फेयरप्लेका आधारमा लिइनेछ। जसमा अर्जेन्टिना भन्दा आइसल्याण्ड अब्बल देखिएको छ । यस आधारमा निर्णय लिने अवस्था बन्यो भने पनि अर्जेन्टिना बाहिरिने छ । त्यसैले आजको खेलमा मेस्सीले आफ्नो जादु देखाउनै पर्नेछ ।
समकालीन फुटबलका चीर प्रतिद्वन्दी क्रिष्टियानो रोनाल्डोले आफ्नो टोली पोर्चुगलका लागि शनशनीपूर्ण प्रदर्शन गरिरहेका बेला मेस्सी भने लगातार फ्लप हुँदै गइरहेका छन् । अब, मेस्सी र अर्जेन्टिनाका लागि अन्तिम अवसर छ, विश्वकप छनोटका लागि पनि अन्तिम खेल कुर्नुपरेको अर्जेन्टिनाका लागि रुसमा पनि त्यस्तो अवस्था आएको छ ।
संसारभरका फुटबल प्रेमीहरुको नजर मंगलबार लियोनल मेस्सीलाई हेर्नेछन्, किनभने उनी र उनका अर्जेन्टिनी टिममेट नाइजेरियाबिरुद्धको खेलमा विश्वकपबाटै आफूलाई बचाउने प्रयासमा हुनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४