काठमाडौं– काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै ७२ घण्टाभित्र घरजग्गा, सम्पत्ति लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ।
महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माइकिङ गर्दै आज (बुधबार) बाट ३ दिनभित्र अर्थात साउन १६ गतेभित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो।
उनीहरुबाट करिब ७० करोड कर असुली गर्न बाँकी छ। तोकिएको समयभित्र पनि अटेर गरेर कर नतिरे ती करदाताको व्यवसायमा तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्नेसहितको कारवाही गर्ने काठमाडौं महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले बताए। उनले भने, ‘कर दाखिला तीन दिनभित्र पनि नगरे राजस्व ऐन, स्थानीय सरकार सञ्चालन ऐन र प्रचलित कानुन, नीति, नियम अनुसार उनीहरुको व्यवसाय तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्ने लगायत कडा कारवाही गरिनेछ।’
काठमाडौं महानगरपालिका राजस्व विभागको कार्यालयले गत असार ३० गते जारी गरेको सार्वजनिक सूचनामा पटक पटक ताकेता गर्दा पनि सम्पत्ति कर नबुझाउनेहरुमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायू हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एनआरटी क्लब, युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, बुद्धबारी कम्प्लेक्स, बागमती च्याम्बर, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल क्षयरोग केन्द्र, नेपाल रेडक्रम सोसाइटी, आदर कम्प्लेक्स, नेशनल हस्पिटल, सहिद मेमोरियल हस्पिटल, कृषि सामग्री संस्थान रहेका छन् ।
त्यसैगरी मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, गोपालजी प्रोपर्टिज र स्टार मलसमेत गरेर २३ वटा ठूला करदाताले अटेर गरेपछि ३ दिनभित्र कर असुल गर्न माइकिङसहित ताकेता गर्नुपरेको महानगरले जनाएको छ । विभाग प्रमुख अधिकारीले कतिपय करदातालाई अदालतले समेत तत्काल कर दाखिला गर्न आदेश दिँदा पनि अटेर गरिरहेको बताए।
राजस्व विभागले सम्पत्ति कर सम्बन्धित वडा कार्यालयबाटै उठाउँदै आएको छ। तर ठूला करदाताहरुले कर नतिर्न अदालत जानेलगायतका काम गरेपछि असुलीको काम आफैंले गर्नुपरेको प्रमुख अधिकारीले स्पष्ट पारे। तत्काल सबैै सम्पत्ति कर असुली गर्न समस्या भए वर्ष दिन भित्र ३ वटा किस्तामा दाखिला गर्न पनि राजस्व विभागले करदाताहरुलाई सूचित गरेको छ।