शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दसैं-तिहारका लागि के छ उपभोग्य वस्तुको भण्डारण र मूल्यवृद्धिको अवस्था?

दसैं-तिहारका लागि के छ उपभोग्य वस्तुको भण्डारण र मूल्यवृद्धिको अवस्था?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागीय प्रमुख डिल्लीराज लम्सालले १ लाख ९ हजार ५१२ क्विन्टल चामल गोदाममा रहेको बताए।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र आपूर्ति लगायतका विषयमा छलफल गरेको छ। 

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले नजिकिँदै गरेको नेपालीहरुको महान चाड बडा दसैं, दीपावली र छठ पर्वलाई मध्यनजर गर्दै दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र आपूर्ति लगायतका विषयमा छलफल गरेको हो। 

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव डा.गोविन्दप्रसाद शर्माले चाडबाडमा मासुको खपत अत्यधिक हुने भएकोले आयातित वस्तुहरुको परीक्षण गरिने बताएका हुन्। उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भेडा, खसी र च्याँग्रा लगायतको व्यवस्थापनमा सहजता पुर्‍याइरहेको भन्दै नागढुंगा नाकामा आयातित मासुजन्य जनावरहरु स्वस्थ छन् कि छैनन् भनेर निरिक्षण गरिने जानकारी दिए। उनले यसका लागि पशु सेवा विभागलाई टिम खटाएर निरिक्षण गर्न लगाइएको पनि बताएका छन्।

कृषि सचिव शर्माले भने, ‘चाडपर्वमा माछा, मासुको खपत अत्यधिक मात्रामा हुने गर्छ। माछा, मासुको व्यवस्थापनको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि धेरै सहजता प्रदान गरिरहेको छ। हामीले पशुसेवा विभागलाई नागढुंगा नाकामै मासुका लागि ल्याइएका जनावरहरु स्वस्थ छन् कि छैनन् भनेर निरिक्षण गर्न निर्देशन दिएका छौँ, पशुसेवा विभागबाट निरिक्षण हुन्छ।’

बैठकमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले खाने तेलको मूल्य अत्यधिक बढीरहेकोले यसबारेमा उत्पादक समिति र सरोकारवाला निकायहरु बसेर छलफल गर्नुपर्ने बताए। उनले मूल्य मात्र हेरेर निरिक्षण गर्दा उपभोक्ताहरु मारमा परिरहेको बताउँदै उनले तेलको मूल्यसहित गुणस्तरलाई ध्यानमा राखेर निरिक्षण गर्नुपर्ने बताए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागीय प्रमुख डिल्लीराज लम्सालले १ लाख ९ हजार ५१२ क्विन्टल चामल गोदाममा रहेको बताए। उनले ६६ हजार क्विन्टल धान कुटानी भइरहेको र गहुँ ९ हजार ६ सय ६४ क्विन्टल खाद्य विभागको गोदाममा रहेको बताए। त्यस्तै विभागीय प्रमुख लम्सालले बाजुरा, मुगु र दार्चुला जिल्लामा खाद्यान्न ढुवानीमा केही समस्या रहेपनि बिस्तारै आपूर्तिको काम अघि बढाइएको जानकारी दिए।

त्यस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक डालप्रसाद पुडासैनीले साउन, भदौ र असोजमा तरकारीको मूल्य बढ्नु स्वभाविक भएको बताएका छन्। उनले यी महिनामा तरकारीको सीजन सकिने  र नयाँ तरकारी पनि नआइसक्ने भएकोले तरकारीको मूल्य बढ्न गएको स्पष्ट पारे।

दुग्ध विकास संस्थानका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले चाडबाडमा आपूर्ति व्यवस्थालाई कडा बनाउन पहल भइरहेको बताए। उनले असोज १ गतेदखि नै केही सामग्रीहरुमा छुट दिइरहेको बताए। उनले घ्यूमा प्रतिलिटर ५० रुपैयाँ र पनिर लगायतका केही सामग्रीहरुमा पनि छुट दिइएको बताए।

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र शाहले अहिले निगमले ५ रुपैयाँ ६४ पैसा घाटामा पेट्रोलको कारोबार गरिरहेको बताए। 

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी महाप्रबन्धक उर्मिला श्रेष्ठले चाडबाडमा नुनको खाँचो नपर्ने बताइन्। उनले अहिलेको अवस्थामा कम्पनीमा नुन १० महिनासम्मलाई स्टक रहेको र चिनी भने आवश्यक्ताअनुसार नरहेको बताइन्। उनले चिनीको परिपूर्ति गर्नको लागि सरकारसँग कुरा भइसकेकोले केही दिनमै त्यसको सम्बोधन हुने बताइन्। उनले सुदूरपश्चिममा नुन र रासायनिक मललाई धेरै प्राथमिकता दिए पनि अभाव भएको भन्ने कुरा आइरहेकोले त्यसको परिपूर्ति गरिने प्रतिबद्धता व्यक्त गरिन्।


प्रकाशित: Sep 28, 2021| 20:54 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्