धनगढी- प्रमुख प्रतिपक्ष दलको विरोधका कारण प्रदेश ७ को प्रदेश सभा बैठक अबरुद्ध भएको छ।
सोमबार दिउसो ४ बजे शुरु भएको प्रदेश सभा बैठकमा सभामुखले बैठक शुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्ष दलका सांसदहरुले टेबुल ठटाएपछि बैठकको कारबाही शुरु नभएर स्थगित भएको हो । सभामुख अर्जुन बहादुर थापाले प्रतिपक्षका सांसदहरुलाई असहमती बारे बैठकमा राख्न आग्रह गरे।
सभामुखको आग्रह पछि नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रण बहादुर रावलले यस अघिका बैठकमा बजेटबारे बजेटको असन्तुष्टि बारे सरकारको ध्यानाकर्षण गराए पनि कुनै सुनुवाई नभएकाले विरोधमा उत्रिएको बताए।
उनले भने–‘मुख्यमन्त्रीलाई भेटेर बजेटबारे ध्यानाकर्षण गरायौं, संसदमा आफ्ना कुरा राख्यौ तै पनि सुनुवाई भएन अब बजेट नसच्चाउन्जेल विरोध जारी राख्छौं।’
‘बजेटमा निश्चित गन्तब्य नै छैन’ डाक्टर रावलले भने, 'खाली कार्यकर्ता पोस्ने योजना तथा कार्यक्रमहरु बढी देखिएका छन, नसच्चाए थप बिरोधका कार्यक्रम अघि बढाउँछौ ।’ आफुहरुले बजेट पटक–पटक सच्चाउन आग्रह गर्दा पनि सत्ता पक्षको दम्भका कारण माग सुनुवाई नभएको उनले बताए। सभामुखले भोली अर्थात मंगलबार दिउसो ४ बजे सम्मका लागि बैठक स्थगित भएको घोषणा गरे।
प्रदेश ७ को प्रदेश सभा बैठकको कारबाहि प्रक्रिया नै सुरु नभएर स्थगित भएको यो नै पहिलो पटक हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४