जनकपुरधाम- क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पना अनुसार सुरु भएको जनकपुर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण ६ वर्ष बिति सक्दा पनि सरोकारवाला निकायको ढिलासुस्तीले निर्माण कार्य पुरा हुन सकेको छैन् ।
भारतको इन्दिरा गान्धी विमानस्थलको नक्सा बमोजिम निर्माण कार्य सुरु गरिएपनि प्राविधिक त्रुटी तथा रकम अभावका कारण पूर्णता पाउन सकेको छैन् । नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरी निर्माण गर्न लागिएको नयाँ टर्मिनल भवनको एक चरणको काम मात्र पुरा भएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।
भवनमा अन्य पूर्वाधारहरु थप्ने विषयमा निर्णय गर्न सरकारले ढिलाई गरेको कारण पनि निर्माण कार्य अल्झिएको बताइएको छ । २०६९ कार्तिकमा १८ करोडको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गरेका थिए । डेढ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनी पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो ।
ठेक्का सम्झौता भएको समयावधि पुरा भएको ६ वर्ष बिति सक्दा समेत एक चरणको काम मात्र पुरा भएको छ ।
भवन डिजाइनमा प्राविधिक गडबडी भएपछि थप सात करोड रकम लाग्ने मूल्यांकन गरी नयाँ ठेक्का लगाउने तयारी भइरहेको साइट इन्जिनियर सत्यराम दुलालले बताए । ‘भवनको डिजाइनमा केही समस्या देखियो, प्राविधिक समस्या सच्याउन हामी फेरी ठेक्का प्रक्रियामा जाँदै छौँ,’ दुलालले भने,‘अषाढको पहिलो साता नयाँ ठेक्का लाग्छ र एक वर्ष भित्र भवन सुचारु हुन्छ ।’ अब भवन निर्माण सहित नयाँ प्याकेजमा ठेक्का सम्झौता हुने उनको भनाई छ ।
नयाँ प्याकेजमा टर्मिनल भवनका साथै सुरक्षाकर्मीलाई तीनवटा भवन, सर्वसाधारण र कार्यालयको सवारी साधन पार्किङ्स्थल निर्माण गरिने दुलालले नेपाल समयलाई बताए । नेपाल पहिलो पटक यस प्रकारको प्रविधि प्रयोग गरिएकोले पनि निर्माणमा ढिलाई भएको उनको तर्क छ ।
दैनिक यात्रुको चाप रहने जनकपुर विमानस्थलमा भवन अभावमा यात्री बस्न समेत ठाउँ छैन् । विमानमा यात्रा गर्ने यात्रु बस्न टर्मिनल भवनमा ठाउँ नहुँदा ७२ सीट क्षमताको विमान सञ्चालन गर्न कठिनाई भएको बुद्ध एयर जनकपुर कार्यालयका स्टेशन म्यानेजर विजयप्रसाद सिंहले बताए।
जनकपुर विमानस्थलका प्रमुख मुरारीप्रसाद पौडेलले पनि भवन अभावमा यात्रुहरुले सास्ती भोग्नु परेको स्वीकारे । यात्रुहरुको चापलाई ध्यानमा राख्दै विमास्थल स्तरोन्नतितर्फ आफूहरु गम्भीर रहेको उनको भनाई छ ।
विमानस्थल स्तरोन्नति गर्न ४ विगहा जग्गा अधिग्रहण गरी तारजालीले छेकबार गरि सकिएको र अगामी आर्थिक वर्षमा रनवे विस्तार गर्ने योजना रहेको पौडेलले बताए । पौडेलले विमानस्थल विस्तार गर्न थप जग्गा आवश्यक रहेको र यस विषयमा प्राधिकरणले छलफल सुरु गरिसकेको जानकारी दिए ।
विमानस्थलका लागि अति आवश्यक वारुणयन्त्र, एक्सरे मेशिन, रनवे लाइट जस्ता महत्वपूर्ण उपकरणहरु समेत उपलब्ध हुन नसकेको जनकपुर विमानस्थलमा अगामी आर्थिक वर्ष भित्र यी सबै सेवा जडान हुने उनले दाबी गरे ।
२०२४ सालमा स्थापना भएको जनकपुर विमानस्थल राज्यको उदासीनतका कारण उभो लाग्न नसकेको स्थानीयवासीहरुको आरोप छ । पटक पटक सरकारका मन्त्रीहरु विमानस्थललाई स्तरोन्नति गरी आधुनिक बनाउने प्रतिवद्धता व्यक्त गरेपनि व्यवहारमा नदेखिएको स्थानीयहरु बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४