काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै प्रयोगात्मक अभ्यास गर्न पाउने व्यवस्था गरेको छ। मंंगलबार मन्त्रालयले सूचना जारी गर्दै विदेशमा अध्ययन गरी कोभिड-१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नगरेका नेपालमा रहेका विद्यार्थीले नेपालमा नै प्रयोगात्मक अभ्यास पूरा गर्नका लागि आवेदन दिन सूचित गरेको हो।
विदेशमा स्नातक तहको पढाइ पूरा गरेको प्रमाण/सैद्धान्तिक परीक्षा उत्तीर्ण भएको प्रमाण र आफू अध्ययनरत कलेज/विश्वविद्यालयमा गरेको प्रयोगात्मक अभ्यासको अवधि खुल्ने विवरणसहित मन्त्रालयमा आवेदन दिन मन्त्रालयले भनेको छ। असोज २२ गते बेलुका ५ बजेसम्म इच्छुकले आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।
स्वदेशमा प्रयोगात्मक अभ्यास अगाडि बढाउन आवश्यक पर्ने कायविधि तयार गर्नेलगायतका प्राविधिक विषयमा सुझाव पेस गर्न गठित कार्यदलले विदेशमा सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीलाई नेपालमा नै बाँकी अवधि प्रयोगात्मक अभ्यास पूरा गर्न पाउने व्यवस्था मिलाउन सुझाव दिएको थियो।
विदेशमा मेडिकल अध्ययनरत विद्यार्थीले नेपालमा नै प्रयोगात्मक अभ्यास गर्न पाउने व्यवस्था गर्न विद्यार्थीहरूले चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका थिए।