काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी र पार्टीको अनुशासन आयोगबीच केही समयदेखि तनाव जारी छ। पार्टी एकीकरणपछि आयोगको अधिकार संकुचित गरिएको गर्दै आफ्नो अपमान गरिएको बताउँदै अनुशासन आयोगका अध्यक्ष अमृत बोहराले स्थायी समिति बैठक बहिष्कार गर्द आएका छन्।
उनी पूर्वएमालेको नवौं महाधिवेशनबाट आयोग अध्यक्षमा निर्वाचित भएका हुन्। माओवादी केन्द्रको महाधिवेशनबाट भने अमिक शेरचन अनुशासन आयोगका अध्यक्ष छन् । दुवैलाई नेकपाको स्थायी समिति बैठकमा आमन्त्रित सदस्यका रूपमा समावेश गरिएको छ। दुवैले त्यस निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका छन्।
पार्टी नेतृत्वले सबै आयोग र विभाग विघटन भएको दाबी गरेको छ। तर, त्यसलाई चुनौती दिँदै शनिबार अनुशासन आयोगको बैठक बसेर विभिन्न निर्णय गरेको छ। प्रदेशस्तरमा पनि आयोग गठन हुनुपर्ने, आयोगको सदस्य संख्या घटाउन नहुने र अध्यक्षलाई स्थायी समितिको पदेन सदस्यका रूपमा राख्नुपर्ने निर्णय गर्दै बैठकले नेतृत्वको ध्यानाकर्षण गराएको छ।
हालै प्रकाशित पार्टीको विधानमा प्रदेशस्तरमा आयोग गठनको व्यवस्था खारेज गरिएको छ। यस्तै, दुवैतिरका आयोग मिलाएर ३१ सदस्य हुने व्यवस्था गरिए पनि विधानमा नौ सदस्य मात्र रहने उल्लेख छ।
लामो समयदेखि पार्टीका लागि गरेको त्याग र तपस्याको कदर नभएको आयोग अध्यक्ष बोहराले नेपाल समयसँग बताए। आफूले आयोगहरूका तर्फबाट नेताहरूलाई ध्यानाकर्षण गराए पनि हालसम्म सुनुवाइ नभएको उनले जानकारी दिए । आफूहरूको सुझाव नेतृत्वले लागू नगरेसम्म स्थायी समिति बैठकमा सहभागी नहुने उनको अडान छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४